arrow

गुल्मीको छत्रकोटका अध्यक्ष पन्त विरुद्धमा स्थानीयको प्रदर्शन, लाखौँ अनियमितता गरेको आरोप 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २६ शुक्रबार
madhu-krishna-pant.jpg

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त विरुद्ध स्थानीय गाउँलेहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अध्यक्ष पन्तका विरुद्धमा नारावाजी गर्दै गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् । 

लामो समयदेखि धेरै कामहरुमा विधि र प्रक्रियालाई मिचेको भन्दै स्थानीयले उनका विरुद्धमा प्रदर्शन गरेका हुन् । गाउँपालिकामा रहेको बजेट बाँडफाँड गरेर वडा वडामा पठाउनु पर्नेमा वडालाई नदिई आफैले योजना र कार्यक्रमहरु बनाएर आफै काम गर्ने गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । 

कांग्रेस नेता अनन्त पौडेल, धाता भुसाल, मोती भण्डारीको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुका अनुसार अध्यक्ष पन्तले गाउँपालिकाका अधिकांश काम आफ्नै डोजर मार्फत् आफैले गराउने गरेका छन्। 

वडा अध्यक्षहरुले बजेट माग गर्दा पनि अनेक गरेर झुलाउने र आफ्नै डोजर मार्फत् काम गराउने सर्तमा मात्रै दिने गरेको स्थानीयबासिन्दाको भनाई छ । 

अध्यक्ष पन्तले वडालाई बजेट नदिएर गाउँपालिकाको झण्डै ८० लाख र सांसद विकास कोषको झण्डै ५० लाख आफ्नै नियन्त्रणमा राखेको स्थानीयले बताएका छन् । 

पन्तले यसअघि कागतीका ५० ओटा विरुवा लगाउन २२ लाख रुपैया खर्च देखाएको भनेर यसअघि पनि विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो । 

पन्तले लाखौँको अनियमितता गरेकोभन्दै धेरै ठाउँमा उजुरी दिएपनि कसैले सुनुवाई नगरेकोप्रति पनि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् । 

नेकपा गुल्मीका अध्यक्ष समेत रहेका पन्तप्रति नेकपाकै नेता तथा कार्यकर्ताहरु पनि असन्तुट रहेका छन्। उनले कुनै पनि काम गर्दा आफ्नै पार्टी र सहयात्री दलहरुसँग समन्वय नगरी एकलौटी गर्ने गरेकोभन्दै पार्टी भित्रैबाट बेला बेलामा विरोध हुने गरेको छ । 

उनको भूमिकालाई स्थानीय सरकारमा हुने विक्रितीको उदाहरणका रुपमा प्रस्तुत गर्ने गरिएको छ । जनताको रगत पसिना काटेर बनाइएको सरकारी बजेटलाई पन्त जस्ता जनप्रतिनिधिले दुृरुपयोग गरेकोभन्दै स्थानीयले आक्रोश व्यक्त गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ