arrow

भित्रिमधेस क्षेत्रमा सिँचाई बढाउन लकडाउन उपलब्धीमुलक

logo
राम धामी,  
प्रकाशित २०७७ असार २३ मंगलबार
sichai1.jpg

डडेल्धुरा । जिल्लाको अन्न भण्डार मानिने भित्रिमधेस क्षेत्रमा लकडाउनको अवधिमा दर्जनौं सिँचाई योजनाहरु सम्पन्न भएका छन् । पञ्चायतकालदेखि निर्माणाधिन थक्लेनी सिँचाई योजनाबाट किसानको बारीसम्म पानी पुगेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार मातहतको सिँचाई तथा जनश्रोत विकास डिभिजन कार्यालय डडेल्धुराद्वारा भित्रिमधेस क्षेत्रका बिभिन्न स्थानमा कार्यान्वयन भईरहेका दर्जनांै सिँचाई योजनाहरु सम्पन्न भई खेतसम्म पानी पुगेको छ भने मर्मत सम्भारको अभावमा अवरुद्ध सिँचाई योजनाहरुमा पनि पानी सुचारु भएको छ ।

अत्यन्तै विकट मानिने परशुराम नगरपालिका–१ का कोलखान, बोडा, पाथी र मकला गाँउका दुई सय ८६ घरधुरी किसानहरुलाई लक्षित गरेर २०४४ सालदेखि कार्यान्वयन शरु भएको थक्लेनी सिँचाई योजनाको झण्डै ८० प्रतिसत भौतिक प्रगती लकडाउन अवधिमा हासिल भएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ । 

बस्तीदेखि झण्डै पाँच किलोमिटरको दुरीमा रहेको थक्लेनी खोलाबाट एक सय १० एमएमको पाईपमार्फत गाउँ बस्तीसम्म पानी पुगाउन सकिएको डिभिजन प्रमुख मोहनदेव भट्टले बताए ।

२०४४ सालदेखि हालसम्म पटक पटक बजेट बिनियोजन भई काम गरिएको भए पनि गत आर्थिक बर्षदेखि जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय डडेल्धुराले पाईप मार्फत सिँचाई योजना निर्माण कार्य शुरु गरेको हो । “यस बर्ष लकडाउन अवधीमा बस्तीसम्म पानी पुगाउन सफल भएका छौ ।” 

थक्लेनी सिँचाई योजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर धामीले भने, “गतबर्ष थोरै काम भएको हो । यसबर्ष लकडाउन अवधीमा योजना निर्माण कार्य दु्रत गतिले अघि बढेकाले चाँडै योजना सम्पन्न हुने विश्वास उपभोक्ताहरुमा बढेको छ ।”

पटक पटक सिँचाई योजनाका लागि बजेट खर्च हुने गरे पनि भिषण पहिरोका कारण योजना निर्माण कार्य नसकिदै पहिरोले क्षति पुगाउदा हालसम्म गाँउसम्म पानी पुगाउन नसकिएको उपभोक्ताहरु बताउँछन् । 

सो योजना पाईपलाईनबाट सम्पन्न गर्न सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले डीपीआर तयार गरेपछि गत आर्थिक बर्षदेखि सिँचाई योजना निर्माण कार्य आरम्भ भएको हो । 

लकडाउन अवधिमा सामाजिक दुरी कायम गरेर योजना निर्माण कार्य अघि बढाइएको र योजनाका लागि आवश्यक सामाग्रीहरु सवारी पास बनाएर निर्माणस्थलसम्म पुगाइएको उपभोक्ता समितिका अध्यक्ष धामी बताउँछन् । 

कोलखान, बोडा, पाथी र मकाला चारओटै गाँउमा आरभीटी निर्माण कार्य अघि बढाइएको र चारओटै बस्तीमा आरभीटी निर्माण भईसकेपछि योजना सम्पन्न हुने जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय डडेल्धुराका प्राविधिकहरु बताउँछन् । लकडाउन अवधीमा भित्रिमधेस क्षेत्रमा झण्डै एक दर्जन नयाँ सिँचाई योजनाहरुको काम दु्रत गतीमा अघि बढेको र मर्मत सम्भारको अभावमा अवरुद्ध रहेका एक दर्जन बढि सिँचाई योजनाहरुमा पानी सुचारु भईसकेको जोगबुडास्थित जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय डडेल्धुराको साईड कार्यालयले जनाएको छ ।

परशुराम नगरपालिका–७ घुम्टीगडामा पनि ८ किलोमिटर दुरीबाट पाईपमार्फत पानी गाँउसम्म पुगाइएको छ । सात स्थानमा रोपवे क्रसिङमार्फत नयाँ प्रविधि प्रयोग गरेर घुम्टीगडा सिँचाई योजनाको पानी बस्तीसम्म पुगिसकेको र ९० परिवार सो सिँचाई योजनाबाट लाभान्वित हुने जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ । अत्यान्तै चुनौतीका बीच लकडाउन अवधिमा योजना निर्माण कार्य सम्पन्न हुन थालेको घुम्टीगडा सिँचाई योजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर धामीले बताए । 

२०५६ सालको बाढीले बगाएर बस्ती सखाप भएपछि हाल तटबन्ध निर्माण गरेर पुनस्र्थापित भएका परशुराम नगरपालिका–६ का सरगौडा, ठण्डाजाला र सिमलखेत गाँउका तीनओटा सिँचाई योजनाहरु निर्माण गरिएका छन् भने परशुराम नगरपालिका–९ मा गाईबाँधे र कुयापानी सिँचाईको काम सम्पन्न भएको छ । 

यसैगरि परशुराम नगरपालिका–३ स्थित उत्तर मकैल सिँचाई योजनाको झण्डै ७० प्रतिसत कामसमेत लकडाउन अवधीमा सम्पन्न गरिएको छ । परशुराम नगरपालिकामा धान उत्पादनका लागि अग्रणी मानिने परिगाँउस्थित तीनओटा सिँचाई योजनाहरुको मर्मत सम्भार भई पानी सुचारु भएको छ भने कटालस्थित शिर्ष सिँचाई योजनाको मर्मत सम्भार कार्यसमेत लकडाउन अवधीमा सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष गणेशसिँह थलालले बताए ।   

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिँह बोहराले डडेल्धुरा जिल्लाकै अन्नभण्डार मानिने भित्रिमधेस क्षेत्र खाद्यान उत्पादनका साथै फलफूल, तरकारी, मसलाजन्य बाली उत्पादनका लागि पनि अग्रणी भएकाले आत्मनिर्भर अर्थतन्त्रको विकासकासाथै कोरोना महामारीको सन्त्रासका कारण विदेशबाट फर्किएका युवाहरुलाई कृषि उद्यमतर्फ आकर्षित गर्न सिँचाई योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन भईरहेको बताए । किसानहरुको वास्तविक आवश्यकतामा आधारित सिँचाई योजनाहरु कार्यान्वयन भईरहेकाले लकडाउन अवधीमा पनि द्रुत गतिमा सिँचाई योजना निर्माण गरिएको जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ