arrow

भुईं मान्छे

logo
भोजराज न्यौपाने, 
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
bhojraj-neupane.jpg

ओ ! भुईं मान्छे
तिमी 'ओम्नी ' हो ?
 तिमी ' यति ' हो ?
 कि, हो कुनै चार्टर्ड फ्लाईटको टिकट बेचेर हामीलाई कमिशन बुझाउन सक्ने महामानव ? 
होईन भने छोड !
भुईं मान्छे, भुईं मान्छे नै हो ।
भुईंमै बसोस् । 
भुईंमै मरोस् । 

पाउरोटी जस्तो भुक्क फुलेको चप्पल पड्काउँदै हिंड्थें म अहिले सरकारमा छु 
बेग्लै कुरा हो, सरकारमा बसेर मैले के गरिरहेको छु ?
थोडी मेरो काम हो भुईं मान्छेको कुरा सुन्ने ? 
मेरो काम हो र ? 
भुईं मान्छेलाई ससम्मान आफ्नै देशमा भित्र्याउने ? 
ल्याएकै छु केहीलाई जहाजमा 
क्वारेन्टिनमा पनि त राखें तिनलाई
कोही महाकाली तरेर आउँछन् भने
कोही सयौं किलोमिटर हिंडेर आउँछन् भने 
कोही महिला र केटाकेटी आउँछन् भने 
तिनलाई मैले किन ल्याउँ आफ्नै देशमा ?
किन राखौं क्वारेन्टिनमा ? 
किन खुवाउँ दुई छाक दालभात ?
किन जचाउँ कोरोना ?
नसिकाउ भुईं मान्छे ! मलाई नसिकाउ ! 

म ब्रम्हा हुँ ।
म शिव हुँ ।
म बिष्णु हुँ । 
म हुँ बुद्ध 
मैं हुँ जिसस, मैं हुँ पैगम्बर ! 
म जे बोल्छु त्यही सत्य हो, ज्ञान हो । 
म भन्दा सर्वज्ञानी को छ जगतमा ?
म घण्टौं बोल्न सक्छु रोष्टममा !
के बोल्छु ? मलाई नसोध । 
मलाई के कुरा थाहा छैन र ?
म बैद्यको जस्तो ओखति बनाउन सिकाउँछु 
डाक्टरभन्दा बढ्तै जान्नेछु, भाईरस कसरी सर्छ मैसंग सोध्छन् देशभरिका विशेषज्ञ ! 
कहिले फ्याटिए, कहिले हिमालको हावाको कुरा गरिदिन्छु 
संसारभर स्टेज प्रोग्राम हुन नसकीरहेका बेला 
मै हसाउँछु जग ! 

म काम गर्छु, के काम मलाई नसोध ।
म जगतपति हूँ । 
अपहरणकारी पाल्छु 
अरिङ्गाल पाल्छु 
पाल्छु, सत्तरी करोडधारी पाल्छु ।
मलाई उन्माद छ 
मेरो अहंकारको ।
म अब दस अर्बको खर्च देखाएर डकार्छु
ओ भुईं मान्छे ! के गर्छौ मलाई ? 
कोरोना छ, 
र त छ, आरडिटी ! 
त्यो पाजी पिसीआरको कुरा नगर ! 
नगर, सडक प्रदशर्नको कुरा ।
दाहाल, नेपाल र खनालको कुरै नगर 
मेरो औंलामा नाच्ने हुन् ती ।
देशभरिका सबै कार्यालयमा मेरो फोटो टाँसिएको छ । 
थाहा छ भुईं मान्छे ? 
म मेरो फोटो पूजा गर्न लगाउँछु तिमीलाई ! 
फूल अक्षता लिएर बस !

मैसँग छन् गुप्तचर
मैसँग छन् सूरक्षाफौज
चुनावको धाक नलगाउ भुईं मान्छे
तिमीलाई कस्तो ललिपप देखाएर फकाउनु पर्छ, म जान्दछु ।
रेलको फोटो देखाएँ, पत्यायौ
पानीजहाज चलाउँछु भने, पत्यायौ 
घरघरमा ग्याँस पाईप भने, पत्यायौ
भ्रष्टाचारमा शून्य सहनशीलता भने, पत्यायौ 
तिम्रो काम मेरो कुरा पत्याउनु नै हो 
नो अप्सन  भुईं मान्छे ! पत्याउ !
समृद्धिको फोस्रो गफ पत्याउ
अबको चुनावमा देखाउने लिपुलेकको नक्सा छ 
तिमी भुईं मान्छे त्यही नक्सा हेरेरै बस  ।
राष्ट्रबादी भनेर मेरो भजन गाउ
शालिक बनाउ
मेरो घरलाई संग्रहालय बनाउ । 
लेखाईदेउ मेरा गुनगान पत्रपत्रिकामा
छापिदेउ मेरै स्तुतिगानले भरिएको बायोग्राफी ।

भुईं मान्छे ! 
तिमी आफैंले जिम्मा लेउ,मेरा अपराध कर्म ! 
छोपिदेउ भ्रष्टाचारमा लिप्त मेरो कुरुप अनुहार
नुहाई देउ मलाई दुधको कुण्डमा 
र, जपिदेउ स्तोत्र - 
गङ्गेचैव मुनेचैव गोदावरी सरस्वती ...!



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ