arrow

कोरोना प्रभावले व्यापार घाटामा सुधार, १६ प्रतिशतले घट्यो व्यापार घाटा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १६ मंगलबार
trade-deficit.jpg

काठमाडौं। कोरोना भाइरसको माहामारीको प्रभाव स्वरुप मुलुकको वैदेशिक व्यापार घाटामा सुधार देखिएको छ। कोरोना भाइरसको संक्रमण बढ्न नदिने भन्दै सरकारले गत चैत देखि गरेको लकडाउनको प्रभाव स्वरुप मुलुकको वैदेशिक व्यापार घाटामा समान्य सुधार देखिएको हो। चालु आर्थिक वर्ष २०७६-०७७को पहिलो ११ महिना (साउन–जेठ)मा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख १० हजार रुपैयाँ पुगेको छ।

यो व्यापार घाटा गत आर्थिक वर्ष २०७५-०७६को तुलनामा १६ दशमलव ४३ प्रतिशतले कमी हो। गत आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ११ अर्ब ९६ करोड ७७ लाख २६ हजार रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख ३० हजार रुपैयाँ बराबरको भएको भन्सार विभागले जानकारी दिएको छ। गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब ८७ अर्ब ६३ करोड ७६ लाख ६ हजार रुपैयाँ बराबरको भएको थियो। तुलनात्मक रुपमा पोहोरको भन्दा यस वर्ष नेपालको वैदेशिक व्यापारमा १४ दशमलव ३३ प्रतिशतले गिरावट आएको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा कुल आयात ११ खर्ब ८१ करोड ३४ लाख २० हजार रुपैयाँ बराबरको भएको छ। सो अवधिमा नेपालबाट अन्य मुलुकमा निर्यात भने ८८ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको भएको विभागको तथ्याङ्क छ।

सोही अवधिमा गत आवमा नेपालमा कुल १२ खर्ब ९९ अर्ब ८० करोड २६ लाख ६६ हजार रुपैयाँ बराबरको आयात र ८७ अर्ब ८३ करोड ४९ लाख ४० हजार रुपैयाँ बराबरको निर्यात भएको थियो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा नेपालको निर्यात व्यापारमा समान्य सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो ११ महिनामा भएको निर्यातको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा शुन्य दशमलव १९ प्रतिशतले नेपालको निर्यातमा वृद्धि भएको देखिन्छ।

कोरोना भाइरसबाट जोगिनका लागि विभिन्न मुलुकले गरेको लकडाउनका कारण ढुवानी तथा आवत जावतमा भएको कठिनाईका कारण व्यापारमा कमी आएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ