arrow

जाजरकोटको दर्जनौं ठाउँमा पहिरो, घर बगाउँदा एक बेपत्ता एक घाइते 

स्थानीय तहमा बैंकिङ सेवा अवरुद्ध

logo
प्रकाशित २०७७ असार १६ मंगलबार
Jajarkot-hamrakura.jpg.jpeg

जाजरकोट । तीन दिनदेखि परेको अविरल वर्षाका कारण जाजरकोट जोड्ने मुख्य सडक अवरुद्ध भएको छ । बुधबार रातिदेखि अवरुद्ध भएको सडकमा दर्जनौं ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । 

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत छेडाबजार–खलङ्गा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन बीच बाटोमा रोकिएका छन् । भेरी नगरपालिकाको भुरचौरमा तीन ठाउँमा सडक भासिएको छ । 

त्यस्तै जाजरकोट–खलङ्गा–पाँचकाटिया हुँदै कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भार्मसम्म जोडने सडकसमेत अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण भत्किएको सडक कहिलेसम्म निर्माण हुन्छ भन्ने अनुमान लगाउन गाह्रो भएको प्रजिअ पन्तले बताए । 
 
उनले भने, “सडक डिभिजनका प्रमुखले सडक भत्किएको ठाउँमा गएर कामलाई तीव्रता दिनुभएको छ, जतिसक्दो छिटो निर्माण गर्ने तयारी छ ।” 

त्यस्तै जिल्ला प्रशासन कार्यालयको पर्खालसमेत भत्किएको छ । शिवालय गाउँपालिका–१ स्थित छेडाबजारमा पहिरो आउँदा तीन घर भत्किएका छन् । लगातार पानी परेपछि गाउँगाउँमा टेलिफोन टावर अवरुद्ध हुँदा सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।
 
एक शिशु बेपत्ता, एक घाइते
 
जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारागाउँको पाटेखोलामा सोमबार बिहान ४ बजे आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु पुरुषोत्तम वर बेपत्ता भएका छन् ।

यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज पठाइएको प्रजिअ पन्तले बताए। बिहानैदेखि सबै तहका सुरक्षाकर्मी खोजीकार्यमा खटिएका छन् । 

स्थानीय तहमा बैंकिङ सेवा अवरुद्ध

कुशे गाउँपालिकामा रहेको कृषि विकास बैंकमा इन्टरनेटले काम नगर्दा समस्या भएको छ । “आर्थिक वर्षको आखिर समयमा छौँ तर इन्टरनेट नचल्दा हामीलाई सेवा प्रवाहमा हम्मेहम्मे भएको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले भने । 

उनका अनुसार भारी वर्षाका कारण अहिले ४० प्रतिशत बजेट कार्यान्वयन गर्न मुस्किल हुने देखिन्छ । दुर्गममा यातायातका साधन सञ्चालन गर्न नसक्दा निर्माणका सामाग्री ढुवानी कार्य अवरुद्ध भएको छ । 

निर्माण सामग्रीसँगै खोला बढ्दा एक ठाउँबाट अर्को ठाउँ जान नसक्दा विकास निर्माणका कामसमेत ठप्प भएको हो । बिहान ६ देखि बेलुकी ९ बजेसम्म काम गर्दा पनि समय नपुगेको अधिकृत गिरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ