न्युजल्याण्डमा तीन हप्ता पछि कोरोना देखियो, सिमानामा सेना परिचालित
एपी,
प्रकाशित २०७७ असार ३ बुधबार
434
Shares
वेलिङ्टन। न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्नले सैन्य नेताहरुलाई सिमानामा खटाउने बताएकी छिन्। देशको सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनहरुमा मापदण्ड पुरा भएको वा नभएको र बाहिरबाट आउनेहरुको निगरानी गर्नका लागि उनीहरुलाई खटाइएको हो।
लण्डनबाट आएका दुई महिलालाई क्वारेन्टाइन छोड्नु अगाडी भाइरसको परिक्षण गर्दा स्वास्थ्यकर्मीहरुले त्रुटी गरेपछि उनले सैन्य उच्च अधिकारीहरुलाई पठाउनु परेको उल्लेख गरेकी छिन्। ती महिलाहरु न्युजल्याण्डकै नागरिक हुन्। आफ्ना आमाबुवाको निधनका कारण उनीहरुले यात्रा गर्नु परेको जनाइएको छ।
न्युजल्याण्डकै औक्ल्याण्डदेखि वेलिङ्टनसम्म कारमा यात्रा गरेपछि परिक्षण गर्दा उनीहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो। स्वास्थ्य अधिकारीहरुले त्यो सडक यात्राका क्रममा ती महिलाहरु कुनै पनि अन्य व्यक्तिसँग सम्पर्कमा नरहेको दाबी गरेका थिए।
तर उनीहरुले विमान यात्रा देखि क्वारेन्टाइनको रुपमा होटलमा बस्दासम्मको अवधिमा ३२० जनासँग भने सम्पर्कमा रहेको पाइएको स्वास्थ्य अधिकारीहरुकै भनाई छ। यी दुई जनामा संक्रमण देखिनु अघि न्युजल्याण्डमा पछिल्लो तीन हप्तासम्म कुनै संक्रमित नभेटिएको घोषणा गरिएको थियो।
कम्तीमा दुई हप्तासम्म कुनै पनि संक्रमित नभेटिएमा कोरोनाभाइरस मुक्त मान्ने मान्यता अनुसार न्युजल्याण्डलाई कोरोनामुक्त मुलुकको रुपमा घोषणा पनि गरिएको थियो। नयाँ संक्रमण भेटिएसँगै प्रधानमन्त्री अर्डेर्नले सिमा क्षेत्रमा थप सतर्कता बढाउनु पर्नेमा जोड दिएकी छिन्।