arrow

ओली र प्रचण्डले गाला जोडेर गरेको एकीकरणको खम्बा धरापमा

logo
मनोज लामिछाने,
प्रकाशित २०७७ असार ११ बिहिबार
cpn-meeting.jpg

नेपालको राजनीति सधै जुँगाको लडाईमा केन्द्रित रहयो l यसबाट कुनै पनि दल चोखो रहन सकेन l २०४६ सालको जनान्दोलन पश्चात जुंगे लडाई झन् झ्यांगिदै गयो l नेताहरुको चोचोमोचो भनौ गाला जोडेर गरिने राष्ट्रिय राजनीतिले जुंगे लडाई यसरि मौलाउदै गयो कि यसले पार्टी फुट्नेदेखि सरकार ढाल्नेसम्मका खेलहरु भए l

आ-आफ्ना स्वार्थका लागि गाला जोडेर गरिएको सहमतिले देशलाई अस्थिरता तर्फ धकेल्दै लगे l सत्ता, शक्ति, भोगविलासको प्राप्तिको कथित सोचले आलोपालोको आधरमा सत्ता, शक्ति, भोगविलास गर्ने नियम झैँ बस्न गयो l यसको उपज सरकारहरु परिवर्तन हुँदै गए, छोटो समयमा देशका कार्यकारी पदहरुमा रजाई गर्नेहरुको अनुहारहरु फेरिन थालिए l देशको शासन व्यवस्था जनताको हित तथा कल्याणतर्फ उन्मुख हुनु पर्नेमा सत्ता निकटकाहरुले फाइदा उठाउन थाले l

विधिको सरल र सहज शासन, शासनमा सक्रिय जनसहभागिता, लोकतान्त्रिक शासन व्यवस्था, जबाफ देहिपूर्ण र पारदर्शिपूर्ण सरकार, सहकारिता, स्वतन्त्र एवं सक्षम न्याय प्रणाली, मानव मुल्य र मान्यताको रक्षा, बिकास प्रक्रियामा दिगोपना, जिवन्त नागरिक समाज, शक्ति सन्तुलन र नियन्त्रण, व्यवसायिक एवं जनमुखी कर्मचारी तन्त्र जस्ता शब्दावलीहरु कागजमा मात्र सिमित रहे l यसको प्रत्यक्ष असर नेपालका गरिब जनताहरुले भोगी रहे l     

नेताहरुका व्यक्तिगत स्वार्थका कारण नेपालको राजनीति सधै गुट उपगुट तर्फ केन्द्रित हुनथाल्यो  l यसैको उपज नेपाल कम्निस्ट पार्टीमा देखिएको अहिलेको रस्साकस्सी हो l पार्टीको झण्डा नै नराखी प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षधरले पार्टी विधि, विधान र प्रणालीमा नचलेर दुई अध्यक्षको चोचोमोचोका आधारमा चलिरहेको आरोप, २०७५ साल जेठ २ गतेको आलापालोको सहमति छाडेर गल्ती गरेँ भनेर दिएको प्रचण्डको अभिव्यक्ति, सरकार र पार्टीलाई फाइदा होला भनेर आफूले पाँच वर्ष ओलीलाई सरकार चलाउन दिने सहमति गरेको हो भन्ने प्रचण्डको पश्चाताप भाव, ओलीमाथि उनको कडा आलोचना, सरकारले गर्न सक्ने काम पनि नगरेको विश्लेषण, गुटहरु छन् तर पार्टी छैन भन्दै प्रचण्डले अब नेता सामु ‘फाइट टू फिनिस’ संघर्ष गर्ने र एकतावद्ध हुने मात्र विकल्प रहेको बैठकमा ब्यक्त गर्नु तथा प्रधानमन्त्री ओलीले पार्टीभित्र अनुशासनहीनता र बहुमतको खेल सुरु भएको, असन्तुष्टिका  गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा झण्डै पार्टी विभाजनको संघारमा पुगेको, महाधिवेशनसम्म सहकार्य गर्ने सहमति अनुसार पार्टी नचलेको, पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल भएको, नेतृत्वलाई खुइल्याएपछि आफ्नो कद बढ्छ भन्ने भ्रम नपाल्न समेत आग्रह गर्नु ओली र प्रचण्डले गाला जोडेर गरेको एकीकरणको खम्बा धरापमा परेको संकेत गर्छ l

नेताहरुले गाला जोडेर गरेको एकताको खम्बामा धमिरा लाग्ने कार्य पार्टी भित्र बेला बेलामा देखिएको मतमतान्तरको स्वरहरुमा प्रष्ट देखिएको हो । नेकपा भित्र गरिएको एकिकरणको उद्घोष पार्टी हित भन्दा पनि नेता हितका लागि हुन् भन्ने उनकै पार्टी पंक्तिबाट बेला बेलामा गरेको चर्चा परिचर्चाले कुनै बेला यी चोचोमोचो गरेका नेताहरुको स्वार्थ केन्द्रित पार्टी एकीकरणको खम्बा कुनैपनि बेला ढल्न सक्ने संकेत देखिएको छ l यसबाट के स्पष्ट हुन्छ भने नेकपा संघर्षको चरणमा प्रवेश गरेको छ l   

बुधबार बालुवाटारमा आयोजित बैठकमा सचिवालयका सातजना नेताहरुलाई अग्लो मञ्चमा दुरी सहितको आसन तय गरिएको, अध्यक्ष द्वयका लागि ठूला सोफाहरु अरु नेताभन्दा केही अगाडि राखिएको, झलनाथ खनाल र माधव नेपालका कुर्सी अलि पछाडि राखिएको, सचिवालय भन्दा तलका नेताहरु मञ्च भन्दा मुनि होचो स्थानमा भएको भन्ने जस्ता सामान्य कुराहरु पनि सहज तरिकाले लिन नसक्नु र बरिष्ठ नेता माधवकुमार नेपालले कार्यालय सचिव ईश्वरी रिजाललाई मञ्चमा बोलाएर मेरो आसन किन पछाडि राखेको भनेर अगाडि सार्न लगाउनु, नेता नेपालले अध्यक्ष ओली बोल्दै गर्दा वीचमा दुईपटक क्रम गरेर ओलीलाई चिढ्याउनु, ओलीले आफ्नो मन्तव्यमा पार्टी एकताको चर्चा गर्दैगर्दा नेता नेपालले सामुहिक प्रयासले पार्टी एकता भएको हो भन्दै ओलीको प्रतिवाद गर्नु, त्यसैगरी सरकारको प्रशंसा गरिरहेका बेला नेता नेपालले आत्म प्रशंसा नगर्न ओलीलाई भन्नु केपी ओलीले माधव नेपालसँग रिसाउँदै तपाईको बोल्ने पालो आउँछ, त्यहीबेला बोल्नुहोला, आफूले के गर्नुभयो ? त्यो पनि भन्नुहोला भन्दै जवाफ दिनु, मञ्चमै भएको ओली नेपाल वीचको भनाभन हुनु, अध्यक्षका लागि विशेष सोफा र अरु बरिष्ठ नेताहरु लागि बेग्लै कुर्सीहरु राखेको हामीलाई पनि मन परेन भन्नु नेताहरुको जुँगाको लडाईबाट सृजित पार्टीभित्रको बिमति हो l    

नेपालमा राजनैतिक परिवर्तन त भए तर नेताहरुको आचरणमा कुनै परिवर्तन भएन l यसको फलस्वरूप कुनैदिन नेपालमा नौ महिनामा नै प्रधानमन्त्रीहरु परिवर्तन हुने र मन्त्रिमण्डल बिघटन हुने कु शासनको अनुभव नेपालीहरुले भोग्नुपर्यो l यसकारण पनि नेपाली जनताले नेकपालाई बहुमतको स्थिर सरकारको मौका दिए l बिडम्बना पार्टीभित्र त भन्दा म ठुलो भन्ने दम्भले जनताको मतलाई बेला बेलामा आइसोलेसनमा राख्ने काम पार्टी पंक्तिबाट भैरह्यो l अहिलेको नेपालका राजनीतिज्ञहरुको अदुरदर्शिता, अपरिपक्क निर्णय, सरकार संचालनमा कुशल नेतृत्वको अभावका  कारण नेता र सरकार प्रति आमजनताको गुनासाहरु र उनीहरुप्रति जनताको मोह घट्दै गैरहेको छ l

केहि सिमित नेताहरुले बिगतमा देश र जनताका लागि गरेका योगदानहरुको बर्षौसम्म ब्याज खाइरहनु पर्ने मानसिकताले गर्दा नेपालमा जुनसुकै पार्टीको सरकार आएपनि पुरानै अनुहारधारीहरु नै सत्तामा आउने हुनाले नेपालीलाई जुनसुकै पार्टी र जो प्रधानमन्त्री आएपनि खासै उत्साह छैन् l जबसम्म पार्टीभित्रका राम्रा, कुशल, योग्य, ईमान्दार र निस्पक्ष्य व्यक्तिहरु अगाडी आउदैनन तबसम्म नेपालको पार्टीभित्र शुसासन छिर्न सक्दैन र योग्य व्यक्तिहरु सधै पाखा लागि रहन्छन् l  

पार्टीभित्र सधै अहमताको राजनीतिले जरो गाडी रहन्छ र देश अस्थिरता तर्फ धकेलिरहन्छ l यसका लागि पार्टीका कार्यकर्ताहरु पनि ईमान्दार हुन् जरुरी छ l आफ्नो पार्टी र आफ्नो पक्षका नेताहरुले जे गरे पनि ठिक भन्ने र अरुको पार्टी र अरुको पक्षका नेताहरुले जे गरे पनि बेठिक भन्ने चरित्रलाई त्याग्न जरुरि छ l यस खाले प्रवृतिले उनीहरु स्वयंलाई घाटा छ भन्ने कुरा बुझ्न जरुरी छ l यसैको उपज अहिले नेकपा भित्र देखिएको कचिंगल हो l ओली र प्रचण्डले गाला जोडेर गरेको नेकपा एकीकरणको खम्बा मात्र होइन नेपालका कुनैपनि पार्टी जुनसुकै बेला ढल्ने निश्चित छ l यसका लागि सबै पार्टीका नेता तथा कार्यकर्ताहरु सच्चिनु अति आवश्यक छ l होइन भने कुनै दिन नेपालमा सबै चुनावहरु जनताले बहिस्कार गर्ने दिन नआउला भन्न सकिन्न l यसका लागि अहिलेका सबै नेताहरु र कार्यकर्ताहरुले बेलैमा होस् पुर्याउन आवश्यक छ l  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ