arrow

भवानी राणालाई थप अप्ठ्यारो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १ सोमबार
bhawani-rana.png

काठमाडौं। गत फागुन १ गते विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको उमेद्वारी घोषणा सभाको आयोजना गरिएको थियो । त्यहाँ टुप्लुक्क पुगे वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा । उनलाई देख्दा त्यहाँ उपस्थित उद्योग वाणिज्य महासंघका कतिपय नेता तथा पत्रकारहरु सुरुमा त अचम्ममा परे । किनभने उनले आफू सबैको साझा अध्यक्ष हुने भन्दै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्ने कुनै पनि सभामा नजाने बताएका थिए । तर त्यहाँ उपस्थित भएकाहरुमा त्यो भन्दा पनि अर्काे अचम्म त के थियो भने जब वरिष्ठ उपाध्यक्ष शेखरले मञ्चमा पुगेर बोल्न थाले भाषणको शुरुदेखि अन्तिमसम्म नै आफ्नै अध्यक्ष भवानी राणामाथि घुमाउरो किसिमले भ्रष्टाचारको आरोप लगाए । 

गोल्छाले आफ्नै संस्था महासंघप्रति आर्थिक अपारदर्शिताको गम्भीर प्रश्न उठाए । उनले महासंघको अकाउन्टिङ प्रणाली पारदर्शी नभएको गुनासो साथीहरुसँग आन्तरिक रुपमा त गरि नै रहन्थे तर यसको सार्वजनिक खुलासा विराटनगर पुगेर त्यो पनि महासंघका पदाधिकारीकै एक औपचारिक सभामा गरे जसमा त्यहाँ उपस्थित अरु पूर्व अध्यक्ष तथा पदाधिकारीको पनि सहमति स्पष्टै देखिन्थ्यो ।

उनले भनेका थिए– हाम्रो अकाउन्टिङ सिस्टम अपारदर्शी छ, जुन कुरा यहाँ बोल्दा पनि मलाई लाज लागेर आउँछ । उनले नेपाल उद्योग वाणिज्य महासंघ एक सार्वजनिक संस्था भएकोले यसको वित्तीय प्रणाली पनि पारदर्शी हुनुपर्नेमा अध्यक्षले त्यसो गर्न नसकेको आरोप लगाए । यसो भनिरहँदा उनले अध्यक्ष राणाको नाम नलिएरै बारम्बार हाम्रो नेतृत्व भन्नुले कसलाई भन्न खोजेको भन्ने कुरा छर्लंगै हुन्थ्यो । 

गोल्छा आफै त्यो संस्थामा सुरुमा कार्यकारी रुपमा र पछिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष नै भएर १२ वर्षदेखि छन् । उनले आफूले नै महासंघको अकाउन्ट रिपोर्ट मागेको तर पनि नपाएको खुलासा गरेका थिए । सो सभामा उनले भनेका थिए, ' म आफैले पनि मेरो संस्थाको अकाउन्ट रिपोर्ट मागेको थिएँ तर मैले नै पाउन सकिन त्यसैले यहाँ तपाईँहरुसँग यस्तो खुलासा गर्दा पनि बडो लाजमर्दाे अवस्था छ, त्यसैले म यहाँ सबैकुरा भन्न पनि सक्दिन ।' उनले सो सभामा संस्थाको अपारदर्शीतको कुरा गर्दा आफूलाई लाज लागेको कुरा बारम्बार दोहाराएको र त्यसक्रममा त्यहाँ उपस्थित सबैले ताली बजाएको दृश्य लाइभ प्रशारणमा स्पष्टसँग देख्न सकिन्थ्यो। 

गोल्छा महासंघका दोस्रो व्यक्ति (सेकेन्ड मेन) हुन् । सोही संस्थाकै आर्थिक अनियमितताको बारेमा गोल्छाले यसरी प्रश्न उठाउनुलाई देशभरका उद्योगी व्यवसायीहरुले भने बडो अचम्मका रुपमा लिएका थिए । उनले त्यहाँ महासंघ निकै कमजोर रहेको र यो नेतृत्वको समयमा यसको साख इतिहासमै सबैभन्दा बढी गिरेको बताएका थिए । उनको संकेत संकेतमै अध्यक्ष भवानी राणालाई इतिहासमै सबैभन्दा कमजोर र भ्रष्टाचारी नेतृत्व भन्ने सम्मको आरोप लगाएका थिए । आफ्नो नेतृत्व भ्रष्ट भएकै कारण नेपाल सरकार र विदेशी दाताहरुले पनि कुनै प्रोजेक्ट नदिएको खुलासा समेत वरिष्ठ उपाध्यक्ष गोल्छाले गरेका थिए । 

उनले सभामा महासंघको इतिहासमा यो भन्दा लाजमर्दाे कुरा अरु के हुनसक्छ भनिरहँदा त्यहाँ उपस्थित उद्योगी व्यवसायीहरु गम्भीर देखिन्थे। साथै आफ्ना अध्यक्षमाथि यति विधि आरोप लगाएका उनले आफू दुई महिनापछि अध्यक्ष बनेपछि संस्थाको हिसाबकिताबलाई पारदर्शी बनाउने बताएका थिए । 

दुई वर्षअघि पनि महासंघमा यस्तै अनियमिताको काण्ड बाहिर आयो अध्यक्ष राणाकै पालामा। त्यतिबेलाको अनियमिताको प्रश्न पनि गोल्छाभन्दा झन् जिम्मेवार व्यक्तिले उठाएका थिए, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले । उनले त्यतिबेला महासंघमा सञ्चालनमा रहेको कृषि उद्यम केन्द्रको कार्यक्रमको विषयमा उठाएका थिए । उनले पनि गोल्छालेजस्तै उक्त कार्यक्रमको खर्च विवरणको लेखा परीक्षण गराउन राणाले नमानेको बताएका थिए । उनले पनि संस्थाभित्र मात्र नभएर गोल्छाले जस्तै सार्वजनिक रुपमा नै यो प्रश्न उठाएका थिए पत्रकारसँग नै । उनले पत्रकारसँग गरेको कुराकानी कुनै पत्रकारको सहयोगमा अध्यक्ष राणासँग पुग्यो । त्यो अडियोका आधारमा अनुसन्धान अघि बढ्यो भने राणा अनियमितामा फस्ने निश्चितै थियो । त्यसपछि अत्तालिएकी उनले ती पत्रकारको सहयोगमा त्यो अडियो आफैले राखिन् कोषाध्यक्षलाई थर्काइन् । उनले महासंघको बैठक डाकेर कोषाध्यक्षले राजीनामा नदिने हो भने आफूले जस्तो सुकै कारबाही पनि गर्ने चेतावनी दिइन् । त्यसअघि उनले प्रधानलाई व्यक्तिगत रुपमा धम्काएर राजीनामा दिन भनेकी थिइन् र उनी सहमत भएपछि केन्द्रीय समितिको बैठकमा नै सबैका अगाडि थर्काएकी थिइन् । 

राणालाई आफूबिरुद्ध गोल्छा र पशुपति मुरारका लागेको कुरा त्यसबखत स्पष्टै थाहा थियो । किनभने राणाले अनियमितता नै गरेकोले कोषाध्यक्षले उठाएको प्रश्न ठीक रहेको मुरारकाले बताउने गरेका थिए । यस विषयमा अनुसन्धान गरेर अध्यक्षलाई कारबाही गर्नुपर्ने अडान मुरारकाको थियो । त्यो थाहा पाएर नै राणाले प्रधानलाई राजीनामा दिन बाध्य पारेकी थिइन् । त्यसपछि पनि गोल्छा र मुरारकाले ज्ञानेन्द्रलाई राजीनामा नदिन दबाब दिएका थिए । उनीहरुले यस्तो प्रश्न उठेपछि लेखापरीक्षण गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ, प्रश्न उठाउने कोषाध्यक्षलाई नै यसरी निकाल्दा महासंघको वर्तमान कार्यसमितिप्रति नै झन् नराम्रो धारणा बन्ने भन्दै दबाब दिएका थिए । राणाको अडानले आखिर उनी निकालिए र उनी गएपछि पनि उक्त आयोजनाको कामको लेखापरीक्षण भएन । कुरा त्यसै सेलायो । कुनै पनि संस्थामा त्यसको अध्यक्षले कुनै निश्चित आयोजना या कार्यक्रममा अनियमिता गरेको प्रश्न उठेपनि किन दवाइयो भन्ने कुरा अहिले पनि उत्तिकै हुने गरेको छ।  

यतिखेर महासंघ साधारण सभा गर्ने कि नगर्ने भन्ने बडो दोधारमा छ । संस्थाको साधारणसभा गत चैतमा हुनुपर्ने हो । त्यस समय कोरोना महामारीका कारण देशमा लकडाउन भयो । तर त्यसपछि पनि अर्काे बैठक बसेर साधारणसभाको मिति तोक्नुको सट्टा वर्तमान नेतृत्वले नै त्यसो गर्न नमानेको कतिपयले बताएका छन् । विधानअनुसार पनि अब यो कार्यसमिति अवैधानिक भइसक्यो । यस्तो अवस्थामा पनि अध्यक्ष राणा पदमै बसिरहन खोजिन् भने महासंघकै पदाधिकारीहरुबाट उनीमाथि विगतमा पटक पटक उठ्दै आएको अनियमिताको प्रश्न उठाउन ठिक्क परेर बसेको स्रोत बताउँछ। बैधानिक हैसियत सकिइसकेको कुनै पनि अध्यक्ष पुनः त्यही पदमा नै बसिरहन खोज्नुको पछाडी केहि न केहि स्वार्थ छ भन्ने कुराको चर्चा पनि व्यवसायिक जगतमा चर्चा हुन थालेको छ। 

उता व्यवसायीहरुको अर्को संस्था सिएनआइले यही असार १५ मा साधारणसभाको लागि मिति तोकेकोले महासंघ नेतृत्वमाथि नैतिक प्रश्न पनि उठ्न सक्छ । देशमा लकडाउन एक किसिमले खुलिसक्यो । अहिले नेपाल र विश्वका पनि कैयौं यस्ता महत्वपूर्ण संस्थाहरुले भर्चुअल बैठकदेखि अनेक बैकल्पिक माध्यमहरुबाट कुनै काम नरोकिने गरी व्यवस्था गरिरहेका छन् । तर नेपालका समग्र व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको महासंघले महामारीको निउँ पारेर अवैध कार्यसमितिलाई निरन्तरता दिनु राम्रो नभएको टिप्पणी स्वयं व्यवसायीहरुले गरेका छन्। 

महासंघको यही असार ८ गते कार्यसमितिको बैठक बोलाइएको छ। साधारणसभाको मिति तोकेर पनि रोकिएको महासंघको साधारण सभाको मिति तोक्न यो वैठकमा निकै माथापच्चि हुने देखिएको छ। अब बस्ने वैठकमा सरकारसँग समन्वय गरेर महासंघको साधारण सभाको मिति तोक्ने कुरामा आनाकानी गरे अध्यक्ष राणामाथि महामारीको निउँ पारेर पदमै बसिरहन खोजेको भनी प्रचार हुने सम्भावना अधिक देखिन्छ । यसो हुँदा पनि उनीमाथि हिजो अपारदर्शीताको प्रश्न उठाई आएका कार्यसमिति भित्रैकाहरुले उनीमाथि पद छोड्न नमानेको र पदमै टाँसिएर बसिरहन खोजेको भन्दै प्रचार गर्ने भएकोले यतिखेर अध्यक्ष राणा बडो अप्ठेरोमा परेको महासंघकै कतिपयको सदस्यको विश्लेषण छ ।

दोहोरो चेपुवामा परेकी राणालाई उनका शुभचिन्तकहरुले कार्यकाल लम्बाउन या दोहोर्याउन खोज्दा हुने अलोकप्रियता र आलोचनालाई ध्यानमा राखेर आगामी ८ गतेको बैठकबाट साधारणसभाको मिति तोकेर जतिसक्दो चाँडो निस्किन सुझाएका छन् । उनीहरुले कुनै संस्था र नेतृत्वको क्षमता र अग्रसरता सहज अवस्थामा नभइ अप्ठ्यारो अवस्थामा देखिने भएकोले लोकप्रियतालाई थप खस्किन नदिन जतिसक्दो चाँडो साधारणसभाको मिति तोक्न सुझाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ