आन्द्राको क्यान्सरले थलिएका शेर्पाको निधन, विभिन्न अस्पतालमा उपचार गरे पनि भएन निको
प्रकाशित २०७७ असार २ मंगलबार
778
Shares
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको मंगलबार बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिएका छन् ।
विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टरमार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो । खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय शेर्पाको पछिल्लो समय काठमाडौँको ह्याम्स अस्पतालमा केमो थेरापी गराइएको थियो ।
चिकित्सकका अनुसार शल्याक्रिया गर्नुपर्ने भए पनि तौल कम हुँदा उपचार गर्न नसकिएको हो । स्वास्थ्य अवस्था स्थिर देखिएका कारण चिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याएको प्रवक्ता शेर्पाले बताए ।
दश महिना पहिले भारतको मेदान्त अस्पतालमा भर्ना भएका शेर्पाले त्यहाँ दुई महिनासम्म रेडियो थेरापी गराएका थिए । त्यसपछि स्वीट्जरल्याण्डमा पनि थप उपचार गराएर काठमाडौँ फर्किएका शेर्पाले पछिल्लो समय ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए।
अध्यक्ष शेर्पाले गाउँपालिका अध्यक्षको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्ने अवस्था नभएपछि उपाध्यक्ष टसील्हमू शेर्पालाई जेठ १२ गते देखि कार्यवाहाक अध्यक्षको जिम्मेवारी दिएका थिए ।
सोही बेला उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारी समेतलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका थिए। पूर्व एमालेबाट निर्वाचित शेर्पा नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य पनि थिए । उनको तीन छोरा छन् ।