arrow

बैंकको किस्ता तिर्न सक्दैनौं, तालाचावी बुझाउँछौं – यातायात व्यवसायी

logo
हरि पन्त, 
प्रकाशित २०७७ असार १८ बिहिबार
yogendra-bdr-kc.jpg

पोखरा । यातायात व्यवसायीले आफ्ना सवारी साधनको बैंक कर्जाको किस्ता र व्याज तिर्ने समयसीमा बढाइदिन आग्रह गरेका छन् । 

यसअघि पनि यस विषयमा पटक–पटक आवाज उठाउँदा आफूहरूको माग कतैबाट पनि संवोधन हुन सकेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । 

साथै उनीहरूले समयसीमा नथपिदिए सबै सवारी साधनको कागजपत्र र तालाचावी सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई नै बुझाउने चेतावनी दिएका छन्् । 

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले बुधबार पोखरामा पत्रकार भेटघाट गरेर यस बारेमा जानकारी गराएको हो । 

कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले कर्जाको किस्ता तिर्ने म्याद थप्ने वातावरण बनाईदिनका लागि पटकपटक आग्रह गरे पनि वेवास्ता गरेकाले बाध्य भएर तालाचावी बुझाउने निर्णयमा पुगेको जानकारी दिए । 

‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पटक–पटक पहल गर्दा पनि माग संबोधन भएन’, ‘उनले भने, ‘कोरोना महामारी र लकडाउनका कारण सवारी साधन चलाउन नपाएर ग्यारेजमै थन्काएर बसिरहेका छौं ।’

अध्यक्ष केसीले यस्तो बेलामा पनि बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीलाई कर तिर्न बाध्य बनाउने, मानसिक तनाव दिने कार्य जारी राखेको भन्दै कर्जाको किस्ता तिर्न नसक्ने भएकाले बरु तालाचावी नै बुझाउने निर्णय गरेको स्पष्ट पारे । 

असार २१ गतेबाट बसका तालाचावी संकलन गर्न शुरु गर्ने र २२ गतेदेखि सम्बन्धित वैंक तथा वित्तीय संस्थालाई बुझाउन शुरु गरिने उनले बताए । तालाचावी बुझाइएका सवारीसाधन केही भएमा सोही बैंक तथा वित्तीय संस्था नै हुने उनले बताए । 

कम्पनीका संस्थापक अध्यक्ष ऐनकुमार साईले कर्जाको किस्ता तिर्न वैंक तथा वित्तीय संस्थाले गरेको ताकेताका कारण व्यवसायीहरु आत्महत्या गर्न बाध्य हुने स्थिति आएको बताए । 

उनले तत्काल लकडाउन खुलिहाले पनि ग्यारेजबाट गाडी निकालेर सर्भिसिङ गर्न १ देखि २ लाख लाग्ने भन्दै सो कार्य गर्न पनि व्यवसायीसँग पैसा नभएको स्पष्ट पारे । 

‘एक हप्ताका लागि भनेर हामीले गाडी ग्यारेजमा थन्कायौं’, ‘उनले भने, ‘तर यो त बढ्दै गएर ४ महिना पुग्न लाग्यो, अहिले गाडीमा खिया लागेर जाम भएको छ । अब गाडी ग्यारेजबाट निकाल्न मात्र पनि २ लाखसम्म लाग्छ । त्यसका लागि चाहिने पैसा पनि हामीसँग छैन । बैंकलाई तिर्ने त परको कुरा भो ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी केशव अधिकारीले बैंकले किस्ता तिर्न बाध्य पार्नका लागि अनेक तिकडम गरिरहेको भन्दै दुःखेसो पोखे । 

यातायात व्यवसायीको कुरा बोल्ने कोही नभएको भन्दै उनले भने, ‘न सांसदले हाम्रो बारे कुरा उठाए, नत मन्त्री वा सरकारले नै ।’ बैंकले एक महिनाको ब्याज मिनाहा दिने, गाडीको सट्टा जग्गा धितो राखेर किस्ता पुनर्तालिकीकरण गरिदिनेलगायतका प्रस्ताव गरेर व्यवसायीलाई फँसाउने र बिल्लीबाँठ पार्ने षडयन्त्र गरिरहेको उनले आरोप लगाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ