arrow

श्रम स्वीकृति खुल्यो, यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णय

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
Yubraj-Khatiwada.jpg

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणका कारण स्थगित गरेको श्रम स्वीकृत दिने कामलाई पुनः शुरु गर्ने भएको छ ।  मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो । 

सरकारका प्रवक्तासमेत रहनु भएका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाका अनुसार बिदामा नेपाल आएका तथा प्रवेशाज्ञा अवधि र करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिइने भएको छ । 

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ “यस पूर्वको अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञासमेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएका कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलसमेतको आधारमा पुनः स्वीकृति जारी गरिने भएको छ । 

यस्तै कोरोना महामारीका सम्बन्धमा सरकारले गत जेठ १८ गते जारी गरेको संक्रामक रोग ऐन, २०२० बमोजिमको आदेशलाई आगामी साउन ६ गते मङ्गलबारसम्मका लागि निरन्तरता दिइने भएको छ । 

यस्तै कोरोना संक्रमणको जोखिमको विश्लेषणका आधारमा जिल्लामा सङ्कट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी जिल्लाको सम्पूर्ण भूभाग वा कुनै क्षेत्रमा बन्द गराउन वा सील गर्नसक्ने व्यवस्था गरिएको छ । 

अन्तर्राष्ट्रिय सीमामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी आगामी साउन ६ गतेसम्म निरन्तर रहने भएको छ । सरकारको आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसलाई लुकाउने कार्य गरेमा प्रचलित कानूनबमोजिम कारवाही गरिने भएको छ । 

यस्तै नेपाल आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकका विदेशी राहदानी वाहक सन्तान, नेपाली नागरिकको विदेशी राहदानी वाहकलाई नेपाली नियोगको सिफारिसमा नेपाल आउन स्वीकृति दिइने भएको छ । 

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन तथा प्रस्थानमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा वायु सेवा कम्पनीका कर्मचारीलाई मास्क, स्यानिटाइजर र पञ्जा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराउनुपर्ने भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुलाई विभिन्न होल्डिङ सेन्टरसम्म लैजान नेपाली सेनाका सवारी साधन प्रयोग गर्ने र सोका लागि आवश्यक इन्धन खर्च नेपाली सेनालाई उपलब्ध गराउने निर्णयसमेत भएको मन्त्री डा खतिवडाले जानकारी दिए । 

सरकारले कोरोनाको रोकथाम, नियन्त्रणका लागि जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएको ठहर गर्दै खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने कार्यको पूर्ण पालना गरी सहयोग पुर्‍याउन सरकारले सबै नेपालीलाई आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ