जापानद्वारा दक्षिण कोरियालाई जी७ को सदस्यता दिने अमेरिकी प्रस्ताव अस्वीकार
एएनआई,
प्रकाशित २०७७ असार १४ आइतबार
682
Shares
टोकियो। जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी७) को सदस्यता दिने प्रस्ताव अस्वीकार गरेको छ। राष्ट्रपति ट्रम्पले यस वर्षको जी७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रण गरेका छन्।
उनले जी७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर्फ असफल हुन लागेको तर्क गर्दै जी७ को सदस्यता विस्तार गर्न चाहेका छन्। राष्ट्रपति ट्रम्पको उक्त भनाई सार्वजनिक भएलगत्तै जापानको उच्च कुटनीतिक तहबाट जापानको धारणा दर्ता गरिएको जापानी समाचार संस्था क्योदोले जनाएको छ।
जापानसँगै दक्षिण कोरिया र भारतलाई जी७ को सदस्यता दिँदा एसियाली मुलुकहरुबाट एकमात्र सदस्य रहेको जापानको शाख गुम्ने जापानी धारणा छ। जी७ मा हाल जापान सहित क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र संयुक्तराज्य अमेरिका तथा युरोपेली युनियन सदस्य छन्। जी७ को वार्षिक सम्मेलन यसअघि जुनमा गर्नेगरी निर्णय भए पनि कोरोनाभाइरसका कारण उक्त सम्मेलन आगामी सेप्टेम्बरमा गर्ने तय भएको छ।