arrow

पञ्चाङ्गअनुसार यस्तो छ आजको दिन र राशिफल

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ असार १९ शुक्रबार
rashifal-horoscope.jpg

आजको पञ्चाङ्ग
आज मिति २०७७ आषाढ १९ गते शुक्रबार, इस्वी संवत जुलाई ३ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढ शुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढ शुक्लपक्षको त्रयोदशी तिथि रहनेछ । आज ज्येष्ठा नक्षत्र, विष्कुम्भादि योगमा शुक्ल, करणमा गर, आनन्दादि योगमा गर रहने छ । 

सूर्य मिथुन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३४ घडी २८ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दूमा रही बिहान ठीक ५ बजेर १४ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त बेलुकी ठीक ७ बजेर २ मिनेटमा हुनेछ । 

आजको राशिफल

मेषः समय खराब रहनेछ । मनमा संकुचित विचार बढ्न सक्ने तथा कसैसँग मनमुटाव हुन सक्ने पनि सम्भावना छ, ख्याल पुर्याउनु होला । पारिवारिक भार बढ्न सक्ने एवं अभाव खट्किन सक्ने देखिन्छ । केही असन्तुष्टिको सामना गर्नपर्ने हुनसक्छ, संघर्ष तथा अपयशसँग जुध्नका लागि आत्मबल बढाउनु पर्नेछ । काममा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । 

वृषः स्वास्थ्य राम्रो रहनेछ । दाम्पत्य एवं भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिंगीको सहयोग मिल्ने तथा प्रेमसम्बन्ध बलियो हुनेछ । यात्राकर ग्रहयोग परेकोले देश विदेशको यात्रा हुन सक्ने सम्भावना पनि देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्न सक्नुहुनेछ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवं मानसिक शान्ति मिल्नेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ । 

मिथुनः समय शुभ रहनेछ । अवसरको सदुपयोग गर्न सकेको खण्डमा अनुकूल एवं सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा आरोग्यता प्राप्त हुने तथा कान्तिमा बृद्धि हुनेछ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । विरोधीपक्षसँग आफ्नो पक्षमा सम्झौता गर्न सकिने छ ।

कर्कटः समय भरपर्दो रहनेछैन । सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्नेछ । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्न सक्ने छ । आयमा मन्दी आउने तथा सञ्चित धन खजानाको खर्च हुने, अस्वस्थता बढ्न सक्ने आदि कुरालाई पनि गोचरले लक्षित गरिरहेको छ । तथापि खासै नसोँचेको विषयको काम बनेर आकस्मिक लाभ तथा उपलब्धि हात पर्नसक्ने कुरालाई पनि गोचरले दखाइरहेको छ ।

सिंहः समय खराब छ । बोलिचाली एवं जनव्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन हुनसक्ने छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या देखिन सक्ने देखिन्छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै योजनामा नपरेको काम बनेर केही राहत भने मिल्न सक्नेछ । अप्रत्यासित उपलब्धि हातपार्न सकिने सम्भावना छ । तपाईलाई आज कुमारीदेवीको श्रद्धा भक्ति एवं उपाशना गर्नु हितकर हुनेछ ।

कन्याः समय शुभ छ । मानसम्मान प्राप्त हुने र व्यापार व्यवसाय एवं जागिर आदि पेशाको क्षेत्रमा अनुकूलता सृजना हुनेछ । समाज सेवाका कार्यमा ग्रहले राम्रो बल दिइरहेको देखिन्छ । सम्भावना हराइरहेका केही कामको सम्भावना पनि भेटिन सक्ने छ । समयको अनुकूलतालाई बुझेर राम्रो कार्यमा सदुपयोग गरी विशिष्ट दर्जा एवं पक्षका व्यक्तित्वसँग महत्वपूर्ण उपलब्धि लिन सकिनेछ । राज्यको क्षेत्रबाट पनि आज काम लिन सक्नुहुनेछ । आज तपाईले भगवान गुरु गणपतिको दर्शन भक्ति गर्नु शुभप्रद हुनेछ ।

तुलाः समय अत्यन्तै खराब छ । बोलीवचनको अपव्याख्या हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न, ख्याल गर्नुहोला । धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुन सक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवं समाजिक सेवामा संलग्न हुने मौका मिल्न सक्ने छ । नाता–कुटुम्बबीचको सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । आज हनुमानदेवको भक्तिभाव गर्नु शुभकर हुनेछ ।

वृश्चिकः समय अत्यन्तै शुभ छ । व्यवहारिक कुशलता बढ्नाले मान्छेहरुको ध्यानाकर्षण गर्न सकिने गोचर परेको छ । मानप्रतिष्ठा बढ्ने र मिठो खानेकुरा प्राप्ति हुन सक्नेछ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्न सक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताका लागि दृढताको साथमा अगाडि बढ्न सक्नुहुनेछ । सामाजिक जिम्मेवारी पनि थपिन सक्नेछ । 

धनुः समय खराब छ । मनमा विना कामका चिन्ताले सताउनेछन् । आपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ । आज सकेसम्म पश्चिम दिशाको यात्रा नगर्नुहोला ।
 
मकरः समय अनुकुल रहनेछ । पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्न सकिने छ । व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्न सकिने छ । सांसारिक पुरुषार्थ गर्न पनि सक्नुहुने छ । यात्रा योजना एवं नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ । आँटेको काममा थप आत्मबलको साथमा अघि बढ्दा हुनेछ । 
 
कुम्भः समय मध्यमखालको रहनेछ । पराक्रम बढ्ने हुनाले पुरुषार्थकर रहनेछ । शारीरिक जोश जाँगर बढ्ने हुनाले रोकिएर रहेका काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवं भाइबहिनीसँगको सहकार्यबाट उपलब्धि गर्न सकिने छ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ ।

मीनः समय खराब रहनेछ । स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन ।

साइतः आज चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार हो पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादी बेला 
बिहान ५ः१४ बजेदेखि         ६ः४४ बजेसम्म        चर बेला
बिहान ६ः४४ बजेदेखि         ८ः१४ बजेसम्म        लाभ बेला
बिहान ८ः१४ बजेदेखि         ९ः४४ बजेसम्म        अमृत बेला
बिहान ९ः४४ बजेदेखि        ११ः१४ बजेसम्म        काल बेला
बिहान ११ः१४ बजेदेखि        १२ः४४ बजेसम्म        शुभ बेला
मध्यान्ह १२ः४४ बजेदेखि      २ः१४ बजेसम्म        रोग बेला
दिउँसो २ः१४ बजेदेखि        ३ः४४ बजेसम्म        उद्धेग बेला
दिउँसो ३ः४४ बजेदेखि        ५ः१४ बजेसम्म        चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय बिहानमा १०ः३० देखि मध्यान्ह १२ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ