arrow

घोराहीका चार विद्यालय समायोजित

logo
रासस,
प्रकाशित २०७७ असार ६ शनिबार
Ghorahi_Upamahanagarpalika1.png

नारायणपुर। दाङस्थित घोराही उपमहानगरपालिकाले चार विद्यालयलाई नजीकैको अर्को विद्यालयमा समायोजन गरेको छ। विद्यार्थी संख्या न्यून रहेकाले ती विद्यालयलाई समायोजन गरिएको उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकूद महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख विनोद गौतमले नगरपालिका बैठकको निर्णयानुसार घोराही –६को प्रावि गुरुवा गाउँलाई सोही वडाको मावि जजरागाउँ र प्रावि पक्वैलाई जयशेर माविमा समायोजन गरिएको जानकारी दिए। 

त्यस्तै वडा नं १८ को प्रावि मसिनालाई सोही वडाको मावि रझेना, वडा नं ७ को प्रावि घुस्रालाई सोही वडाको मावि सौडियार र वडा नं १२ को प्रावि पेदाको कक्षा ४ लाई मावि हापुर विजौरीमा समायोजन गरिएको गौतमले जानकारी दिए। विद्यालयको समायोजन पत्रानुसार उपमहानगरले निर्णय लिएको  महाशाखाले जनाएको छ। महाशाखाले विद्यालयमा रहेका विद्यार्थी सङ्ख्याका आधारमा गत पुसमा उपमहानगरपालिकाभित्र शिक्षक दरबन्दी मिलान गरिसकेको छ।

पाठ्यपुस्तक वितरण
बन्दाबन्दी खुकुलो बन्दै गएपछि दाङका सामुदायिक विद्यालयले सामाजिक दूरी कायम गर्दै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न शुरु गरेका छन्। विद्यालय नखुले पनि स्वाध्ययनका लागि पाठ्यपुस्तक वितरण शुरु गरिएको विद्यालयले जनाएका छन्। जिल्लाका १० स्थानीय तहका कक्षा १० सम्मका ४२३ सामुदायिक विद्यालयमा पुस्तक वितरणशुरु गरिएको छ।

विद्यालय क्वारेन्टिन बनाइएका कारण कतै विद्यार्थीको घरमै पुगेर पुस्तक उपलब्ध गराइएको छ भने कतै सम्पर्क शिक्षक वा कर्मचारी तोकी उनीहरुसँग सम्पर्क गरेर पुस्तक लिन विद्यार्थीलाई भनिएको छ। क्वारेन्टिन नराखिएका विद्यालयमा भने विद्यालयबाटै सामाजिक दूूरी कायम गरी पुस्तक वितरण गरिएको स्थानीय पालिकाका शिक्षा शाखा प्रमुखले जानकारी दिएका छन्।

जिल्लाका सामुदायिक विद्यालयले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम प्रयोग गरी पुस्तक वितरणको काम अघि बढाएको जनाएका छन्। जिल्लाकै जेठो पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय भरतपुरले जेठको अन्तिम सातादेखि पुस्तक वितरण गरिरहेको प्रधानाध्यापक रामप्रसाद जैसीले जानकारी दिए। 

प्रभावकारी बन्दै रेडियो स्कूल कक्षा
राजापुर–बर्दियामा एक महिनादेखि रेडियो स्कूल कक्षा शिक्षा कार्यक्रममार्फत विद्यार्थी घरमै बसेर अध्ययन गरिरहेका छन्। कोरोना भाइरसको जोखिम बढेपछि सञ्चालन गरिएको रेडियो स्कूल कक्षा कार्यक्रमबाट विद्यालय खुल्न नसक्दा घरमै बसेका विद्यार्थीलाई फाइदा भएको छ। बर्दियाका स्थानीय तहको समन्वयमा रेडियो स्कूल कक्षा कार्यक्रम निर्माण गरी विद्यार्थीका लागि स्थानीय एफएम रेडियोबाट स्कूल नमूना कक्षा शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो।

कक्षा ४ देखि १० सम्मका बिद्यार्थीका लागि सञ्चालन गरिएको रेडियो स्कूल कक्षाले सबै तहका विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न सहयोग पुर्‍याएको बारबर्दिया नगरपालिकास्थित युवक मावि जोगीगाउँका विद्यार्थी राकेश चौधरीले बताए।

रेडियोबाट कक्षा सञ्चालन भएपछि  सुनेर पढिरहेको मधुवन नगरपालिकास्थित आनन्द आधारभूत विद्यालयका कक्षा ८ उत्तीर्ण विद्यार्थी बमबहादुर शाहीले बताए।  पढ्ने बानी हराउन थालेका बेला रेडियोबाट कक्षा सञ्चालन हुँदा विद्यार्थी  पढाइप्रति उत्प्रेरित भएको मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रीको भनाइ थियो। विद्यार्थीको पढाइ अवरुद्ध भएका कारण अध्ययन गर्ने क्रम नरोकियोस् भनेर शुरु गरिएको रेडियो स्कूल कक्षा कार्यक्रम प्रभावकारी भएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताए।

बर्दिया, मधुवनमा रहेको  रामज्ञानु एफएम ८९ मेगााहर्ज, गुलरियामा रहेको रेडियो बबई १०६ मेगाहर्ज, भुरीगाउँको रेडियो टाइगर एफएम ९९.२ मेगााहर्ज र बाँसगढीमा रहेको रेडियो गुरुबाबा एफएम १०६.४ मेगाहर्जबाट रेडियो कक्षा कार्यक्रम सञ्चालन गरिएको हो।

नमूना माविमा छात्रावास भवन बन्दै
रुकुमपूर्व–सिस्ने गाउँपालिका वडा नं ५ मा रहेको रुक्मिणी माविमा छात्रावास भवन निर्माणको काम शुरु भएको छ। कूल रु ९८ लाख बजेटमा निर्माण हुन लागेको छात्रावास भवन निर्माणको काम बन्दाबन्दीका कारण दुई साताअघि मात्र शुरु गरी असार मसान्तमा सक्ने लक्ष्य राखिएको छ।

यस वर्ष रु ९८ लाख बजेटबाट एक तलाको १० कोठे भवन निर्माण गर्न लागिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले जानकारी दिए। विद्यालयको लक्ष्य तीन तलाको बनाउने छ ।  चालु आर्थिक वर्षमा एकतलाको काम सक्ने र अर्को वर्ष अर्को तला थप्ने गरी काम हुने छ।

छात्रावास भवन नमूना विद्यालयअन्तर्गतको हो । देशभरिका २२० नमूना विद्यालयमध्ये रुक्मिणी मावि पनि एउटा हो। नमूना विद्यालयमा छनोट भएका सबै विद्यालयलाई केन्द्र सरकारले प्रत्येक वर्ष रु डेढ करोड बजेट पठाउने गरेको छ। पहिलो वर्ष विद्यालयमा आएको रु डेढ करोड बजेटबाट माविले एउटा बस किनेको विव्यसका अध्यक्ष समालले बताए। उनका अनुसार सेनेटरी प्याड राख्ने यन्त्र र विद्यार्थीलाई दिवा खाजाको समेत व्यवस्था गरिएको छ। चालु वर्षमा छात्रावास भवन निर्माणसँगै बिदाका समयमा पठनपाठन सञ्चालन गरी शिक्षकलाई भत्ता, फर्निचर खरीद, थप शिक्षक व्यवस्थापनलगायत काम गरिएको छ । रुक्मिणी मावि जिल्लाकै पुरानो विद्यालय मानिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ