arrow

पार्टीको किचलोले लोकतन्त्रको उपहास भएको नेकपा रुपन्देहीका कार्यकर्ताको ठहर

logo
नारायण वली,
प्रकाशित २०७७ असार २१ आइतबार
ncp-butwal.jpg

रुपन्देही। नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक किचलोले सत्तापक्षका एकथरी सडकमा गएर जुलुस निकाल्नु लोकतन्त्रको नै उपहास भएको रुपन्देहीको भैरहवा क्षेत्रका स्थानीयस्तरका नेकपा पार्टीका नेता तथा कार्यकर्ताहरुले टिप्पणी गरेका छन्। 

पार्टीको आन्तरिक विषयलाई विवादको रुपमा सडकमा ल्याएर प्रर्दशन गर्दा पार्टीको उपहास हुने भन्दै उनीहरुले आन्तरिक रुपमा छलफलको माध्यमबाट नै सुझाउन खबरदारी गरेका थिए। ‘तिमी पार्टी मान्दैनौ ? पार्टी नमान्नेलाई हामी नेता मान्दैनौ’, ‘ पार्टी एकता जिन्दावाद’ र ‘व्यक्ति भन्दा पार्टी ठूलो हो’ जस्ता पम्पलेट वोकेका थिए। नेकपाका कार्यकर्ताहरुले पार्टीका शिर्ष नेताहरुले विधिको पालना नगरेकोप्रति आक्रोश पोखेका थिए।

साथै उनीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही शिर्ष नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थका कारण पार्टी एकता संकटमा परेको भन्दै, शिर्ष नेताहरुलाई विधि र पद्धति अनुसार पार्टी सञ्चालन गर्न आग्रह गर्दै, रुपन्देहीको भैरहवामा आईतवार शिर्ष नेताहरुलाई दवाद दिएका हुन्। 

राष्ट्रिय युवा संघका नेता तथा नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियूले) भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा धर्ना दिदै व्यक्तिगत हठका कारण पार्टीको एकता नै संकटमा परेको ठहर गरेका छन् ।

यही असार १० गतेदेखि चालू स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् । साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषय पनि नेकपामा विवादित बनेको छ ।

संसद् स्थगित भएको स्थितिमा राजनीतिक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्युँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन्। अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शविना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका छन् । 

यही असार १४ गते मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक  र कालापानीसहितको नक्शा जारी गरेवापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भए पनि नक्शा छापेवापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिएका थिए। 

स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसिसी कम्प्याक्ट(सम्झौता) लगायत कार्यसूची छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ