arrow

शुक्रबार गण्डकीमा कोरोनाका २४ नयाँ सङ्क्रमित थपिए, सबै भारतबाट आएका, ३४ निको भए

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
coronavirus-hamrakuras1.jpg

कास्की । गण्डकी प्रदेशका कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बाग्लुङ र स्याङ्जामा गरी शुक्रबार २४ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ः०० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरमा छ, बागलुङमा १४, नवलपरासी र स्याङ्जामा दुई–दुई जना सङ्क्रमित थपिएका छन् । 

कास्कीमा सङ्क्रमितमा पोखरा महानगरपालिकाका ४१, १९, १९ वर्षका पुरुष र ३० र ५६ वर्षका महिला तथा रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुष छन् । त्यसैगरी बागलुङमा गलकोट नगरपालिकाका ३५, ३८, ३०, २२, १९, ४५ वर्षका पुरुष, ४२ र ३० वर्षका महिला, काठेखोला गाउँपालिकाका २४, २९, २२, २०, २३ र १९ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुष र पालिका नखुलेको एक ६३ वर्षीय पुरुष तथा नवलपरासीमा विनय त्रिवेणी गाउँपालिकाका २८ र २० वर्षका पुरुषमा सङ्क्रमण फेला परेको जनाइएको छ । 

नयाँ सङ्क्रमित भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका भएको र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । 

गण्डकी प्रदेशमा हालसम्म मुस्ताङबाहेकका १० जिल्लामा सङ्क्रमण देखिएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३४८ पुगेको छ । 

हालसम्म स्याङ्जामा ७५, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ९९, बागलुङमा ५६, पर्वतमा ३८, गोर्खामा ३६, तनहुँमा २६, कास्कीमा १३, म्याग्दीमा तीन तथा लमजुङ र मनाङमा एक–एक जना सङ्क्रमित छन् ।  कूल सङ्क्रमितमध्येमा २० जना महिला छन् । 

हालसम्म ३४ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ । 

प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा छ हजार २९५ जनाको नतिजा नेगेटिभ आएको छ । 

प्रयोगशालामा अझै एक हजार ८२४ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ