arrow

कोरोनाले चिन्ता बढाउँदै, नौ वर्षमुनिका बालबालिकामा संक्रमण बढ्दो

logo
प्रकाशित २०७७ असार १७ बुधबार
coronavirus-hamrakuras1.jpg

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।

एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्”, उनले भने ।

कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । 

मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५७३ महिला सङ्क्रमित छन् ।

“महिलाहरु पनि प्रायः श्रीमान्सँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्”, उनले भने, “समुदायमा महिला सङ्क्रमित सङ्ख्या न्यून छ ।” 

कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने ४७९ सङ्क्रमित निको भइसकेका छन् । यहाँ सबैभन्दा बढी कैलालीका ५९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशक डा अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने बताए । “डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम शुरु भइसकेको छ”, अवस्थीले भने, “सात–दश दिनमा सबै सामान आइसक्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ