arrow

कोरोनाका कारण अधिकांश स्थानीय तहको प्राथमिकतामा स्वास्थ्य

logo
प्रकाशित २०७७ असार १० बुधबार
corona-niko-test.jpg

रुपन्देही । कोरोना भाइरस संक्रमणका कारण प्रदेश नं ५ का स्थानीय तहका प्राथमिकता फेरिएका छन् ।  प्रदेश नं ५ का अधिकांश स्थानीय तहले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट बनाएका छन् ।  

 रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७-७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रित गरेको छ । सातौंँ नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले आज कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभयो ।  

रु एक अर्ब ८९ करोड २६ लाखको प्रस्तावित बजेटमा सामाजिक सुरक्षाको रु २५ करोडबाहेक चालुतर्फ ५२ करोड एक लाख अर्थात् ३१ दशमलव ६७ प्रतिशत र पूँजीगततर्फ रु एक अर्ब १२ करोड २५ लाख अर्थात् ६८ दशमलव ३३ प्रतिशत  प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा तिलोत्तमाले आगामी आर्थिक वर्षको बजेटको आकार रु ३५ करोडले बढाएको हो । 

बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने तथा कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाई नगरवासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको बताउनुभयो ।  बजेटमाथि नगरसभाको अर्को बैठकमा दफाबार छलफल हुने प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले बताउनुभयो । 

खुशी जनता, समृद्ध तुलसीपुर 
तुलसीपुर –दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि करीब रु दुई अर्बको बजेट विनियोजन गरेको छ ।  उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले आज रु दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट प्रस्तुत गर्नुभयो । 

पूँजीगततर्फ नगर, वडास्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि रु एक अर्ब ६८ करोड ४७ लाख र चालुतर्फ ६६ करोड २० लाख ६४ हजार विनियोजन गर्नुभएको छ । पूँजीगतर्फ ७२ प्रतिशत र चालुतर्फ २८ प्रतिशत विनियोजन गरिएको हो । 

उपप्रमुख आचार्यका अनुसार स्वास्थ्य, कृषि, रोजगारी र  शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ । ‘खुशी जनता : समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर : राम्रो तुलसीपुर’ बनाउने लक्ष्यका साथ बजेट विनियोजन गरिएको उपप्रमुख आचार्यले बताउनुभयो । 

शिवराज : कृषि र स्वास्थ्यलाई प्राथमिकता 
चन्द्रौटा –कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि र स्वास्थ्यलाई प्राथमिकता दिने भएको छ । भएको सातौँ नगरसभामा आज नगरप्रमुख नेत्रराज अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा युवालाई कृषि मार्फत रोजगारीको सिर्जना गरिने बताउनुभयो ।
 
नगरको अधिकांश जमीन उत्पादनमूलक रहेको र धान खेतीको प्रचूर सम्भावना भएकाले धान उत्पादन प्रवद्र्धन कार्यक्रम लागू गरिने भएको छ ।  त्यस्तै स्वास्थ्यतर्फ नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिई ८० वर्षमाथिका  नागरिकको नि:शुल्क स्वास्थ्य जाँच, मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि दुई स्थानमा मनोपरामर्श एकाइ , महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच लाखको दुर्घटना बीमा, ‘बच्चा जन्माउने कहाँ वर्थिङ सेन्टर जहाँ’ अभियान  सञ्चालन गर्ने, वीरपुर स्वास्थ्यचौकीमा वर्थिङ सेन्टर सञ्चालनमा ल्याउने कार्यक्रम छ । 

कोरोना भाइरसको जोखिममा पनि अग्रमोर्चामा बसेर काम गरेका स्वास्थ्यकर्मीलाई विशेष ध्यान दिइने नगरप्रमुख अधिकारीले बताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ