arrow

धेरै चिनी खाए मुटुमा समस्या, ग्लुकोजबाट बढ्छ वजन

logo
प्रकाशित २०७७ असार २३ मंगलबार
sugar.jpg

काठमाडौं । प्रशस्त मात्रामा चिनी र चिल्लो पदार्थयुक्त रगतले कोलेस्टोर बढाउछ । चिल्लो पदार्थ र कोलेस्टोर धमनीका भित्ताहरूमा लेउजस्तै टाँसिन्छन् । यसकारण धमनीहरू साँघुरिने वा कडा हुने (आर्टिरियोस्क्लरोसिस) समस्या हुन्छ। त्यसपछि मुटुको मांसपेशीमा धमनीबाट रगत, अक्सिजन र पोषक तत्त्व आवश्यक मात्रामा पुग्न सक्दैनन् र मुटुसम्बन्धी विभिन्न समस्या हुन सक्छन् ।

नेपालमा मुटुरोगीको सङ्ख्या बढेको देखिएको छ र यही रोगका कारण मृत्यु हुने सङ्ख्या पनि बढिरहेको छ । मुटुरोगको बिजारोपण बाल्यकालमै पनि हुने गर्छ। केटाकेटी अवस्थामा बढी गुलियो वस्तु खानाले भविष्यमा मुटुसम्बन्धी रोग लाग्न सक्ने जोखिम वृद्धि हुन्छ । मुटुसँग सम्बन्धित समस्यालाई पहिले नेपालको सहरिया र सम्भ्रान्त परिवारको मात्र समस्याका रूपमा बुझिन्थ्यो । तर अहिले गाउँ, सहर र मध्यम तथा निम्न वर्गका मानिसमा पनि यो समस्या बढ्दो छ ।

अमेरिकामा गरिएको एक अध्ययनमा चिनी बढी र रेसादार खानेकुरा कम खाने महिलामा मधुमेह बढी देखिएको थियो । चिनी कम र रेसादार खानेकुरा बढी खानेलाई भने मधुमेह कम देखिएको थियो ।

शरीरलाई आवश्यक नपरेको चिनी चिल्लो पदार्थ वा बोसोमा परिणत हुन्छ । यसैकारण मुटु तथा रक्तनलीमा अवरोध पुर्‍याउने काममा चिनी केही हदसम्म जिम्मेवार हुन्छ । कतिपय अवस्थामा सर्वसाधारण मानिसले सञ्चारमाध्यममा आउने विज्ञापनको भर परेर गुलिया वस्तुको अधिक सेवन गर्छन् । यसले शरीरमा मोटोपन तथा विभिन्न रोगको जोखिम बढाउने त हुन्छ नै, कहिलेकाहीं त मधुमेहका बिरामी गम्भीर भई इमर्जेन्सी उपचारमा लानुपर्ने अवस्था पनि आउन सक्छ ।

टेलिभिजनको विज्ञापनमा कामबाट थाकेको मानिसले ग्लुकोज खाएपछि शक्ति प्राप्त गरेको देखाइन्छ र सर्वसाधारण यसको विश्वासमा पनि पर्छन् । तर यो सत्य होइन । महँगो ग्लुकोजको प्याकेट किनेर खानेबित्तिकै त्यसरी थकाइ मेटिने होइन । खेल्दा र काम गर्दा शरीरको शक्ति खर्च भएर थकाइ लाग्नु स्वाभाविक हो । थकाइ लाग्नुको प्रमुख कारण शरीरबाट धेरै पानी जानु हो।

शरीरबाट खर्च भएर गएको शक्ति अर्थात ग्लुकोजको मात्रा अन्न तथा फलफूल समूहका नियमित खानाबाटै प्राप्त हुन्छ । चिकित्सकले नै सिफारिस गर्नुपर्ने विशेष अवस्थामा बाहेक प्रत्यक्ष ग्लुकोज आवश्यक पर्दैन। सिधै ग्लुकोज प्रयोग गर्नाले वजन बढ्ने, दाँत खराब हुने भएकाले चिनी, ग्लुकोज, हर्लिक्स, चकलेट, बिस्कुट, मिठाई स्वादका लागि अति कम खान चिकित्सकहरूको सल्लाह छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ