arrow

अग्नी सिमेन्टका ओपीसी र पीपीसी दुबै ब्राण्ड मापदण्ड विपरित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १२ शुक्रबार
agni-cement.jpg

काठमाडौं। अग्नी सिमेन्टका ओपीसी र पीपीसी दुबै ब्राण्ड मापदण्ड विपरित रहेको पाइएको छ। नेपाल गुणस्तर तथा नाप तौल विभागले गरेको परिक्षणका क्रममा अग्नीका दुबै ब्राण्ड मापदण्ड विपरित रहेको पाइएका हुन्।

गुणस्तर तथा नापतौल विभागले दिएको जानकारी अनुसार ओपीसी ब्राण्डमा ३ दिनको कम्प्रेसिभ स्ट्रेन्थ (बलियोपनाको) मान १४ एमपीए निस्केको हो। उक्त मान मापदण्ड विपरित हो । नेपाल गुणस्तर नियमावली २०४०ले निर्धारण गरेको मापदण्ड अनुसार पीपीसी ब्राण्डमा ३ दिनको कम्प्रेसिभ स्ट्रेन्थ मानक १६ एमपीए हुनुपर्छ । त्यस्तै ७ दिनको कम्प्रेसिभ स्ट्रेन्थ मानक २२ एमपीए हुनुपर्छ । तर, ७ दिनको कम्प्रेसिभ स्ट्रेन्थ मानक २१ एमपीए रहेको पाइएको हो।

त्यस्तै ओपीसी ब्राण्डमा आइआर (रिसिडी)को मानक ७ दशमलव ६ प्रतिशत रहेको पाइएको हो। गुणस्तर मापदण्ड अनुसार उक्त मानक २ प्रतिशत मात्रै हुनुपर्ने हो।

अग्नी सिमेन्टको ओपीसी र पीपीसी दुबै ब्राण्ड मापदण्ड विपरित रहेको पाएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर नियमावली २०४० अनुसार अग्नी सिमेन्ट सञ्चालकलाई शुक्रबार स्पष्टिकरण दिन आग्रह गरेको छ। अब सिमेन्ट उद्योगले स्पष्टिकरण दिनेछ। चित्त बुझ्दो स्पष्टीकरण आएमा मात्रै बाँकी प्रक्रिया अगाडी बढ्ने गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए।

उनका अनुसार चित्त बुझ्दो स्पष्टिकरण नआएमा सिमेन्टको इजाजत स्थगन गरिन्छ। इजाजत स्थगन गरिएपछि सिमेन्ट विक्री वितरण गर्न पाइँदैन। ‘सिमेन्टको उत्पादन पुनः गरेर विभागमा जाँच गराएर मापदण्ड अनुसारको निस्केपछि मात्रै स्थगन गरिएको इजाजत फुकुवा हुन्छ’ उपमहानिर्देशक मिश्रले हाम्राकुरा डटकमसँग भने।

त्यसैगरी विभागले नवलपरासीको सर्वोत्तम सिमेन्ट प्रालीको ओपीसी ब्राण्ड पनि मापदण्ड विपरित रहेको फेला पारेको छ। नमुना संकलन गरी परिक्षण गर्दा विभागले सर्वोत्तम सिमेन्टको ओपीसी ब्राण्ड मापदण्ड विपरित रहेको पाएको हो। सिमेन्टमा आइआर को मानक २ प्रतिशत हुनुपर्नेमा सर्वोत्तम सिमेन्टमा ३ दशमलव ७ प्रतिशत रहेको परिक्षणका क्रममा पाइएको हो। उक्त सिमेन्ट उद्योगलाई पनि गुणस्तर नियमावली २०४० अनुसार स्पष्टीकरण सोधिएको विभागले जानकारी दिएको छ।

दुई सिमेन्ट उद्योगको इजाजत रद्द
त्यसैगरी गुणस्तर तथा नापतौल विभागले अन्य दुई सिमेन्ट उद्योगको इजाजत पनि रद्द गरिएको जानकारी दिएको छ। इजाजत पत्र स्थगन रहेको अवस्थामा विक्री वितरण गरेको भेटिएकाले विभागले बाराको रिलायन्स सुपरटेक सिमेन्ट र पर्साको इन्टरनेशनल सिमेन्ट उद्योगको इजाजत रद्द गरेको हो। यसअघि ती दुई सिमेन्ट उद्योगले मापदण्ड विपरित सिमेन्ट उत्पादन गरी विक्री वितरण गरेको भन्दै विभागले उक्त दुई सिमेन्ट उद्योगको इजाजत स्थगन गरेको थियो। इजाजत स्थगन भएको अवस्थामा विक्री वितरण गरेपछि शुक्रबार इजाजत नै रद्द गरिएको विभागका उपमहानिर्देशक मिश्रले बताए।

उद्योगीको ठग्ने नियत : उपभोक्ताकर्मी
मादिण्ड विपरित पाइएकोप्रति उद्योगीहरुले ठगी गर्ने नियत राखेको उपभोक्ता अधिकारकर्मीहरुले टिप्पणी गरेका छन्। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले उद्योगीहरुको ठगी गर्ने नियतका कारण उपभोक्ताले क्षति बेहोर्न परेको बताए। ‘अग्नी सिमेन्ट मात्रै होइन बजारमा प्राय सबै सिमेन्ट मापदण्ड विपरित रहेको छन्’ उनले हाम्राकुरासँग भने, ‘यो उद्योगीको नियत नै हो। सरकारले कारवाही गर्न पछि हट्नु हुँदैन। कडाईका साथ अनुगमन गरेर आवश्यक कारवाही गर्नै पर्छ।’

अग्नी सिमेन्ट भन्छ : ‘हामीलाई थाहा छैन’
त्यस्तै अग्नी सिमेन्टका सञ्चालक एवं सिमेन्ट उत्पदक संघका महासचिव तारा पोखरेलले गुणस्तर तथा नापतौल विभागले कुन अग्नी सिमेन्ट परिक्षण गरेको हो आफुलाई थाहा नभएको बताए। ‘विभागले मलाई पनि स्पष्टिकरण सोधेको छ। आइतबार स्पष्टिकरण दिन्छौं’ उनले भने, ‘विभागले कहिलेको नमुना परिक्षण गरेको हो। कहाँबाट नमुना लिएको थियो कुनै जानकारी गराएको छैन।’ उनले अग्नीको नाममा कुनै अरुले नै विक्री गरेका पो हुन् कि भन्ने आशंका गर्दै आफुले राम्रारी बुझिरहेको र त्यसपछि विभागमा स्पष्टिकरण पेश गर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ