arrow

प्रदेश–५ का चार उपमहानगरपालिकामा कहाँ कस्तो बजेट ? 

logo
नारायण वली, 
प्रकाशित २०७७ असार ११ बिहिबार
butwal-upamahanagarpalika.jpg

बुटवल । रुपन्देहीको बुटवल उप–महानगरपालिकाले आर्थिक वर्ष २०७७–७८ का लागि २ अर्ब १ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । 

चालुतर्फ १ अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगत तर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षको भन्दा झण्डै ११ करोड रहेको बताइएको छ ।

संघीय तथा प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान समेतलाई समावेश गर्दै गत वर्ष भन्दा करिब ११ करोड बढी रकमको बजेट प्रस्तुत गरिएको छ । बुटवल उपमहानगरले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड बजेट प्रस्तुत गरेको थियो । नगरसभाको सातौं अधिवेशनमा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले बुधवार आगामी आर्थिक वर्ष ०७७–०७८ का लागि २ अर्ब १ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन् । 

उपमहानगरको नीति तथा कार्यक्रम एंव बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । विनियोजित बजेटले सबल आर्थिक केन्द्र समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवल, खुसी जनता’ मुख्य उद्देश्य रहेको उल्लेख छ । 

घोराही उपमहानगरपालिका दाङ
दाङको घोराही उप–महानगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ का लागि १ अर्व ८५ करोड २२ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उप–महानगरपालिकाकी उपप्रमुख सिता सिग्देल न्यौपानेले बुधबार नगरसभामा उक्त वजेट प्रस्ताव गरेकी हुन् ।

चालुतर्फ १ अर्व ८ करोड ५७ लाख २२ हजार अर्थात् ५८ दशमलव ६० प्रतिशत, पुँजीगत तर्फ ७६ करोड ६५ लाख ७१ हजार अर्थात् ४१ दशमलव ४० प्रतिशत रकम विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटमा आगामी वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक आयबाट रु २५ करोड, सङ्घीय वित्तिय सामानीकरण अनुदान बाट रु ३२ करोड ७२ लाख, सङ्घीय राजश्व बाँडफाँड बाट रु २१ करोड १२ लाख १० हजार ६ सय, सङ्घीय सशर्त अनुदान बाट रु ६४ करोड ७ लाख, सङ्घीय समपुरक अनुदान बाट रु ७२ लाख व्यहोरिने उल्लेख छ ।

घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्व ७८ करोड २९ लाख ६६ हजारको बजेट कार्यान्वयन गरिरहेको छ । 

उपमहानगरले आगमी वर्षका लागि चालु आर्थिक वर्षभन्दा झण्डै ७ करोड बजेट बढाएको छ । यस्तै घोराही उपमहानगरपालिकाले कोरोना महामारी रोकथामका लागि ११ करोड ३६ लाख र कृषि क्षेत्रमा जनशक्ति आकर्षित गर्न २ करोड ३९ लाख ३० हजार छुट्याएको छ ।

तुलसीपुर उपमहानगरपालिका दाङ
दाङको तुलसीपुर उप–महानगरपालिकाकाले आर्थिक वर्ष ०७७–०७८ का लागि २ अर्व ३४ करोडको बजेट ल्याएको छ । नगरसभाको पाँचौ अबिधेशनको तेस्रो बैठकमा उपमेयर मायाँ शर्माले २ अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट पेस गरेकी हुन् ।

पुँजीगत तर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि १ अर्ब ६८ करोड ४७ लाख बजेट विनियोजन भएको छ । जुन कुल बजेटको ७२ प्रतिशत हो । चालुतर्फ ६६ करोड २० लाख ६४ हजार विनियोजन गरिएको छ ।

बजेटमा तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र २ वटा उद्योग ग्राम निर्माण, तुलसीपुर चक्रपथ निर्माण र तुलसीपुर बजार क्षेत्रमा फुटपाथ निर्माण लगायतका कार्यक्रमहरु समेटिएका छन् ।

नेपालगंज उपमहानगरपालिका वाँके
वाँकेको नेपालगंज उप–महानगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ का लागि १ अर्व ४७ करोड ९६ लाख ५४ हजार ७ सय ६० रुपैयाँ वरावरको बजेट ल्याएको छ । उप–महानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले बुधबार  नगरसभामा उक्त वजेट प्रस्ताव प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत वजेटमा उपमहानगरपालिकाले आर्थिक विकासका लागि कृषि, पशुपालन, स्वास्थ्य र शिक्षा तथा खेलकुदलाई प्राथमिकतामा राखेको नेपालगंज उप–महानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरले जनाएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ