arrow

इन्द्रजाल जस्तो नेकपाको समृद्धी सपना

logo
टेकराज पौडेल,
प्रकाशित २०७७ असार ३ बुधबार
tekraj-paudel.gif

संसारभर कोरोना महासंकट चलिरहँदा नेपालले १२औ संघीय लोकतान्त्रिक गणतन्त्र दिवस मनाउँदै १३ बर्षमा प्रवेश गर्‍यो । कोरोना संक्रमणको विस्तार र प्रभाव भरखर बढ्न थालेको छ तर देश महासंकटमा पुगिसकेको स्थिती छ । जनता सडकमा अलपत्र परेका, सिमानामा रोई राखेका, घरमा निसास्सिएका र क्वारेन्टाइनका नाममा भेडाबाख्रा जस्तै कोचिएर छटपटाइ राखेका दर्दनाक दृष्य देखिएको छ । जनता वर्तमानको पीडा, भविष्यको चिन्ता र चिन्तनमा घोत्लीनु परेको छ । सूर्यको उज्यालोले अध्यारो वर्तमान र भविष्यलाई कहिले उज्यालो दिने हो थाहा छैन । आफू र आफ्ना बच्चाहरूले खाई नखाई तिरेको कर कहां छ ? कस्ले केका लागि खर्च गरी राखेको छ ? थाहा छैन । 

यस्ता रोग, महामारी, प्राकृतिक बिपत्ति, आर्थिक कठिनाई, धार्मिक तथा जातीय समस्या, राजनैतिक द्वन्द, सांस्कृतिक बिचलन, क्षेत्रीय मनोवृत्ति इत्यादिको सामना बिगतमा पनि गर्नु नपरेको होईन । भविस्यमा पनि यस्ता कैंयन समस्याहरू आउने छन् तर यस्ता समस्याहरुको समाधानका लागि सहकार्य, सहयोग, सुखदुखमा साथै रहेको अनुभूति गराउने कस्ले ? सरकार, राजनीतिक दल, नेता, बिदेशी, अदालत, अख्तियार, सेना, प्रहरी, पैसा, बिधि, प्रकृया, नियम, कानुन, जिम्मेवारी, ईमान्दारिता, क्षमता वा नैतिकताले ? 

कसैले सोध्यो पृथ्वीको मध्यभाग कहाँ पर्छ ? थाहा छ ? कसैले नापेको छ ? त्यसैले आफू जहाँ उभियो त्यही नै मध्यभाग हो । आफूले कस्का लागि के गर्दै छु ? कुन जिम्मेवारीमा छु ? भन्ने हेक्काका साथ ईमानदारीपूर्वक काम गरे तमाम समस्याहरूको समाधान त्यही मध्यबिन्दुबाट निस्कन्छ । पृथ्वी नाप्न हिंड्यो भने त्यसैमा जीवन सकिन सक्छ। 

केही दिन अगाडि रूकुम पश्चिममा मानव सभ्यता माथि नै प्रश्नचिन्ह खडा गर्ने अमानवीय र निकृस्ट घटना घट्यो । घटना घट्न सक्दछन् तर कुन प्रकृतिको र के कारण घटना घट्यो त्यो महत्वपूर्ण बिषय हो । आजको २१औ शताब्दीमा जातिय विभेद, छुवाछुतका कारण मानिसको अमूल्य जीवन समाप्त पारिदिनु सामान्य घटना हुन सक्दैन । देशमा कोरोनाको महामारीलाई देखाएर यो घटनालाई जिम्मेवार ब्यक्ति र मन्त्रीहरूले हल्का रुपमा टिप्पणी गर्नु नेपालको संंविधानले व्यवस्था गरेको नागरिकको बांच्न पाउने अधिकार र २०६३ सालमै नेपाल सरकारले गरेको जातभात तथा छुवाछुत बिरूद्घको कानूनको बर्खिलाप हो । यो घटनाको सत्यतालाई लुकाउन र अन्यथा गर्न खोजिएमा कोरोना भन्दा बढि भयानक रोगको रूपमा दीर्घकालसम्म यसको असर रहनेछ । वर्तमान सरकारले कुन रूपमा लिन्छ हेर्न भने बांकी नै छ । छुवाछुत र जातिय बिभेदका बिरूद्ध नारा दिएर १७ हजारको ज्यान लिने शसस्त्र युद्धका नाईकेहरू सम्मिलित वर्तमान सरकारको असली रूप जनता सामु उदाङ्गिने नै छ । 

गत बर्ष कंचनपुरमा बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो । तर न बलात्कारी पत्ता लाग्यो न त हत्यारा नै समातियो । महिला हक अधिकारको दुहाई दिने वर्तमान सरकार र यस्का नाईकेहरूले त्यो घटनालाई गम्भीरतापुर्वक नलिएको देख्दा रूकुम घटना पनि त्यसै गरी ढाकछोप गर्ने बाहेक अरू केही हुनेमा विश्वास गर्नु आफू माथि नै बिश्वासघात् गर्नु हुनेछ । सरकार के गर्दैछ ? के कोरोना रोगको नियन्त्रण र उपचारमा गम्भीर देखिन्छ ? जनताप्रति पूर्ण जिम्मेवार र भरपर्दो ढंगले काम गरिरहेको देखिन्छ ? छ भने किन जनता महाकाली नदीलाई बर्लिनको पर्खाल सम्झि राखेका छन ? मजदुर किन भन्दैछन विदेशिनु पाप हो ? के मजदुरको कुनै देश हुदैन ? कम्युनिष्टले शासन चलाएको बेला मजदुर देश छिर्न कसरी अयोग्य भए ? सबैले आपदविपद्मा राष्ट्र र सरकार सम्झन्छन् तर नेपाली आप्रवासी मजदुरहरु भोकभोकै सिमा पारी मरिरहँदा सरकारलाई कुनै दयामाया र जिम्मेवारी बोध भएन ? उनिहरु अब देश ठूलो कि भोक ? भन्ने प्रश्नको जवाफ मागिरहेका छन् । आज सरकारले फलाक्ने राष्ट्रवाद त फगत एउटा लाज रहेछ छोप्ने कुनै चिज नै छैन । 

सुनिदैछ हामीले तिरेको कर सबै हजम हुंदैछ । हाम्रै लागि अरबौं बाँडियो भन्ने हल्ला छ, लाग्दछ आफ्नै सम्पत्ति बांडिराखेका छन् नकि हामीले तिरेको करको पैसा । कहाँ र कस्लाई बाँडियो ? क–कसले पाए ? कुनै पुष्टी छैन । देशमा सरकार छ सहयोग छैन, प्रधानमन्त्री छ अभिभावक छैन, मन्त्री छ साथी छैन, झुट र लूट छ तर गूड व्यवस्थापन छैन । यो कस्को सरकार हो ? के का लागि हो ? इतिहासमा सायदै हालको जस्तो गणितमा यति बलियो र जनसरोकारमा निकम्मा सरकार बने होला । बिगतमा पनि बहुमतका सरकार थिए तिनले कुन परिस्थितिमा केके गरे त्यसको पनि समिक्षा होला । तर वर्तमानमा यति अनुकुलता र बहुमतको सरकारले के के गर्‍यो भन्ने प्रश्न महत्वपूर्ण छ । 

यो सरकार बनेदेखि नै जनताका तत्कालीन आवशयकता र समस्यामा भन्दा नेपालको आयस्रोत र क्षमता भन्दा निकै परको विषय जुन नेपालका लागि केही बर्ष आवश्यक नै नभएका र असम्भव जस्तै पानी जहाज, चीनवाट रेल, घरघरमा ग्यासको पाईप, बिराटनगरबाट किमाथाङ्ग रेल, पोखरा हुदै कुस्मामा खाना खाएर मुक्तिनाथसम्म रेल आदि हावादारी ठूला कुरा गरेर मानिसलाई सपनामा अलमल्याई अन्य तपसिलका गलत र स्वार्थपुर्ण कार्यहरू गर्नेमा तल्लीन देखियो ।

३३ किलो सुन हरायो, ठूला दोषीहरू उम्काईयो निरिहहरुलाई जेल चलाईयो, वाईड बडी जहाज घोटला गुपचुप पारियो, यति होल्डिङ्ग ग्रुपको हातमा नेपालका महत्वपूर्ण स्थानका जमिन, बनजंगल कौडिका भाउमा दिइयो। एनसेलको कर मिनाहादेखि फोरजी घोटाला हुदै ओम्नी ग्रुपलाई निम्नस्तरको स्वास्थ्य सामाग्री खरिद ठेक्का दिनेसम्मको जनता र देशमारा निर्णय गर्नमा नै सरकार लिप्त रह्यो । 

५ बर्षका लागि जनताको हितमा काम गर्न जनताले दिएको करिब दुई तिहाई सीटको दुरूपयोग गर्दै व्यक्तिगत र गुटगत स्वार्थमा चरेसको नशा लिई होली वाईन पियर मस्त भए जस्तै । जनताले आफ्नो अमूल्य मतद्वारा निर्वाचित सरकारवाट अभिभावकको अपेक्षा राख्छन्, सरकारवाट सन्तानलाइ झै सम्पूर्ण रेखरेख र सहयोगको आशा गर्दछन् । समस्यामा एकाकार होस, ठूलो ओत बनोस सम्पूर्ण ध्यान सन्तानरूपी जनतामा केन्द्रित होस् । आफूलाई मत दिएका वा नदिएका सबैको अभिभावक बनोस् भन्ने आमनागरीकको चाहना हुन्छ । तर यो सरकार र यसका नेताहरुलाई १२औं शताब्दीका भारतीय शासक जंगेज खाँ जस्तै क्रुर बन्ने सोख रह्यो । भ्रस्टाचार, कमिसन, अपहरण, बलात्कारका घटना त रसबरी जस्तो गुलियो हुन थाल्यो । नागरिकका सुझाव त राम राज्यमा राक्षस छिरे जस्तो लक्ष्मणको बाण तेर्सी हाल्ने । 

जनताको ईच्छा थियो यो बलियो सरकारले वर्तमानमा घट्ने अमानवीय र जनता बिरोधि घटनाहरूमात्र होईन बिगतमा घटेका मदन आश्रीत र दरबार हत्या काण्डहरु समेत अन्य जघन्य घटनाहरुको अनुसंन्धान गरी दोषीलाई कडा कारबाही गर्ने छ । तर आफैले गरेका ती वाचाहरू पुरा गर्ने आश्वासन कता हरायो । को हुन मदन आश्रीत र राजपरिवार हत्याकाण्डका दोषी, किन सडकका रेलिंङ्गहरु भांचिए ? टेलिफोनका क्याविनेट जलाइए र सरकारी सम्पत्तिमा आगों लगाइयो ? के यही हो जनताको सरकार ?  

अहिले जनताको मनमा एउटा प्रश्न छ । व्यवस्था खराब वा नेता, लोभ वा नेताको उमेर वा अवसरवाद ? यो देशले सबै खाले व्यवस्थाको अनुभूति गर्‍यो । जनताको बलले निरङ्कुश भनिएको राज्य व्यवस्थालाई सम्पूर्ण रूपमा समाप्त पारे । तर सोंच, शैली, व्यवहार, ईमान, नैतिकता, चरित्र र शासक वन्ने विचार समाप्त भएन ।

भरखर मात्र यो सरकारले संघिय नेपालको तेश्रो वजेट प्रस्तुत गर्‍यो । यो महामारीको बिचमा आएको वजेटले कुन बिषयलाई प्राथमिकतामा राखेको छ ? जनताको गास, बास कपास, स्वास्थ्य सुरक्षा, शिक्षा अथवा रास्ट्रपतिको दरबार सिंगार्ने, मन्त्रीको शरीर अठिलो बनाउने, प्रधानमन्त्री कोषमा करोडौं रकम छुट्याउने, अनावश्यक समिति निर्माण गरी वजेट दुरुपयोग गर्ने वा संसद विकास कोषमा अरबौ छुट्याउने यही हो अहिलेको आबश्यकता ? 

मितव्ययी हुने, अनावश्यक खर्च कटाउने, उत्पादन कसरी बढाएर आत्मनिर्भर हुने, व्यापार घाटा कसरी कम गर्ने, ऋण र अनुदानमा निर्भर देशको आर्थिक अबस्था लाई कसरी सुधार्ने ? स्वदेशी बिदेशी लगानी कसरी कुन क्षेत्रमा बढाउने, देशमा भएका उधयोगधन्दालाई कसरी बचाउन सकिन्छ यी बिषयहरू ध्यानमा छन् या छैनन् ? 

समुन्द्रको गहिराई, घामको ताप र चिसोको सिमा त अनुभूति गर्ने बिषय हुन, नाप्न कहाँ सजिलो होला ? जसरी नेताले देश र जनताको दुख र पीडाको गहिराइ र सिमाको अनुभूति गर्छ । स्मरण आउँछ जव २०१५ सालको निर्वाचन पछि प्रथम जननिर्बाचित सरकार र त्यसका नेता विश्वेश्वर प्रसाद कोइरालाले उद्घोष गर्नुभो सबै नेपालीलाई केही बर्षमा आफ्नो परिवार सरह बनाउने छु । योजना आयोगमा हलो जोतिराखेको किसानको फोटो राखेर मन्त्री परिषद्को बैठक शुरु भयो ।  आफ्नो र सबै मन्त्रिहरूको तलब घटाएर घरमै बसीबसी राज्यको सुबिधा लिने राजा रजौटा खारेज गरेर व्यक्तिका नाममा रहेको बनजंगल राज्यको मातहत ल्याइयो ।

सूर्यको प्रकाश त्यहां पुग्दैन जब अंधेरी रात शुरू हुन्छ । २०१७ साल पौष १ गतेको दिन थियो त्यो रात जहां सारा नेपालीको घरमा उज्यालो मर्‍यो जनताको अनुहारबाट सूर्यको प्रकाश अस्तायो । जमिन हदबन्दी, भेदभाव र छुवाछुतको अन्त्य, स्देशी बस्तुको प्रयोग, बिश्वबिद्यालयको स्थापना, राजमार्गहरूको रेखाङ्कन, उद्योग कलकारखानाहरूको स्थापना गर्दै सम्पूर्ण रूपमा जनता र देश प्रति समर्पित भएर असल र जनप्रिय नेताको रुपमा जीवन्त छाप छोड्न एक जनताको अभिभावक विपी सफल हुनुभयो ।

कति पटक प्रधानमन्त्री वा मन्त्री हुनु पर्ने हो ? राज्यको प्रमुख कार्यकारी हुनुको अर्थ निवासबाट अस्पताल, रास्ट्रपति निवास अनि पार्टीका बैठक, अन्त्यमा आराम यही हो त कर्तब्य निर्वाह ? भ्रस्टाचारीको मुख नहेर्ने तर अंगालो मारेपछि अनुहार पछाडि पर्ने ढाडमात्र देखिने, सबै माफ ? बादशाह अकबर एक पटक भेष बदलेर वजार पुगे ।  सामानको भाउ बुझे, निकै महंगो, किन कसरी ? बुझ्न थाले । जब उनलाई थाहा भो व्यापारीबाट कमिसन दरबारसम्म पुग्दो रहेछ त्यो पनि आफ्नै भाई भारदारहरूकहां, अकबरले अंगालो मारेनन् अगाडी उभ्यायर भने मैले सबैको अनुहार चिने सबैको बास कालकोठरीममा ! न माफ न छुटकारा ।
तब त बादशाह अकबर जव बिरामी हुन्थे सारा जनता उनको स्वास्थ्य लाभको कामना गर्दै रात दिन भगवानसंग दुहाई गर्थे । गृहमन्त्री शान्ति सुरक्षामा भन्दा द्रब्य सुरक्षामा, भूमि मन्त्री आफ्नै लागि जमिन जोड्नमा, सञ्चार मन्त्री  टावरै खाईदिने, पर्यटन मन्त्री जहाजै खाईदिने, स्वस्थ्यमन्त्री अस्वस्थ काम गर्ने, अन्य मन्त्रीहरुको चाला पनि उस्तै अनि यही हो सुशासन, यही हो लोकतन्त्र ? के का लागि संघर्ष ? कति बर्ष हुने मन्त्री, के का लागि हुने ? मन्त्री मालिक, मन्त्रालय बाउको सम्पत्ति, जनता  र कार्यकर्ता मगन्ते ! रोजी रोजी मन्त्रालय खोजी खोजी कमिसन (घुस ) ? नेपालको नियति !

बाली र सुग्रिवको लडाइमा रामको बाण लागेर बालीको मृत्यु भयो । दाईको मृत्युको शोकले सुग्रिवले राजा नहुने सन्यासी हुने मनसाय जब रामसंग राखे। तब उनलाई सम्झाउँदै भगवान रामले भने हे सुग्रीब संन्यासी नै हो जनताको असली अभिभावक जस्लाई कुर्सी र सत्ताको भन्दा ज्यादा माया जनताको हुन्छ । ब्यक्तिगत लालचा, मोह छोडेर राज्य चलाउनु नै उसको धर्म हो उहि नै असल शासक जनताको सेवक हो ।

विपीले आफ्नो जीवन जनताको अधिकार र देशको उन्नतीमा समर्पण गरे, गणेशमानले प्रधानमन्त्री त्यागे, कृष्णप्रसाद भट्टराईले छाता र सुराई बाहेक अरू कुनै चिजमा मोह राखेनन, शुशील कोइराला सधै अर्काको डेरामा जीवन विताए, गिरिजाप्रसाद एशियाकै नेता कहलिए, मनमोहन असल नेतामा गनिए, पुष्पलालको संघर्षमै जिवन बित्यो, मदन भण्डारीले कम्युनिष्ट बिचारलाई नयां युगसंगै बहुदलीय धारमा परिभाषित गरे तर यिनका अनुयायीहरूको सत्ता क्रिडामा अन्धोपन देख्दा उदेक लाग्छ । काम एकातिर कुरो अर्कोतिर, जनता एकातिर शासक अर्कोंतिर, बिमार एकातिर उपचार अर्कोंतिर, देश पातालतिर शासक आकाशतिर ।

भगवानको प्रतिक मानिएको राजा र शासनलाई समाप्त पारेर ल्याइएको व्यवस्थाका शासक स्वयं भगवान बन्न खोजेपछि बिनास सिबाय अरू के होला ? प्रकृति कसैको काबुमा छैन, त्यसै जागेको होइन । जब कुकर्महरू, अन्याय, अत्याचारहरू कम हुदै जानेछन् शासकहरू आफूलाई भगवानवाट सेवकमा परिणत गर्नेछन् । प्रकृति पनि आफ्नो ठाउंमा सामान्य रहने छ ।

प्रकृतिले सम्पन्न हाम्रो देश किन फुल्न, फल्न र हाँस्न सकेन ? कस्ले गर्ने हो ? के का लागि राजनीति, प्रधानमन्त्री र मन्त्री अनि नेता ? कति बर्षसम्म जनतालाई थोपरिरहने आफ्न जीर्ण असक्षमता ? देश र नागरिकको समृद्धीको यात्रा कहाँवाट शुरु गर्ने भन्ने नै इन्द्रजाल जस्तो भएको छ । मतभेद त हुँदै गर्ला तर मनभेद भयो भने बाँकी केही रहने छैन । 



नयाँ