काठमाडौं। काठमाडौंको दैनिक थकानबाट केही समय मुक्ति पाउनको लागि तपाईँ पनि कुलेखानीतर्फ जाँदै हुनुहुन्छ भने ध्यान दिनुहोला तपाई जाने बाटोमा अवरोध हुनसक्छ।
त्यस्तै दक्षिणकाली–कुलेखानी–हेटौडा जानु छ भने पनि सावधानी अपनाउनुहोला। सरकारले काठमाडौंको कुलेखानीदेखि मकवानपुरको सिस्नेरीसम्मको बाटो निर्माणको लागि भनेर दक्षिणकाली–सिस्नेरी सडकखण्ड जेठ महिनाभर बन्द गर्दैछ।
लामो समयदेखि बाटो चौडा गर्ने क्रममा धुलाम्मे रहँदा यात्रुहरूले सास्ती बेहोर्दै आएको उक्त सडकखण्डको २० किलोमिटर बाटो दुईवटा कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएर कालोपत्रेको लागि काम सुरू गरिसकेका छन्। तर, भीरको बाटोमा सवारी साधनको आवतजावत गर्दा काम गर्न असहज हुने तथा मोटरगाडीलाई पनि असहज अवस्था रहने गरेकोले जेठ एक गतेदेखि एक महिनाको लागि दक्षिणकाली–सिस्नेरी–कुलेखानी सडकखण्ड बन्द गर्न लागिएको डिभिजन सडक कार्यालय काठमाडौं २ का प्रवक्ता केशव कुमार ओझाले जानकारी दिए।
अबको २० महिनामा सम्पन्न गर्नेगरी सुरू गरिएको उक्त परियोजना मध्ये केही कठिन रहेको ठाउँमा भने एकमहिना भित्र सडक कालोपत्रे गरिसक्ने लक्ष्यसहित सो बाटो बन्द गर्न लागिएको प्रवक्ता ओझाले जानकारी दिए। दक्षिणकालीदेखिको पहिलो १५ किलोमिटर बाटो २० करोड लगानीमा सक्नेगरी अनक कन्स्ट्रक्सन कम्पनी लिमिटेडले ठेक्का पारेको छ भने बाँकी पाँच किलोमिटरको लागि आशिष ब्रदर्स कन्स्ट्रक्सन डेभी नामक कन्स्ट्रक्सन कम्पनीले ठेक्का पारेको छ। बाँकी पाँच किलोमिटरको लागि भने कति रकममा ठेक्का पारेको भन्ने जानकारी नभएको पनि प्रवक्ता ओझाले जानकारी दिए।
अब कुलेखानी जानु छ भने तपाईपनि फर्पिङदेखि फापलचौर हुँदै अथवा त्रिभुवनपार्कदेखि चित्लाङ हुँदै पनि कुलेखानी पुग्न सक्नुहुनेछ।