arrow

पशुपतिमा सरसफाइ र खानेपानी सम्झौता

logo
प्रकाशित २०७७ असार २ मंगलबार
pasupati-arayaghat.jpg

काठमाडौं । पशुपतिनाथको मुख्य मन्दिर परिसरमा सरसफाइ र खानेपानीसम्बन्धी परियोजना सञ्चालन गर्न सम्झौता भएको छ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेल, काठमाडौँ महानगरका तर्फबाट पूर्वाधार विकास विभागका प्रमुख राम थापा र भारतीय दूतावासका तर्फबाट डेभलपमेन्ट को–अपरेशन काउन्सिलर डा प्रफुल्लचन्द्र शर्माले हस्ताक्षर गरे । 

भारत सरकारको सहयोगमा सञ्चालन हुने साना विकास परियोजनाअन्तर्गत भारतीय दूतावासको रु तीन करोड ७२ लाख ३१ हजार १६२ र काठमाडौँ महानगरको रु एक करोड ४५ लाख ७९ हजार १४४ लागत सहभागिता रहने परियोजनाको लागत रु पाँच करोड १८ लाख १० हजार ३०६ रहेको छ । 

सम्झौताबमोजिम परियोजनाको सञ्चालन पशुपति क्षेत्र विकास कोष, परियोजना कार्यान्वयन काठमाडौँ महानगरपालिका र अनुगमन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछन् ।

शहरी समृद्धिका लागि पूर्वाधार निर्माण, वातावरणीय सुधार, सामाजिक तथा आर्थिक पुनरुत्थानका काममा महानगरले आफ्नै स्रोतमा पनि धेरै काम गरिरहेको छ ।

परियोजना सञ्चालनका विषयमा प्रतिक्रिया दिँदै कामपाका सहसचिव राजेश्वर ज्ञवालीले धेरै जनताले लाभ पाउने परियोजनामा साझेदारिताको प्रस्ताव लिएर आउने साझेदारलाई कामपाले प्रोत्साहन गर्ने बताए ।
      
सम्झौतापछि परियोजनाका बारेमा मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुखले कँडेलले भने, “पशुपतिनाथ दर्शन गर्न जाने श्रद्धालुलाई मन्दिर परिसरको वातावरणीय अवस्थाले नकारात्मक समस्या नपरोस् र सुविधामा समस्या नहोस् भनेर सुधारात्मक परियोजना सञ्चालन गर्न थालिएको हो ।”    

साना–साना परियोजनाबाट नेपाल र भारतका जनता–जनतास्तरमा सुमधुर सम्बन्ध रहोस् भन्ने उद्देश्यले सहकार्य गरिएको काउन्सिलर शर्माले बताए । 

परियोजनामा खानेपानी वितरण प्रणाली सुधार, ढल निर्माण, सरसफाइ तथा फोहरमैला व्यवस्थापनको काम हुनेछ । परियोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ