arrow

अफगान शान्ति वार्ताको तयारी शुरु

logo
एएनआई
प्रकाशित २०७७ जेठ ३१ शनिबार
afghanistan-map-geo.jpg

काबुल। अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको बताइएको छ। चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा पनि गरिएको उक्त समाचारमा जनाइएको छ। सो तयारीसँगै युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएका समाचारहरु आइरहेका छन्।

अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिबान संगठनले चार महिनाअघि कतारको राजधानी दोहामा अफगानिस्तानमा शान्तिका लागि अमेरिकासँग वार्ता गर्नेसम्बन्धी सम्झौता गरेको थियो। सो सम्झौता बमोजिम वार्ता गर्न अफगानिस्तानले पनि स्वीकार गरेको छ। अब तालिबानहरुले अफगान सरकार र अमेरिकासँग पनि संयुक्त रुपमा वार्ता गर्ने भएका हुन्। सोही बमोजिम आगामी केही समयमा दोहामा शान्ति वार्ताको तयारी भएको हो।

अफगान राष्ट्रपति असरफ घानी पनि कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार भएको समाचार आएको छ। उक्त वार्ताको सर्तका रुपमा अफगानिस्तानको सरकारले ठूलो संख्याका तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको पनि जनाइएको छ। तालिबानहरुले अफगान र अमेरिकी सरकारसँग वार्ता गर्नका लागि आफ्ना बन्दीहरुलाई मुक्त गर्नुपर्ने सर्त राखेका थिए।

तालिबान संगठनको यो पहिलो सर्तका लागि सरकार पनि तयार भएको छ। सोही शर्तका आधारमा अफगानिस्तानको सरकारले आफ्नो जेलमा रहेका ती तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ। अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिएसँगै अव उक्त शान्ति वार्ताको तयारी सुरु भएको बुझिएको छ।

अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति वार्ताका लागि सम्झौता गरेको थियो। त्यसै सम्झौताबमोजिम नै अमेरिका र नेटोका साझेदारहरूले पनि १४ महिनाभित्र आफ्ना सबै फौज अफगानिस्तानबाट फिर्ता गर्ने बताएका छन्। त्यसबमोजिम अमेरिकाले सैनिक फिर्ता गर्ने प्रक्रिया पनि थालिसकेको छ। गत फेब्रुअरीमा कतारको राजधानी दोहामा अफगानिस्तान सरकार, अमेरिका र तालिबानबीच सो  सम्झौता भएको हो। सोही अनुसार नै तालिबानहरु शान्ति वार्तामा आउने भएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ