arrow

असार लागेसँगै बजेट निकासाको चटारो, शनिबार पनि निकासा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ८ सोमबार
Ministry-Finance-hamrakura-3.jpg.jpeg

काठमाडौं। चालु आर्थिक वर्ष २०७६/०७७ को अन्तिम महिना असार सुरु भएसँगै सरकारले बजेट निकासालाई तिब्रता दिएको छ। चालु आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएसँगै शनिबार पनि बजेट निकासा गरेर सरकारले खर्चको गति बढाएको हो। गत जेठ मसान्तसम्म कुल ८ खर्ब ७६ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ निकासा गरेको सरकारले आइतबारसम्म ९ अर्ब ६२ करोड ३ लाख रुपैयाँ निकासा गरेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तयता पछिल्लो एक हप्तामा दैनिक ३ अर्ब बढीका दरले २४ अर्ब १६ लाख रुपैयाँ निकासा गरिएको छ।

खर्चको गति बढाएको सरकारले आइतबार मात्रै कुल ८ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ निकासा गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबार चालुगत खर्चतर्फ ४ अर्ब ९५ करोड १८ लाख रुपैयाँ, पुँजीगततर्फ ३४ करोड १२ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ निकासा गरिएको छ।

आइतबारसम्म कुल ९ खर्ब ६२ करोड ३ लाख रुपैयाँ निकासा गरेको सरकारले चाुलतर्फ ६ खर्ब ८४ अर्ब ४० करोड ३८ लाख, पुँजीगततर्फ १ खर्ब २९ अर्ब ५१ करोड ३८ लाख र वित्तीय व्यवस्थातर्फ ८६ अर्ब ७० करोड २७ लाख रुपैयाँ निकासा गरेको छ । आइतबारसम्म निकासा भएको रकम कुल बजेटको ५९ दशमलव ३२ प्रतिशत हो। चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बराबर खर्च हुने गरी बजेट सार्वजिनक गरेको थियो।

शनिबार पनि निकासा
असार सुरु भएसँगै सरकारले शनिबार पनि बजेट निकासामा जोड दिएको देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत शनिवार १ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ निकासा गरिएको छ । उक्त निकासामा चालुतर्फ १ अर्ब ८५ करोड ५२ लाख, पुँजीगततर्फ २ करोड ८८ लाख रुपैयाँ निकासा गरिएको छ। शनिबार वित्तीय व्यवस्थातर्फ भने निकासा गरिएको छैन। त्यस्तै शुक्रबार चालुतर्फ १ अर्ब २५ करोड ८७ लाख, पुँजीगततर्फ ४८ करोड ५६ लाख गरी कुल १ अर्ब ७४ करोड ४३ रुपैयाँ निकासा गरेको छ । शुक्रबार पनि वित्तीय व्यवस्थातर्फको निकासा गरिएको छैन।

वित्तीय व्यवस्थातर्फ एकै दिन ३ अर्ब निकासा
महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबार मात्रै वित्तीय व्यवस्थातर्फ एकैदिन ३ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ निकासा भएको छ । महालेखा नियन्त्रक गोपीनाथ मैनालीले सरकारले तिनुपर्ने साँवा ब्याज लगायतको कार्यतालिका अनुसार आइतबार उक्त रकम निकासा गरिएको जानकारी दिए । ‘सरकारी दायित्व अन्तरगत तिर्नुपर्ने साँवा ब्याजको कार्यतालिका अनुसार वित्तीय व्यवस्थातर्फको उक्त रकम निकासा गरिएको हो’ उनले भने, ‘निकासा गरिएको बजेट खर्च नभएमा फिर्ता भएर संघीय संचीत कोषमा नै जमा हुन्छ ।’ महालेखा नियन्त्रक मैनालीका अनुसार स्थानीय सरकार र प्रदेश सरकारको आफ्नो आम्दानी बाहेक संघ सरकारले उपलब्ध गराएको बजेट निकासा भएर खर्च नभएमा फिर्ता भएर संघीय सञ्चित कोषमा जम्मा हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ