arrow

ऊ सर्वज्ञ हो !

logo
खेम प्रसाईँ 
प्रकाशित २०७७ असार १६ मंगलबार
khem-prasain.jpg

ऊ विज्ञ हो
ऊ मर्मज्ञ हो
ऊ सर्वज्ञ हो 
ऊ अहम्, उच्चताबोध र आत्मश्लाघाको दृष्टान्त हो ।
उसलाई लाग्छ, उसले जति समाज कसैले बुझेको छैन 
उसलाई लाग्छ, उसले जति विश्व कसैले पढेको छैन 
ऊ ठान्छ, ऊ आफैँमा एउटा विशाल इतिहास हो 
ऊ मान्छ, आफू महामानव र अरु सबै लघुमानव हुन् ।
ऊ अहमको एउटा प्रतिमूर्ति
दम्भको अलग नमुना
प्रतिशोध र प्रत्युत्पन्नताको एकमुष्ठ रुप

हो, ऊ विज्ञ हो
ऊ मर्मज्ञ हो
ऊ सर्वज्ञ हो 
ऊ जनसपनाको अभिभावक हो
उसका सपनाहरु उन्नत सपना हुन्
जुन आजसम्म सत्ताका शासकहरुले देखेका थिएनन्
त्यसैले ऊ आफूलाई स्वप्नद्रष्टा ठान्छ 
र तिनै सपनाको पहाडमा टेकेर आफ्नै सपनाको हत्यारा बन्छ ।

ऊ भुइँबाट उठेको मान्छे
आज भुइँदेखि आफैँ डराउँछ
आजसम्मका सत्तानायकहरुमध्ये उसले जति
भुइँलाई कसैले चिनेको छैन
तर आज ऊ भुइँदेखि बेखबर छ
मैदानका सपनाहरुको ढाडमा टेकेर उभिएको ऊ
पिँधको आवाजलाई ऊप्रतिको षड्यन्त्र देख्छ
सबैभन्दा धेरै सपनाको कुरा गर्ने पनि उही
सबैभन्दा धेरै सपनाको मजाक उडाउने पनि उही
ऊ आफैले देखेका र बोकेका सपनाहरुको भारले किचिएको पात्र हो 
  
उसले जानेको छ, जुन अरुले जानेका छैनन्  
उसले मानेको छ, जुन अरुले मानेका छैनन्
उसले ठानेको छ, जुन अरुले ठानेका छैनन्
ऊ आफ्नो अतीतदेखि डराउँछ
भविष्यका मीठा कल्पनामा भुल्याउँछ 
सबैभन्दा बढी सुशासनको कुरा गर्ने पनि उही
कुशासनको अब्बल दृष्टान्त पनि उही
मूल्य र आदर्शको बाँसुरी बजाउने पनि उही
गन्हाएकालाई सुनपानी र गंगाजल छर्कने पनि उही
कहरमा रहर पूरा गर्ने पनि उही
वाकपटुता उसको विशेषता
वाककटुता उसको कुरुपता
उसले त मन मिलाउने हो
उसले त फाटो सिलाउने हो
दुरी घटाउने हो 
सम्बन्ध जोड्ने हो 
सद्भाव र एकता बढाउने हो 
तर आज मन भाँडिदैछन् 
सद्भाव भत्किँदैछ
दुरी बढ्दैछ
सम्बन्ध चिसिँदैछ
जताततै उसकै तरंग छ
तर पनि उ दंग छ
उसको शब्दकोशमा विनम्रता र सहअस्तित्वजस्ता शब्दै छैनन्
उसले हार्दा समृिद्ध हार्छ, पुस्ता हार्छ अनि देश हार्छ
जनताले उसको जितको कामना गरेको छ
तर ऊ हार्ने बाटोमा अघि बढेको छ
ऊ विचारक र प्रचारक हो   
ऊ गीतकार र संगीतकार हो   
ऊ प्राज्ञ, डाक्टर, वैद्य आफै  हो
ऊ कवि पनि हो, इन्जिनियर पनि हो
उसमा सबै हुने रहर छ 
तर अहँ,
यो देशमा यी सबै थिए र  छन्
मेरो पुस्ताले खोजेको त राजनेता हो
देशलाई त्यसको रहर छ ।  

हल्दिबारी ,झापा
हाल भक्तपुर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ