सिमानामा उभिएर 

लिला अनमोल, प्रकाशित मिति : २०७७ असार १४ आइतबार

हो त्यहीँनेर ढल्यो 
मेरो सपनाको महल 
सिमाना बेचेर स्वार्थको माला लगाएपछि 
हो त्यहीँनेर लुटियो 
मेरो देशको अस्मिता  
तिमीले उस्कै घामको उज्यालोमा 
नाचेर छमछमी 
आवश्यकताको परिपूर्ति गर्यौ 
उस्कै लालचको सवारीमा सवार भएर 
सम्पन्नताको भ्रम बाँच्यौ 
मानेर हरपल उस्को तन्नेरी आदेश 
हरेक बाँझो निर्णयमा हस्ताक्षर गर्यौ 
र झुक्याएर पटक पटक मलाई 
स्वतन्त्रताको नाटक रच्यौ 
हो त्यहीँनेर पिल्लिएको छ मेरो देशको आँखा 
मेरो सहनशिलतालाई कमजोर ठानेपछि  
हो त्यहीँनेर पाछिएको छ मेरो देशको मुटु 
आज हाँस्दैन  निसङ्कोच मेरो हिमाल
सिमाना दुखेर मेचीकाली 
लिपुलेक रुँदैछ धर्धरी 
लिम्पियाधुराको शिरमा उम्रिएको  दुबो
अर्कै देशमा हरियो छरिरहेछ 
आज ढुक्कले घुम्दैन मेरो समयको काँटा 
र खोलाको लहरले स्वतन्त्रताको गीत गाउँदैन आज 
हो त्यहीँनेर भत्कियो मेरो एकताको बाँध 
तिमीले साटेर मेरो माटोको सुगन्ध 
उस्कै आँगन सुगन्धित बनायौ 
र खिया पारेर मेरो आशामा 
पराधिनताको धार लगायौ 
जब तिमीले कमजोर ठानेपछि आफूलाई 
उसँग सिद्धान्तको भिख माग्यौ 
र समस्याको समाधान गर्ने बहानामा 
विनाशको पैरो चलायौ 
हो त्यहीँनेर छाम्यो उस्ले मेरो देशको ढुकढुकी 
र नाकाबन्दी गरेर मेरो आबश्यकतालाई 
ठान्यो उस्ले मगन्ते 
त्यहिबेला उस्ले मेरो स्वभिमानमा 
तागतको शालिक ढड्यायो 
र लडाएर एक आपसमा 
अधिकारको नाटक मन्चन गर्यो 
र त यतिबेला ऊ
मेरै आँगनीमा होली खेलँु भन्छ रगतको 
र चुँडालेर सद्भावको डोरी 
ऊ युद्दको बेर्ना उमारुँ भन्छ 
दबाबको कोर्‍राले 
हिर्काएर मेरो देशलाई 
ऊ बनाउँ भन्छ घाइते 
र बिरामी बनाएर मेरो मानसिकता 
आफ्नै शासनको रजाइँ गरुँ भन्छ 
लादेर आफ्ना अरौटेहरु यहीँ 
जबर्जस्त मेरो देशको बनाउन खोज्छ 
र बहन गराएर पदीय जिम्मेवारी 
मलाई उपनिबेशको बनाउन खोज्छ 
तर खबरदार 
ढल्दैन मेरो स्वाभिमान
गल्दैन मेरो विश्वास 
डग्दैन मेरो एकता 
मेरो चन्द्र सूर्यको कसम 
अब म 
आगोमा पानी भएर होइन 
आगोमा आगो भएर दन्कनेछु
भाग सिमानाका फोहोरहरु
म झिल्को भएकी छु
खबरदार
डडाउँछु म छ्यणभरमै  ।।       
 (कबयत्री रेडियो बिराटकी प्रबन्ध निर्देशक हुन्)  
 

नयाँ