काठमाडौं। काठमाडौं महानगरपालिकाको मेरूदण्डको रूपमा रहेको राजश्व विभाग गत बैशाख १२ गतेको विनाशकारी भूकम्पको कारण मालपोत कर, जग्गा कर, कर बहाल कर लगायतका अधिकांश शीर्षकको वार्षिक वृद्धिदर नकारात्मक भएपनि महानगरको आन्तरिक आय शीर्षकमा असुली हुने रकम मात्रैको कारणले समग्र महानगरको राजश्व बृद्धिदरले नकारात्मक अंक भेट्नु नपरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
सामान्यतयाः काठमाडौं महानगरपालिकामा आम्दानी हुने राजश्व मध्ये धेरै राजश्व संकलन हुने क्षेत्रलाई छुट्टाछुटै देखाउने भएपनि जन्मदर्ता सिफारिस, मृत्यूदर्ता सिफरिस, नागरिकता सिफारिस लगायतका सानातिना शीर्षकमा उठाईने करलाई काठमाडौं महानगरपालिकाले अन्य आन्तरिक आयको रूपमा उल्लेख गर्नेगरेको छ।
उक्त आयले अघिल्लो आर्थिक वर्षमा महानगरको कूल आयको जम्मा २५ दशमलव ०१ प्रतिशत हिस्सा ओगटेको थियो। तर, त्यही शीर्षकको आयमा चालू आर्थिक वर्षमा २८ दशमलव ६५ प्रतिशत हिस्सा ओगटेको छ। तर, रमाइलो कुरा के छ भने काठमाडौं महानगरपालिकाले छुट्टाउने सात शीर्षक मध्ये ६ वटा शीर्षकमा अघिल्लो वर्षको तुलनामा नकारात्मक बृद्धिदर बेहोरिरहँदा पनि सकारात्मक रहेको आन्तरिक आयको २५ प्रतिशत हिस्साकै कारण कूल बृद्धिदरमा नकारात्मक भार बेहोर्नु नपरेको कामपाको तथ्याङ्कले देखाएको छ।
काठमाडौं महनगरपालिकाको आर्थिक वर्ष २०७१-७२ को चैत मसान्त र २०७२-७३ को चैत मसान्तसम्मको संकलित राजश्वको तुलनात्मक अध्ययन गर्दा मालपोत बापत असुली हुने रकममा अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापक गिरावट आउँदै चालू आर्थिक वर्षमा ५१ लाख १६ हजार ५३ रूपैयाँ मात्रै असुली गर्न सकेको छ।
भूकम्पका कारण मालपोतबाट असुली हुने रकममा १५ दशमलव ७६ प्रतिशतले कमि आएको छ। यो सँगै बृद्धिदर नकारात्मक हुनेमा घरजग्गा कर बापतको राजश्व ३ दशमलव ५ प्रतिशत, घर बहाल कर बापतको राजश्वमा ३ दशमलव ४९ प्रतिशत, व्यवसाय कर बापतको राजश्वमा ३ दशमलव ६६ र सवारी कर बापतको राजश्वमा २२ दशमलव १६ प्रतिशतको कमि आएको कामपाको तथ्याङ्कले देखाएको छ।
सरकारले दिने अनुदानमा समेत यो वर्ष कमि आएको छ। अघिल्लो वर्ष ५५ करोड ६३ लाख ५५ लाख एक सय ७२ रूपैयाँ अनुदान पाएको कामपाले यो वर्ष ५३ करोड ४५ लाख ६४ हजार ५ सय ५६ रूपैयाँ प्राप्त गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ३ दशमलव ९२ प्रतिशतले कमि आएको हो। आफूले खर्च गरेर सोध भर्ना गरेर पैसा असुली गर्ने प्रचलन रहेको हुँदा भूकम्पका कारण धेरै काम गर्न नसकेपछि सरकारले दिने रकममा पनि कमि आएको राजश्व विभागका ध्रुव काफ्लेले जानकारी दिए।
यो सबै जोड्दा यो वर्षको कामपाको कूल आर्थिक आम्दानीको बृद्धिदर एक दशमलव ६ प्रतिशतमा सीमित भएको छ।