arrow

सेती नदी जलविद्युत् आयोजनाको निर्माण व्यवस्थापन हाइड्रो कन्सल्टले गर्ने   

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
seti-nadi-hydro.jpg

काठमाडौँ । सेती नदी जलविद्युत् आयोजनाको परामर्श सेवा तथा निर्माण व्यवस्थापन र सुपरिवेक्षणको काम हाइड्रो कन्सल्ट इञ्जिनियरिङले गर्ने भएको छ । 

भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीमा निर्माण शुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको निर्माणलाई थप प्रभावकारी बनाउन र गुणस्तरमा ध्यान दिन हाइड्रो कन्सल्टको सहभागिता महत्वपूर्ण हुने प्रवद्र्धक कम्पनीले विश्वास लिएको छ ।    
 
द्विपक्षीय सम्झौतामा भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल, हाइड्रो कन्सल्टका प्रमुख कार्यकारी अधिकृत मनोहर श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

परामर्श तथा निर्माण व्यवस्थापनका लागि भिजन लुम्बिनीले हाइड्रो कन्सल्टलाई रु पाँच करोड ५५ लाख ४१ हजार ५०० बराबरको रकम उपलब्ध गराउने छ । 

निर्माण कार्यमा कुनै सम्झौता नगर्ने, आयोजनाको सबै काम प्रभावकारीरुपमा गर्ने तथा अन्य व्यवस्थापकीय कामका लागि सो रकम खर्च हुनेछ ।   
  
आयोजनालाई हरेक कोणबाट सबल, गुणस्तरीय बनाउने ध्येयका साथ आफूहरुले हाइड्रो कन्सल्टसँग सम्झौतागरेको अध्यक्ष पोखरेलले जानकारी दिए । 

कास्कीको माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा निर्माण गर्न लागिएको सो आयोजनाको निर्माण कार्य गत वैशाख २२ गतेदेखि शुरु भएको हो । 

कूल रु पाँच अर्ब लगानीमा निर्माण गरिने आयोजनाको शुरुआतमा सिभिल निर्माणतर्फको सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) खन्ने काम भइरहेको छ ।     
आगामी २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार कोरोना सङ्क्रमणको त्रासका बीचमा समेत आवश्यक सुरक्षाका उपाय अवलम्बन गरेर काम शुरु गरिएको छ ।     

भराभरीमा आयोजनाको बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९ सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत् गृहमा १८७ मिटर उचाइबाट पानी खसालिने छ । 

आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । 

आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । रु एक अर्ब २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्ने गरी गत माघमा भौतिक निर्माणको जिम्मा रसुवाले पाएको हो ।   
  
सिभिल वर्कको कामसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन (प्रशासरण लाइन) को काम अघि बढाउन निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको छ । 

आयोजनाले उत्पादन गरेको विद्युत् वर्षायाममा छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता यसअघि नै भइसकेको छ ।   

आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत विभिन्न बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रबाट जुटाइनेछ भने बाँकी रकम स्वपूँजीका रुपमा लगानी हुनेछ । 

आयोजनामा स्थानीयबासीको समेत शेयर लगानी रहेको छ । बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलाप गर्दै आइरहेको भिजन लुम्बिनी मातहतमा आयोजनाको कार्य भइरहेको हो । 

प्रवद्र्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्ति मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरुले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागी गराएको जानकारी दिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ