एनएमबीद्वारा कञ्चन डेभलपमेन्ट बैंक प्राप्तिको प्रस्ताव पारित
प्रकाशित २०७७ असार २१ आइतबार
755
Shares
काठमाडौं। एनएमबी बैंक लिमिटेडको आज सम्पन्न विशेष साधारणसभाले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ।
कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाका आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात १०० : ८५ लाई विशेष साधारण सभाले स्वीकृत गरेको छ।
अब कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले उक्त बैंकका १०० कित्ता बराबर एनएमबी बैंक लिमिटेडका ८५ कित्ता शेयर प्राप्त गर्नेछन्। सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति बनाएको बैंक प्राप्तिपछि एनएमबी बैंकको चुक्ता पुँजी रु. १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ रु सात अर्ब पाँच करोड पुग्नेछ।
कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न सहज भएको र त्यसबाट ग्रामीण तथा शहरोन्मूख क्षेत्रमा दिगो वित्तीय सेवा उपलब्ध गराउन मद्दत पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए।