arrow

पैसा उठाउनमै केन्द्रित वाणिज्य विभागको अनुगमन

logo
प्रकाशित २०७७ असार ११ बिहिबार
new-money.jpg

काठमाडौं। उपभोक्ता हितका लागि भन्दै बजार अनुगमन गरिरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पछिल्लो अनुगमन पैसा उठानमै केन्द्रित देखिएको छ । चैत ११ देखि सुरु भएको लकडाउनका बेलासमेत विभागको अनुमगन व्यवसायीबाट पैसा उठाउनमै केन्द्रित देखिएको हो ।

विभागले लकडाउनको अवधि (चैत ११) यता असार ९ गतेसम्म १ करोड ३१ लाख २० हजार रुपैयाँ व्यवसायीलाई जरिवाना गरेवापत असुल गरेको छ । सो अवधिमा कुल ९८ वटा फर्मलाई जरिवाना गरेको जानकारी गराएको छ । विभागले व्यवसायीलाई जरिवाना गरी असुल गर्ने कामलाई उपभोक्ता अधिकारवादीहरुले पैसा असुलीमै अनुगमन केन्द्रित गरेको आरोप लगाएका छन् । ‘विभाग नतिजामुखी सुधार भन्दा पनि पैसा उठाउनमा केन्द्रित भएको देखिन्छ’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘लकडाउनका बेला उपभोक्तामुखी हुनुपर्ने हो । त्यस्तो देखिएन ।’

तर, वाणिज्य विभागले भने उपभोक्ता अधिकारकर्मीहरुको आरोप निराधार भएको भन्दै आफ्नो बचाउ गरेको छ । विभागका अनुगमन निर्देशक सागर मिश्रले पैसा उठानमा मात्रै अनुगमन केन्द्रित नभएको भन्दै अनुगमनको नतिजा देखिएको दावी गरे । ‘उपभोक्ता अधिकारकर्मीहरुले भनेजस्तो पैसा उठाउनमै अनुगमन केन्द्रित होइन’ मिश्रले भने, ‘त्यसको नतिजा पनि देखिएको छ । पहिलेको जस्तो उजुरी अहिले विभागमा आउने गरेका छैनन् ।’

वाणिज्य विभागले चैत महिनायता गत मंगलबारसम्म कुल १ करोड ४८ लाख ७५ हजार रुपैयाँ जरिवानावापत संकलन गरेको छ । उक्त संकलन गरिएको रकम राजश्वस्वरुप सरकारी ढुकुटीमा जान्छ । पछिल्लो समय सरकारलाई राजश्व संकलनमा परेको अप्ठ्यारोको बेला सो रकमले राजश्वमा केही योगदान हुने निर्देशक मिश्रले बताए । विभागको विवरण अनुसार चैत महिनामा १८ लाख ४५ हजार रुपैयाँ, वैशाखमा ७९ लाख ६५ हजार रुपैयाँ, जेठ महिनामा ४१ लाख ९५ हजार रुपैयाँ र असार ९ गतेसम्म ८ लाख ७० हजार रुपैयाँ जरिवानावापत संकलन गरेको छ ।

विभागले चैत महिनायता गत मंगलबार सम्म कुल ३ सय ५५ फर्ममा अनुगमन गरेको छ । लकडाउन अवधिमा मात्रै विभागले २ सय २५ वटा फर्ममा अनुगमन गरेको छ । लकडाउन अवधिमा ९८ वटा फर्मलाई जरिवाना गरेको विभागले चैतयता मंगलबारसम्म १ सय २४  वटा फर्मलाई जरिवाना गरेको विभागको विवरणमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्ष २०७६÷०७७को साउन यता मंगलबार सम्म विभागले कुल १८ सय २३ वटा फर्ममा अनुगमन गरेको र ५ सय ७३ वटा फर्मलाई जरिवाना गरिएको जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ