arrow

जीतपुरसिमरा नगरपालिकामा भष्टाचार बढेको भन्दै कांग्रेसले बुझायो ज्ञापनपत्र

पर्ख र हेरको समय समाप्त भयो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १९ शुक्रबार
nc-jitpur-simaraha.jpg

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकामा भ्रष्टाचार बढिरहेको भन्दै नेपाली कांग्रेसले शुक्रबार नगर कार्यपालिकामा ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेस नगर सभापती श्यामबाबु गुप्ताको नेतृत्वमा पुगेको कांग्रेस नेता कार्यकर्ताको टोलीले जीतपुरसिमरा नगर कार्यपालिकमा पुगी नगर प्रमुख डा. कृष्ण पौडेललाई ज्ञापन पत्र हस्तान्तरण गर्दै नगरलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरेको हो।

बाराका अधिकांस पालिकाहरुले नगर सभा सम्पन्न गरिसक्दा जीतपुरसिमरा उपमहानगर भने आन्तरिक कलह र बिवादमै फस्नुले समग्र उपमहानगरवासीमा नैरास्यता पैदा भईरहेको भन्दै कांग्रेसले तत्काल आर्थिक बर्ष २०७७/०७८ को वास्तविक आय‐व्यय बिवरण पेश गर्दै नगर सभा सम्पन्न गर्न अपिल गरेको छ ।

स्थानिय तह संचालन ऐनको परिच्छेद १० को ७१ मा राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालीकाबाट स्वीकृत गराई असार १० गते भित्र सभामा पेश गर्नुपर्ने कानुनी ब्यवस्था भए पनि त्यसलाई उलंघन गरेको  भन्दै चालु आर्थिक बर्षको संशोधित अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम, आय व्ययको अनुमानित बिवरण र मध्यकालिन खर्च संरचना समेतको बिवरण खुलाई तुरुन्त नगर सभा गर्नुपर्ने बिज्ञप्तीमा आग्रह गरिएको छ ।

नगरका वडाहरुमा बिकास बजेट ८० प्रतिशतको हाराहारीमा खर्च गर्न सफल भएपनि नगरको बजेट २५ प्रतिशतको हाराहारीमा खर्च गरेकोप्रति काँग्रेसले बिरोध गरेको छ। कांग्रेसले वडाको बिकास बजेट बिनियोजन गर्दा भौगोलिक अवस्था, जनसंख्याको आकार र भु वनावटको आधारमा बिनियोजन गर्नुपर्नेमा हचुवाको भरमा र दुई तिहाईको दम्भमा मनोमानी बिनियोजन गर्न खोजेकोप्रति कडा आलोचना गरेको छ । बिज्ञप्तीमा वैज्ञानिक आधार र मापदण्ड निर्धारण गरी वडागत बजेट बिनियोजन गर्न आग्रह गरिएको छ ।

ऐतिहासिक जनआन्दोलन २०६२/६३ को परिवर्तन पश्चात पहिलो स्थानिय निर्वाचनबाट चुनिएको दुई तिहाईको सरकारले निर्वाचनमा जनताको घर आँगनमा बाँडेका सपनाहरुलाई पुरा गर्न नसकेको बिज्ञप्तीमा आरोप छ ।

कांग्रेसले नगरको सडक सञ्जालमा ब्यापक अनियमितता भएको आशंका गर्दै गत आर्थिक वर्षको बिकास बजेटको खर्च सार्वजनिक गर्न समेत माग गरेको छ । कांग्रेस नगरसमितिले विभिन्न ८ सुत्रिए माग समेत राखेको छ। 

बिज्ञप्तीमा मेयरले चुनाबी अभियानमा जनतालाई भ्रम छरेको भन्दै चुनावी नारालाई कार्यान्वयमा ल्याउन नसकेकोप्रती आलोचना गरेको छ। आगामी दिनमा जनताको सपनालाई कार्यान्यवन गराउन कांग्रेसले सशक्त अभियान संचालन गर्ने उल्लेख छ ।

यसैगरी नगरमा संचालन गरिएको कोरोना अस्पतालको खर्च बिवरण समेत सार्वजनिक नगरिएकोप्रती कांग्रेसले भत्सर्ना गरेको छ । नगरमा संचालनमा रहेको ठूला उद्योगका प्रदुषण न्युनिकरणका लागी पनि कांग्रेसले स्थानिय सरकारलाई खवरदारी गरेको छ ।

नगरको न्यायपालीका कमजोर भएको प्रति दुःख ब्यक्त गर्दै कांग्रेसले नगरको न्यायपालीकालाई निकम्माको संज्ञा दिएको छ । काँगेस नगर सभापनी श्याम बाबु गुप्ताले अब पर्ख र हेरको समय समाप्त भएको भन्दै खवरदारीलाई सशक्त ढंगबाट अगाडी बढाइने जानकारी दिए । उनले दुई तिहाईको सरकारले जनतालाई भ्रम छरेको आरोप लगाएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख पौडेलले नेपाली कांग्रेसले उठाएका सवालहरुमा आफू गम्भिर हुने बताएका थिए । नगरका गतिविधिहरुमा चासो देखाएर सचेत बनाउने काम गरेको भन्दै नगर प्रमुख पौडेलले कांग्रेस नगर सभापति गुप्ता सहित सबैलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

यस्तै ध्यानाकर्षण पत्र बुझाउनुको उद्देश्यका विषयमा शुक्रबारनै काँग्रेस जीतपुरसिमरा उपमहानगर कमिटीले सिमरामा पत्रकार सम्मेलन समेत गरेको थियो । पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिंदै नगर सभापति गुप्ताले उपमहानगरका गतिविधिहरुलाई तीनवर्षसम्म नजिकबाट नियालेको र अहिले वेथिती ह्वातै बढेकाले आफूहरु बोल्नु परेको बताए । ‘हामी तीन वर्ष चुप लाग्यौँ, अब सहन सक्ने अवस्था नै रहेन,अब हामीले खवरदारी गरेनौँ भने उपमहानगरको अवस्था पुरै नाजुक हुनेछ’ सभापति गुप्ताले भने ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद शोभाकर पराजुली, प्रदेश सभा सदस्य शोभा लामा, काँग्रेस जीतपुरसिमराका कृष्णव्रत सिंह, नारायणी रायमाझी, हरि थपलिया, सुशील ढोंडारी, काँग्रेसका युवा कार्यकर्ता रविन श्रेष्ठ, अन्य सुभेच्छुक युवा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ