arrow

चित्रको स्मरण र चरित्र विसर्जनको मार्गमा वर्तमान राजनीति 

सन्दर्भ गिरिजाबाबूको जन्मजयन्ती

logo
प्रमोदहरी गुरागाँई,
प्रकाशित २०७७ असार १८ बिहिबार
pramodhari.jpg

हरेक मानिसको जीवन एउटा लामो अनुभवहरुको संग्रह हो । केही अनुभवहरु कथा,  कविता, काव्य, इतिहास आदिको रुपमा लेखिन्छ । धेरै अनुभवहरु शरीर र आत्माको बिग्रह पश्चात् सकिन्छ । दार्शनिकहरु भन्छन् 'जीवन एक अज्ञातबाट अर्को अज्ञात सम्मको यात्रा हो।' व्यक्तिको व्यक्तिगत जीवन यही दुई अज्ञात बिचको दुरीमा सकिन्छ । मानिसले आआफ्नो जीवनकालमा छुट्टाछुट्टै किसिमको अनुभव र व्यबहार गर्ने अवसर प्राप्त गर्दछ । कसैलाई प्राप्त हुदैन बुद्ध, क्राइष्ट, गान्धी, विपी, गणेशमान, किसुनजी, गिरिजाबाबु, नेल्शन मण्डेला आदिको समकालीन समाजको साक्षी हुन्। कसैले प्रत्यक्ष अनुभव गर्छन् । कसैले इतिहास पढेर अनुमान गर्छन् ।

हाम्रो पुस्ताको राजनीतिको केन्द्रीय पात्र गिरिजाबाबू
हाम्रो पुस्तालाई अवसर प्राप्त भयो नेता गिरिजाप्रसाद कोइरालाको आदर्श र व्यबहारलाई नजिकबाट नियाल्ने । हाम्रो पुस्ता भन्दा झण्डै आधा शताब्दी पहिले जन्मिनुभएको गिरिजाबाबुको पर्दा पछाडिको जीवन इतिहास, पढेर मात्र जान्ने बिषय रह्यो । बिशेषतः बिसं २०४६ सालको जनआन्दोलनको सफलता, नेपाली कांग्रेसको सत्ता आरोहण आदि बिषयहरुमा गिरिजाबाबू केन्द्रीय पात्रहरु मध्ये महत्त्वपूर्ण पात्रको रुपमा रहनु भयो । बिसं २०५१ सालको मध्यावधि निर्वाचन, माओवादी जनहिंसा, शान्ति वार्ता, लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलन, सफलता र कार्यान्वयन सम्पूर्ण क्रान्तिको नेतृत्व गिरिजाबाबुले सम्हाल्नुभयो। संसदीय अंक गणित, संविधानसभा भित्रको अंक गणितमा नेपाली कांग्रेसको संख्या ठूलो सानो समयको माग र निर्णय थियो। तथापि नेपाली राजनीतिको केन्द्र र तरंग नेपाली कांग्रेसकै वरिपरि घुम्नुमा गिरिजाबाबुकै अनुभवी र विश्लेषणात्मक क्षमताको परिणाम थियो।

समाजले मानिसको सफलता र ऊँचाईलाई सत्तारुपी रूख चढ्नुमा मापन गर्दछ। यस दृष्टिमा गिरिजाबाबु रूखको टुप्पो, फेद र जराभन्दा पनि तल पुुगेको तर्क र अनुमान गर्ने कैयौं अवस्थाहरु सृजना भयो । रूख चढ्दैमा मानिस अग्लो र रूखबाट झर्दैमा मानिस होचो हुने मनोबिज्ञानलाई गिरिजाबाबुले स्विकार नगरेको ब्यवहारबाट प्रष्ट हुन्थ्यो । मानित त, मानिस हुन्छ । न ऊ अग्लो हुन्छ, न त होचो नै। मानिसको स्वतन्त्रता प्राप्तिको लागि निरन्तर कर्मजीवि र अविचलित यात्रिकोरूपमा स्थापित गिरिजाबाबुको 'राजनीतिक जीवनको वासलात ' सकारात्मक छ ।

चित्रको स्मरण र चरित्र विसर्जनको मार्गमा वर्तमान राजनीति 
प्रेम, समर्पण, श्रद्धा आदि आत्मिक विषय हो, आवरणीय होइन। शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले निरंकुश राणा बिरोधी आन्दोलनको बीज रोपे, प्रातस्मरणीय सहिद भए। वर्षमा एक दिन सहिदको भावपूर्ण स्मरण गर्ने र बाँकी दिन सहिद भावना विपरीत कार्य गर्ने गम्भीर अपराध हो। विपी , शुवर्ण शमशेर, गणेशमान, किसुनजी, महेन्दनारायण निधि, गिरिजाबाबु, सुशीलदा, मंगला मा, शैलजा आचार्य आदिलाई ऐन मौकामा दिमाग लगाएर स्मरण गर्ने तर उहाँहरुले निर्माण गरेको आदर्शलाई दिलबाट बिदा गर्ने कार्यले कांग्रेसीजनको अनुहार अझै कुरुप हुन्छ।

छिमेकी घर नेकपाले मदन भण्डारी, मनमोहन अधिकारी लगायतका नेताहरुको दिनानुदिन अपमान गरेकै छ। लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको नक्शाको निर्माण र संसदबाट सर्वसम्मतिले पारित गरे पश्चात् अझै जिम्मेवार बन्नुपर्ने प्रधानमन्त्री ओली कुटनैतिक मामिलामा गम्भीर त्रुटी गर्दैछन् । उनको कर्मले भारतसँग कटुता, चीनसंग निकटता र अमेरिकासंग नेपालको सम्बन्ध चिसिएको छ। भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन लाग्यो भन्ने पछिल्लो अभिव्यक्ति असंवैधानिक र नेपाली सार्वभौमिकता माथिको गम्भीर अपमान हो। 

नेतृत्व अरुले हिर्काउन प्रयोग गरेको ढुङ्गा जम्मा गरेर घर बनाउने योग्यताको पर्याय हो। हल्का फुल्का टिप्पणीमा  रमाउने चरित्र होइन । आलोचनालाई सम्पत्तिको रुपमा ग्रहण गर्ने ठूलो छाती हो। सत्तालाई साध्य बनाउने र सत्तामा पुग्ने साधनको पवित्रतामा ध्यान नपुर्‍याउनु वर्तमान राजनीतिको गम्भीर रोग हो ।

अबको बाटोः इतिहासको निर्मम समिक्षा र सकारात्मक सहयात्रको संस्कार

दोस्रो जनआन्दोलन २०४६ पछि केही सकारात्मक बिम्बहरु निर्माण भएका छन् । पञ्चायती ब्यबस्थाले झण्डै १२ अर्ब राजश्व छोडेको थियो । राजस्वमा करिब ६५ गुणाले बृद्धी भएको छ । सडक, बिधुत, संचार आदिको क्षेत्रमा सन्तोषजनक बिस्तार र पहुँच बढेको छ। शिक्षा, स्वास्थ्य, बित्तिय संस्था आदिमा संख्यात्मकसँगै गुणात्मक बृद्धी भएको छ। उल्लेखित कर्महरुले निश्चयनै केही रोजगारीको अवसर निर्माण भएको छ। उत्पादित जनशक्तिले केही मात्रामा भएपनि रोजगारी पाएका छन्। तर यो अत्यन्तै न्यून र अपुग छ। परिणाम कहालिलाग्दोरुपमा जनशक्ति बाहिरीने अवस्था बन्यो। वैदेशिक रोजगारीले पारेको सामाजिक साँस्कृतिक नकारात्मक प्रभावको गम्भीर समिक्षामा हामी पुगेनौं ।

परिस्थितिले कोल्टे फेर्यो । कोभीड १९ को विश्वव्यापी माहामारिले विश्व जगत आक्रान्त बन्यो । नेपाल यसबाट अछुतो रहन सकेन । तर दुर्भाग्य, हामीले निर्माण गरेको स्वास्थ्य संस्थाहरु बिरामीको औषधोपचारबाट पन्छिए। शैक्षिक संस्थाहरु बन्दाबन्दीको अवस्थामा पनि शुल्क लिने निर्णयमा पुगे । बिदेशबाट नागरिक स्वदेश फर्कदा दोब्बर भन्दा बढि भाडा तिर्न बाध्य भए । राज्यले लोककल्याणकारी चरित्र गुमाएको छ। राज्य न त सहयोग गर्न सक्छ, न त दण्ड दिने नैतिक हैसियतमा छ। राज्यको यस किसिमको अवस्था निर्माणमा हामी सबैको सहभागिता छ। स्विकार गर्न सक्नु पर्छ वर्तमान नेतृत्वहरुले जानेर वा अन्जानमा भएका गल्तीहरु।

बुद्धिजीवीहरु असहजतालाई सहजतामा रुपान्तरण गर्न लागि पर्छन् । अप्ठेरोलाई अवसरको रुपमा लिदै बदलिन्छन् र बदल्छन् । अब त स्विकार गरौं शिक्षा र स्वास्थ्य राज्यको पूर्ण जिम्मेवारी अन्तर्गत। उदार अर्थतन्त्रको आवरणमा शिक्षा र स्वास्थ्यको व्यवसायीकरण बन्द गरौं। राज्यको पूर्ण दायित्व अन्तर्गत शिक्षा र स्वास्थ्यलाई सम्बोधन गर्न नचुकौं । ढिलो नगरिकन ' रोटी कमाउन सक्ने ' अर्थात् ' शिपमूलक शिक्षामा ' बढावा दिउँ । यसको लागि राष्ट्रिय नीति निर्माण गर्न सर्वसम्मतको संस्कारको सहयात्रा संस्कृतिकोरुपमा निर्माण गर्नै पर्दछ। नभुलौं, फरक परिचयको खोजी भन्दा अघि हाम्रो परिचय नेपाली हो।

अन्त्यमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतान्त्रिक शासन पद्धतिमा मात्र नागरिक आवाजहरु प्रस्फुटन हुने अवसर प्राप्त हुन्छ। लोकतान्त्रिक चरित्र व्यबहारले निर्धारण गर्दछ । निलाम्बर आचार्यको शब्द सापटी लिदै 'गिरिजाबाबुको अनुपस्थितिले एउटा जाने ठाउँ छ, भन्ने ठाउँ छ, सुनाउने ठाउँ छ अर्थात साझा सम्मानित मार्गदर्शकको अभाव नेपाली राजनीतिमा रहिरहनेछ।' समयले माग गरेको छ। बहुदलीय प्रतिष्पर्धामा, ठूलो दलले संवैधानिक तवरमा देश संचालन गर्ने हो। जरुरी छ, देशको कार्यकारी नेतृत्वले सम्पूर्ण नागरिकको आवाज सुन्ने र सम्बोधन गर्ने, लोकतान्त्रिक चरित्रको।

( गुरागाई नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य हुन्।)



नयाँ