arrow

ओली राष्ट्रबाद उत्तरतिर निहुरिएकै हो र ?

logo
महेश भट्ट,
प्रकाशित २०७७ असार २५ बिहिबार
mahesh-bhatta1.jpg

कोरोना संक्रमणसंगै देशमा विभिन्न संकटहरु देखा आइरपरेका छन् । उत्तर र दक्षिणका दुई छिमेकी मुलुकहरुको निरन्तरको हेपाहा प्रवृतिको पुनराबृति भएको छ । सम्पूर्ण विश्व कोरोनाको संक्रमण झेलीरहेको बेला नेपालका लागि थप संकट झेल्नु परिरहेको छ । एकातिर दक्षिणबाट भूमि मिच्ने लगातारको आक्रमण चलिरहेको छ भने उत्तरले पनि निरन्तर जाल हानिरहेको छ ।  

उत्ताउलो र कुटनैतिक अपरिपक्व विचार सम्प्रेषणले बाह्य मुलुकहरु नेपालमाथि समय–समयमा हस्तक्षेप र बार्गेनिङको ब्यापार गरिरहेको यो नौले अभ्यास होइन । यो छिमेकीको पुरानै रोग हो । यति खेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूलाई भारतले सत्ताच्युत गर्न खोजेको  आरोप लगाइरहेका छन् । भारतद्वारा अतिक्रमित नेपाली भूमी समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतबाट आफ्नो प्रधानमन्त्रीको पदमा गम्भीर असुरक्षा पैदा भएको उनले दाबी गररहेका छन् र पार्टी भित्रनै शक्ति संघर्ष चलेको छ । 

 असार २४ गते देशभरिका चोकचोक र जिल्ला प्रशासन अगाडि न्याय गुहार गरे जस्तै ओली निकटका केही थान नेताकार्यकर्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो छापिएको रंगीन ब्यानर र मुठ्ठी कसेका  टिठ लाग्दा युवाहरुको हुल केपी ओली जिन्दाबाट भन्दै र्‍याल झर्ने  गरी कराइरहेको नयाँ दृश्य देखियो ।  यो दृश्य देखिरहदा केपी शर्मा ओलीको शब्द सापटी लिने मन लाग्यो– ताजुव लाग्छ । मलाई पनि ताजुव लागेर आयो । दुई तिहाईको सरकारको नेतृत्व गरीरहेको केपी शर्मा ओलीका समर्थनमा पार्टी पद्धती भन्दा पनि ब्यक्तिको नाम लिएर बजारैभरि रंगीन ब्यानर घुमाइयो कछाड् फुत्किने गरी कराए र पञ्चायती शैलीमा भक्तिभाव प्रशस्त देखियो । आँखिर यो के नाटक गर्न खोजेको हो ?  पत्तै चलेन । तर, यो नाङ्गोनाच देख्दा छाती भित्र आगो दन्कीरहेको थियो, सेतीको छाल झैं भित्रभित्रै छाल हानीरहेको थियो, मुटु भित्र सुनामी आइरहेको थियो ।   

देशको सम्पूर्ण शक्ति एकत्रित गरेर कोरोना संक्रमण संग लड्दै जनतालाई रोग, शोक र भोकबाट बचाउन र अगामी अर्थतन्त्रको विकास गर्नु, राष्ट्रियताका सन्दर्भमा भुगोलको रक्षा गर्न चट्टानी अडान लिएर कुटनैतिक माध्यमबाट छिमेकी मुलुकहरुसंग सन्तुलित व्यवहार प्रस्तुुत गरेर जित्नुको सट्टा अपरिपक्व विचार सम्प्रेशण गरेर छिमेकी राष्ट्रहरु संगको असन्तुलित व्यवहार प्रदर्शन गर्दै कहिले दक्षिणमुखी त कहिले उत्तरतिर ढल्केर राष्ट्रियता दाउ लगाउदै आफुलाई बलियो देखाउन पुच्छरबादी कार्यकर्ताहरुलाई चोकमा उतार्‍यो । 

    आफूलाई मात्र मुलुकको राष्ट्रवादी नेता र शासकको रुपमा आत्मप्रचार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको यो अग्नि परीक्षाको बेला आएको छ । बेलाबखतमा उनी कार्यान्वयन व्यवहारले फितलो बन्दै गर्दा राष्ट्रबादको अस्त्र फाल्ने गर्दछन् त्यही नयाँ अस्त्र आफुलाई भारी देखाउन र स्वघोषीत राष्ट्रबादी देखाउन देशभरी चोकचोकमा र जिल्ला प्रशासन कार्यालय अगाडि आफ्नो तस्बिर छापिएको रंगीन ब्यानर देखाएर उत्तरमुखी राष्ट्रबादी देखाएका छन् ।      

ओली राष्ट्रवादको चर्चा गर्नुअघि राष्ट्रवादको सामान्य परिभाषामा ध्यान दिनु जरुरी छ । राष्ट्रवादको बुझ्नुअघि राष्ट्रको परिभाषा हेर्नुपर्छ । राजनीतिशास्त्रले राष्ट्र कुनै खास सिमानाभित्रको जाति, भाषा, संस्कृति र साझा मनोविज्ञान हो भनेर पारिभाषित गरेको छ । हाम्रो सामान्य बोलीचालीमा राष्ट्र भनेको देश हो । हामीले अहिलेसम्म देशलाई नै राष्ट्र भनेर बुझेका छौं ।  देश भनेको भूगोल हो । अर्थात स्वतन्त्र, स्वाधीनता र सार्बभौमसत्ता सम्पन्न राजनीतिक तथा भौगोलिक सिमाना नै देश हो । राष्ट्रको पहिलो परिभाषा अनुसार राष्ट्रवाद भनेको जाति, भाषा, धर्म, संस्कृति र साझा मनोविज्ञानप्रतिको भक्तिभाव हो । दोश्रो परिभाषा अनुसार राष्ट्रवाद भनेको मातृभूमीको माया तथा प्रेमभाब हो । अर्थात आफ्नो भूगोल, सिमाना र माटोको प्रेम हो ।

प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा राष्ट्रवाद निकै ठूलो अस्त्र हो भन्ने बुझेका छन् । अहिले संसारभर नै राष्ट्रवादको हावा चलेको छ । केही दिनअघि मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखको भ्रमण गरे । चीनसँगको बिबादमा आफ्ना २० जना सेना मारिएपछि बढेको चीन–भारत तनाबमा भारतीय जनताको राष्ट्रवादी सहानुभूति लिने उद्देश्य भ्रमणको मूल लक्ष्य थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नारा अघि सार्नुको कारण राष्ट्रवादी देखिनु नै थियो । पहिलो कार्यकालमा भारतीय नाकाबन्दीको सामना गर्दा उर्लेको राष्ट्रवादी छालले अरु शक्तिलाई लपेटेर तत्कालीन नेकपा एमाले र ब्यक्तिगत आफूलाई सफलताको शिखरमा पुर्‍याएको कुरालाई ओलीले छिनछिनमा याद गर्छन् । 

तर, अहिलेको परिेबेशमा ओलीजीको राष्ट्रबादको अन्तिम मूल्यांकन बेला भएको छ । २-४ दिन देखि यता चिनियाँ राजदूत होउ यान्छी निरन्तर रुपमा पदीय हैसियत, मर्यादा नाघेर नेताहरुको घर दैलो डुल्दै नयाँ अभ्यासबाट “यस मेन” बनाउन खोजिरहेकी छिन । केपी शर्मा ओलीले यो बीचको अवधिमा नव राष्ट्रबाद देखाएका छन् दक्षिणतिर सम्बन्ध बिगारेर उत्तरतिर निहुरिने । यो ओलीजीको असली  राष्ट्रबाद हो ।  यसरी कुनै पनि देशको राष्ट्रियता बलियो बनेको इतिहास छैन ।  राष्ट्रियताको रक्षा गर्न भोकोनाङ्गो बसेर पनि चट्टानी अडान प्रस्तुती गरे राष्ट्रिय तत्वहरुको संरक्षण गर्नु नै असल राष्ट्र संरक्षक हुन र त्यो नै राष्ट्रको अभिभावक    हो । तर, जनतालाई रोग, शोक र भोकमा मारेर पद लालसीपनको लागि केही थान युवाहरुलाई आफ्ना समर्थनमा चोकचोकमा उभ्याएर लिने आत्मरतिले राष्ट्रियता बच्दैन, देशको संकट टार्न सकिदैन । यो त एउटा ऐतिहासिक नाङ्गो नाच मात्र हो ।  
 
करिब साढे दुई वर्षको अबधिमा मुलुकको सरकार सञ्चालनको सामान्य कामबाहेक उनीसँग मैले यो गरे भनेर देखाउन सक्ने एउटा पनि मुद्धा छैन । छन् त केबल नीतिगत भ्रष्टाचारका भीमकाय काण्डहरु, बेथितिहरु र कुशासनका यत्रतत्र असरहरु, कोरोना रोकथाम तथा नियन्त्रणको नमिठो असफलता मात्र । यसले ओलीको हिजोको करिस्मा पखालिएको मात्र छैन, जनताको आशा, बिश्वास र भरोसा पूर्णरुपमा टुटेको छ । यस्तो अवस्थामा आफ्नो लागि बेलामा राष्ट्रवाद एक मात्र भरपर्दो बैशाखी हुने ओलीले बुझेका छन् । आफुलाई असली राष्ट्रबादी देखाएर समकक्षी र प्रतिपक्षलाई राष्ट्रघातीको उपहार दिनु केपी ओलीको नब राष्ट्रबाद हो ।  उखान टुक्काको व्यापारका प्रतिष्ठीत ब्यक्तित्व ओली संकट पर्‍योकी उखानको व्यापार सुरु गर्नु उनको राष्ट्रबाद हो । त्यति मात्र होइन ओलीले मुलुकमा राष्ट्रवादको उदेक लाग्दो भाष्य निर्माण गर्ने प्रयास गरेका छन । जसमा ओलीको समर्थन राष्ट्रवाद र विरोध राष्ट्रघात हो । ओलीको यो भाष्यले सरकारको नीतिगत भ्रष्टाचारमाथि प्रश्न गर्नु राष्ट्रघात भन्छ । कोरोना नियन्त्रण तथा रोकथाममा सरकार असफल भयो भन्नु राष्ट्रघात देख्छ । श्रमिक उद्धारका नाममा निजी हवाई कम्पनीलाई पोस्न पाइदैन भनेर कुरा उठाउनु राष्ट्रघात नै सम्झन्छ । जनताका बिचमा जारी घोषणापत्र अनुसार नीति कार्यक्रम ल्याउ भन्यो भने बिदेशी उक्साहट ठान्छ । उनको अहंकार, अधिनायकबाद र दम्भको बिरोध गर्नेहरु सबै राष्ट्रघाती हुन भने उनका अन्धभक्त र समर्थकजति सबै राष्ट्रवादी । चोकमा झण्डा ठड्याउने र ओली तस्बिर छापीएको रंगीन व्यानर घुमाउने सवै असली राष्ट्रबादी केपी ओलीको नौलो राष्ट्रबाद हो । यस्तो अबस्थामा आफ्नो लागि राष्ट्रवाद एक मात्र भरपर्दो बैशाखी  भएकाले उनी होउ यान्छी असली सारथीको भूमिकामा हुनाले ओली राष्ट्रबादको झण्डा उत्तरतिर निहुरिएको हो । 

यहाँनिर प्रश्न उठेको छ, उनको यो राष्ट्रवादले मुलुकको दीर्घकालीन हित गर्छ त ? कतै उनी नेपाललाई कमजोर बनाउने बाह्य तत्वको फन्दामा त छैनन् ? राष्ट्रवादको नाराको आवरणमा किन उनी मुुलुकभित्र अनेकता ल्याउने, द्वन्द्व बढाउने र राष्ट्रिय सद्भाब भड्काउने प्रयास गर्दै छन् ? यो गम्भीर प्रश्न हो । आजको दुनियाँमा एक ब्यक्ति र एक शक्तिले राष्ट्रको बृहत्तर हित गर्छ भन्ने सोच्न पनि सकिँदैन । चिनियाँ राजदुत होउ यान्छीको यो अभ्यासले नेपालको आन्तरिक सद्भाव, नेपालको राष्ट्रियता, नेपालको स्वनिर्णयको अधिकार माथि भाला रोपेको त होइन ? नेपाललाई उत्तरमुखी बनाउने यो होउ यान्छीको अभ्यास हुन सक्छ तर, यसका सन्दर्भमा नेतृत्वले आफ्नो पदको संकटमोचन हेरेर राष्ट्रिय स्वार्थ दाउ लगाउनु देशका लागि अहित हुन्छ । यो विषय अहिले चर्चामा छ । पार्टी फुट्नु, सरकार ढल्नु अवस्य पनि शुभ संकेत होइनन् । तर, एउटा छिमेकी संग सम्बन्ध विगारेर अर्को छिमेकीको आश्रम रोज्नुले दिर्घकालिन रुपमा यसले नेपालको हित गर्दैन ।  दक्षिण विगारेर उत्तरतिर निहुरिनु यो चट्टानी अडान होइन  । यो ओलीको नयाँ राष्ट्रबाद हो ।  अहिलेको सत्ता सेरेफेरो हेर्दा दलाल–पुँजीपति वर्गको जीवनशैली अपनाउने तर राजनीतिमा ठीक उल्टो सर्वहारा कम्युनिस्टको शास्त्रीय भाषण गर्ने, यो समूह लामो समयदेखि कम्युनिस्ट पार्टीको नेतृत्वमै छ । भम्र छर्ने भाषणको पारङ्गत र ओलीको उखान टुक्का कम्युनिष्ट पार्टीको सम्पत्ति हो । यो बाहेक  सुखी नेपाली, समृद्ध नेपाल त कल्पना भन्दा बाहिरको कुरा हो यीनका कर्मले प्रमाणीत भै सक्यो ।   

हामी जटिल भूगोलमा भएकाले कसैसँग नजिक र कसैसँग टाढाको सम्बन्ध बनाउनु हुँदैन । भारत र चीन दुवै छिमेकी हाम्रा लागि उत्तिकै महत्वपूर्ण र संवेदनशील छन् । साथै, सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धका लागि अमेरिका र युरोपसँगको सम्बन्ध उत्तिकै महत्वपूर्ण छ । त्यसकारण हामीले सवै राष्ट्रहरुसंग असल सम्बन्ध स्थापित गरेर अनुशासनपूर्वक राष्ट्रिय हितमा अडान राख्दै आत्मनिर्भर बन्नु नै अहिलेको राष्ट्रमोह हो । यसैमा सवैको भलो छ । नेपाल कम्युनिष्ट पार्टीमा परेको “प्वाल”ले सिङ्गो मुलुकलाई बर्बादीको बाटोमा लैजाने छुट केपी ओली लाई छैन । त्यसैगरी यस्तो महामारीको बेला मान्छे उचालेर आफ्नो समर्थन जुटाउन तिर लाग्नु अर्को ठुलो महासंकट निमत्याउनु हो । यस्तो गैरजिम्मेवारी हर्कतले मुटुमा सुनामी आएको छ, छातीमा आगो दन्कीएको छ, सेतीको छाल झैं छाति उर्लिएको छ कमरेड चेतना भया ।   
(लेखक : नेपाल तरुण दल बैतडीका उपाध्यक्ष हुन । )



नयाँ