arrow

भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौं : महतो

logo
रासस,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
rajendra-mahato-jsp.jpg

काठमाडौं। जनसमाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै जनता सजग र संवेदनशील रहेको र  यसमा आग्रह र पूर्वाग्रह प्रस्तुत नगर्न आग्रह गरे।

“अहिलेको संविधानबारे हाम्रो असहमति कायमै छ। यो संविधान सबै वर्ग र समुदायको हुन सकेको छैन तर भूगोलको रक्षाका सन्दर्भमा हामी एक ठाउँमा छौँ। अबका दिनमा विगतमा हामीसँग भएका सम्झौताअनुसार संविधान संशोधनका प्रस्ताव आएको भएको राम्रो हुन्थ्यो।” उनले भने,  “यो नक्शा जारी गरेर मात्रै हुँदैन। कूटनीतिक वार्ता गरेर हाम्रो भूमि फिर्ता ल्याउनुपर्छ। राष्ट्रियता कुनै जात र वर्गको हुन सक्दैन। एकलौटी राष्ट्रियता पङ्गु राष्ट्रियता हो। अब हामी भूमि र जनताको पहिचानसहितको राष्ट्रियताको नयाँ परिभाषामा जाऔं।”

उनले जनताले गरेको आन्दोलनको सम्मान गर्दै संविधानको रक्षाका लागि यसमा समयानुकूल संशोधन आवश्यक हुने विचार राखे। नेता महतोले आफूहरुका असन्तुष्टिका बीच देशको सवालमा एक ठाउँमा उभिनुपर्ने भएकाले नक्शा संशोधनको विधेयकलाई सहर्ष समर्थनको घोषणा गरे। उनले नेपाली सीमाको रक्षाका लागि प्रत्येक मधेसी जनता नै सेना बनेर लडिरहेको बताउँदै देशमा राष्ट्रघातीहरुको पनि खोजी हुनुपर्ने तर्क गर्दै प्रश्न गरे, “अन्ठाउन्न वर्ष पहिले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालको नक्शामा कायम रहेको थियो। त्यसलाई कसले हटायो ? त्यसबारे खोजबिन र श्वेतपत्र जारी गरी राष्ट्रघातीलाई पर्दाफास गरी कारबाही गर्नु पर्दैन ? अनि मधेसी, आदिवासी र दलितले राष्ट्रियताका विषयमा कति पटक अग्निपरीक्षामा होमिनुपर्ने हो ?” सङ्घीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई हालै जनसमाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ