arrow

एनर्जी ड्रिङ्कले लिन सक्छ ज्यान

logo
प्रकाशित २०७७ असार २२ सोमबार
energy-drinks-dangers.jpg

काठमाडौं । केही वर्षअघि १८ वर्षीय आइरिस खेलाडी रोज कोनेको एक कम्पनीको एनर्जी ड्रिङ्क पिउनेवित्तिकै मृत्यु भयो । उनले बास्केटबल खेलेपछि चार क्यान एनर्जी ड्रिङ्क पिएका थिए । फ्रेन्च साइन्टिफिक कमिटीले त्यसमा अत्यधिक मात्रामा क्याफिन भएको निष्कर्ष निकालेको थियो। त्यसपछि फ्रान्सले त्यो एनर्जी ड्रिङ्कलाई प्रतिबन्ध लगायो। नर्वेले पनि केही वर्ष त्यसलाई प्रतिबन्ध लगाएको थियो ।

बेलायतले अनुसन्धान गरी सो एनर्जी ड्रिक गर्भवतीका लागि सुरक्षित नभएको चेतावनी दिएको थियो । तर नेपालमा त्यस्ता एनर्जी ड्रिङ्क सहजै उपलब्ध छ। अहिले सायद सबैभन्दा बढी प्रचार पनि यही एनर्जी ड्रिङ्कको भइरहेको छ। सरकारले यसबारे कुनै अध्ययन गरेको प्रकाशमा आएको छैन ।

सन् २००८ मा बेलायतका कतिपय स्कुल नजिकका पसलेसँग विद्यार्थीलाई एनर्जी ड्रिङ्क बिक्री नगर्न आग्रह गरिएको थियो । यसबाट विद्यार्थीको ध्यान केन्द्रित गर्ने क्षमतामा विचलन आउने उनीहरूको भनाइ छ । कतिपय पसलमा त एनर्जी ड्रिङ्क नमाग्न आग्रह गरिएको पोस्टरसमेत झुन्ड्याइएको हुन्छ । कतिपय स्कुलले चाहिँ विद्यार्थीलाई एनर्जी ड्रिङ्क सेवन गर्न प्रतिबन्ध लगाएका छन् र यस सम्बन्धमा अभिभावकलाई चिठी नै लेखेर पठाउने गर्छन् । 

कतिपय ब्रान्डका एनर्जी ड्रिङ्कमा अल्कोहलसमेत मिसाइएको हुन्छ । त्यसैले यस्ता एनर्जी ड्रिङ्क पिएर सवारी साधन चलाउनेहरू पनि प्रहरीको मादकपदार्थ सेवन जाँचमा कारबाहीमा पर्ने गरेका छन् । क्याफिन बढी हुने भएकाले कुनै एनर्जी ड्रिङ्क कडा हुन्छ । 

कतिपय विज्ञापनमा डाक्टरको भेषमा भएको व्यक्तिले एनर्जी ड्रिङ्क अति लाभदायक भएकाले सेवन आवश्यक छ भन्ने सन्देश दिइरहेको देखिन्छ । आकर्षक विज्ञापनले यी पेय पदार्थ पिउन र स्वास्थ राम्रो पार्न अति आवश्यक छन् भन्ने भ्रम विशेष गरी युवा, खेलाडी तथा केटाकेटीमा पारिरहेको छ। डाक्टरको भेषमा यसरी कुनै वस्तुको विज्ञापन गर्नु नैतिक हिसाबले पनि गलत हो। यसमा सम्बन्धित पेसागत सङ्घ तथा मेड्रिङ्‍कल काउन्सिल जस्ता संस्थाले कारबाही गर्नुपर्छ ।

के हो  एनर्जी ड्रिङ्क?
एनर्जी ड्रिङ्क मुख्य गरी क्याफिन, चिनी र अन्य केही बस्तु मिश्रण गरी बनाइएको हल्का पेय पदार्थ हो । यसमा प्रशस्त चिनी राखिएको हुन्छ । त्यसमाथि कृत्रिम रङ, घोलक तत्वसँगै फिज ल्याउने तथा अम्लीयपना कायम राख्ने, रङ उड्न नदिने तत्त्वहरू हुन्छन् । उत्पादक कम्पनीहरूले यसमा मानिसलाई थप शक्ति दिने विशेष तत्व हुन्छ भनेर प्रचारप्रसार गरिरहेका छन् । तर गुणस्तर नियन्त्रणसम्बन्धी चासो राख्ने विकसित देशका संस्थाहरूले यसलाई मान्यता दिएका छैनन् । अमेरिकाको खाद्य तथा औषधि प्रशासन र कृषि विभागले एनर्जी ड्रिङ्कमा थप एनर्जी हन्छ भन्ने उत्पादक कम्पनीहरूको दाबीलाई अस्वीकार गरेका छन।

प्रशस्त चिनी हुने भएकाले यो पेयमा कुनै एनर्जी हुँदै नहुने भने होइन तर उत्पादकहरूले दाबी गरेजस्तो विशेष शक्ति भने हुँदैन । सामान्य शारीरिक र मानसिक थकान भएका बेला यस्तो पेय पदार्थ पिउँदा केही क्षण हल्का परिवर्तनको महसुस हुन्छ। क्याफिन तथा अन्य मिश्रणले यस्तो परिवर्तन आएको हुन सक्छ । तर शक्ति उपयोग हुने काममा यसले थप एनर्जी नदिने बरु स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गर्ने अध्ययनकर्ताहरुको भनाइ छ।

विभिन्न मुलुकमा बजार विस्तारसँगै एनर्जी ड्रिङ्क विवादास्पद पनि बन्दै गएको छ र यसलाई प्रतिबन्ध लगाउनुपर्ने माग पनि उठिरहेको छ। बालबालिका, युवा, मुटुसम्बन्धी रोग भएकाहरूका लागि यो निकै हानिकारक भएको सम्बन्धित विज्ञहरूको भनाइ छ ।

एनर्जी ड्रिङ्कको इतिहास
सन् १८६० तिर जापानमा एनर्जी ड्रिङ्कको प्रचलन सुरु भएको देखिन्छ। बेलायतका अस्पतालमा बिरामीलाई पुनर्ताजगी गर्नलाईह १८२८ तिर हस्पिटल ड्रिङ्‍कका रूपमा प्रयोग सुरु गरिएको थियो। १८८० मा यसलाई शक्ति कम भएका मानिसका लागि प्रयोग गर्ने एनर्जी डिङ्कका रूपमा विकास गरी बजारमा ल्याइएको थियो। अमेरिकामा १८८५ मा एनर्जी ड्रिङ्कका रूपमा जोल्टा कोला बजारमा आएको थियो । त्यसमा क्याफिन मिसाइएको थियो र कमजोरी हटाउने पेयका रूपमा प्रचार गरिएको थियो। त्यसको नारा 'अल द सुगर ट्बाइस द क्याफिन' थियो। १८८५ मा पेप्सी कम्पनीले जोस्टा नामको एनर्जी ड्रिङ्क बजारमा ल्याएको थियो तर १९९९ मा यो बन्द भयो ।

युरोपमा पावर हर्स नामको एनर्जी ड्रिङ्क बजारमा ल्याइयो । थाइल्याण्डको त्राटिङ ड्याङमा आधारित रहेर अस्ट्रियाले रेड बुल सुरु गरेपछि भने यसैले बजार लियो । एनर्जी ड्रिङ्क अहिले बजारमा धेरै बिक्रि हुने पदार्थमा पर्छ । यसको विज्ञापन पनि त्यसै रुपमा भएको छ । 

एनर्जी ड्रिङ्कका हानिकारक पक्ष
नेपालमा विशेष गरी युवा खेलाडी र बालबालिकामा एनर्जी ड्रिङ्क निकै लोकप्रिय बनिरहेको छ ।  तर यस्तो एनर्जी ड्रिङ्क हानिकारक छ। खेलाडी तथा शारीरिक श्रम बढि गर्ने व्यक्तिहरूका लागि पानीजन्य बस्तु चाहिन्छ। यस्तो अवस्थामा अन्य पेय पदार्थको सट्टा एनर्जी ड्रिङ्कको भर पर्नाले  कतिपय अवस्थामा जलवियोजन अर्थात् पानीको कमी (डिहाइड्रेसन) भएर बेहोस हुने समस्या आउने गरेको पाइएको छ । 

नेपाल स्पोर्टस् मेडिसिनसंग सम्बद्ध तथा बरिष्ठ हाडजोनी विशेषज्ञ डा सरोजकृष्ण श्रेष्ठ पनि अन्य उपयुक्त पेय पदार्थको सट्टा एनर्जी ड्रिङ्क बढी सेवन गरेकाले कतिपय खेलाडी खेल प्रतियोगिता तथा अभ्यासका क्रममा डिहाइड्रेसन भई वेहोस भएर लड्ने गरेको सुनाउछन् । उनी भन्छन, बजारमा पाइने विभिन्न एनर्जी ड्रिङ्कमा चिनी तोकिएको सीमाभन्दा बढी हुन्छ । त्यसैले यसका हानीकारक पक्ष धेरै छन् । एनर्जी ड्रिङ्कहरु स्पोर्ट ड्रिङ्‍क होइनन्  ।  स्पोर्ट ड्रिङ्‍कमा कार्वोहाइड्रेटको मात्र ६ देखि ८ प्रतिशत हुनुपर्नेमा  बजारमा पाइने एनर्जी ड्रिङ्कमा यसको मात्रा २० प्रतिशतसम्म पाइएको छ। यसले डिहाइड्रेसन (शरीरमा पानीको मात्र कम) हुन्छ, ख्लाडीले खानै  हुदैन । खेल अगाडि तथा पनि यस्ता एनर्जी ड्रिङ्क सेवन गरे मासु बाउडिने , बेहोस भएर ढल्ने समस्या हुन्छ ।

दगुर्ने खेलमा थोरै भए पानी, धेरै हो भने एक लिटर पानीमा ३ चम्चा जीवनजल राखेर खानुपर्छ ।   लामो दौडमा पसिना आउने भएकाले नुन (इलेक्ट्रोलाइट को मात्रा कम हुन्छ  । यसको पुर्तिका लागि जीवनजल उपयोगी हुन्छ । नुन, चिनि, पानी पनि उपयोगी हुन्छ । तर एनर्जी ड्रिङ्क खाए बेहोस भइन्छ।'

एनर्जी ड्रिङ्कलाई लतकै रुपमा  सेवन गर्नहरुमा बालबालिका पनि देखिएका छन । यसले खासगरी युवालाई आकर्षित गरिरहेको छ । चिकित्सकहरूका अनुसार बालबालिकामा यस्ता पेय पदार्थ खान पल्केपछि, लत लाग्न सक्छ । फलतः कुलतले उनीहरू रोगी बन्छन् । बरिष्ठ बाल रोग विशेषज्ञ डा विष्णु पण्डितका अनुसार बालबालिकालाई एनर्जी ड्रिङ्क मात्र होइन, हाल हाम्रो बजारमा प्रचलित विभिन्न ब्रान्डका सफ्ट ड्रिङ्‍क पनि स्वास्थ्यका दृष्टिले उपयुक्त छैनन् । यस्ता पेय पदार्थका कारण बच्चामा खाना रुचि हुन्छ र उनीहरूलाई आधारभुत एनर्जी पुग्दैन ।  चिनीको मात्रा बढी हुने भएकाले यस्ता हल्का पेय खानेहरूमा मोटोपन र डायविटिजका सम्भावना बढी हुन्छ । बालबालिकामा फोक्से मासु बढ्छ र अनेक समस्या उत्पन्न हुन्छन् ।

ह्युमन  पर्फरमोन्स ल्याबोरेटरीमा भएको अनुसन्धान अनुसार अल्कोहल मिसाइएको एनर्जी ड्रिङ्कका कारण मुटुसम्बन्धी समस्या हुन्छ । यसबाट मुटु फेलसम्मका समस्या सिर्जना हुन सक्छन्। अमेरिकाको वासिंटन तथा मिचगन राज्यले सन् २०१० नोभेम्बरमा १० मा क्याफिन तथा अल्कोहल भएका  एनर्जी ड्रिङ्क बेच्न प्रतिबन्ध लगाएको थियो । पछि न्युयोर्क र ओकलोहामामा पनि आयत तथा बिक्रि वितरणमा प्रतिबन्ध  लगाइएको थियो । कलेजका विद्यार्थी एनर्जी ड्रिङ्क सेवनपछि बिरामी भएका तथा दुर्घटना भई अस्पताल भर्न भएका घटना बृद्धि भएपछि  प्रतिबन्ध लगाएको थियो । 

(जनस्वास्थ्य विशेषज्ञ डा अरुणा उप्रेत्तीको  पुस्तक खाना खानुभयोबाट साभार )  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ