arrow

कोरोना संक्रमितलाई निको भएपछि आइसोलेसन र क्वारेन्टिन खाली

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
corona-isolation-wards.jpg

मनाङ । हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टिन खाली भएको छ । कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ । 

मनाङमा भेटिएका एक मात्र सङ्क्रमित सोमबार निको भएर घर फर्किएसँगै यस जिल्लामा अन्य सङ्क्रमित फेला परेका छैनन् ।
 
कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको ११औँ दिनमा उनी घर फर्किएका हुन् । जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । 

एघार दिनको उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचार्यले बताए । 

कपिलवस्तुको वाणगङ्गा स्थायी घर भई मनाङमा कार्यरत ५७ वर्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो । अहिलेसम्म मनाङमा अन्य कुनै पनि मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छैन । 

यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ । मनाङमा ३० जनाको पिसीआर परीक्षण गरिएकामा एक जनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए ।
 
हालसम्म मनाङमा १६७ जनाको आरडिटी परीक्षण गरिएको छ । मनाङमा निर्माण गरिएको ९३ श्यया क्षमताको क्वारेन्टिन र सात श्ययाको आइसोलेसनमा हाल कोही पनि नभएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । 

मनाङमा निर्माण गरिएका सबै आइसोलेसन र क्वारेन्टिन अहिले खाली छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ