arrow

अग्लिएको केपीको कद र नेकपाका लिलिपुटहरु

चिनियाँ क्याप्सुलपछि सुल्झिदै नेकपा विवाद, ओली विरोधीहरु मच्चिए मच्चिए थच्चिए 

logo
अजयबाबु शिवाकोटी,
प्रकाशित २०७७ असार २८ आइतबार
ncp-ckk-meet.jpg

काठमाडौं। दुई महिना भित्रै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उत्कर्षमा पुगेको विवाद मिलाउन चीनले दोस्रो पटक हस्तक्षेप गर्‍यो। चिनियाँ हस्तक्षेप पछि नेकपाको विवाद फेरि एकपटक सुल्झिएको देखिदै छ। यसअघी वैशाखमा पनि नेकपाको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राष्ट्रपति सि जिनपिङ र चिनियाँ राजदुत होउ यान्छीको हस्तक्षेप पछि टरेको थियो। यो पटक पनि चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले राजदुत होउ यान्छी मार्फत पठाएको कडा सन्देशपछि नेकपाको विवाद औपचारीक रुपमा साम्य भएको छ। चीनको प्रष्ट सन्देशपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई राजिनामा दिन चर्को दवाव दिएका नेकपाका नेताहरु गलेर आफै लाखापाखा भएका छन्।

विवादकै बीच असार १० देखि जारी पार्टीको स्थायी कमिटी बैठकमा उठिसकेको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजिनामाको बिषयलाई के भनेर टार्नेमा अब ओली विरोधी नेताहरु नै जुटेका छन्। नेपाल कम्युनिष्ट पार्टी फुटेको हेर्न नचाहने सी जिनपिङको सदिच्छापछि आफ्ना सबै इगो छोडेर नेकपाका नेताहरु एक ठाउँमा आइपुग्ने अवस्थामा पुगेका छन्। स्थायी समितिको वैठक पटक पटक सार्दै छलफलको वातावरण बनाउन राजदुत यान्छीले दिएको सल्लाह अनुसार आन्तरिक वैठक जारी राख्दै औपचारिक वैठक पटकपटक सारिएको छ।

यस बीचमा दोस्रो पुस्ताका नेताहरुले जुन सक्रियता देखाए त्यसले नेताहरुका बीचमा दुरी कम गर्न काम पनि गर्‍यो। फुट्छकी भन्ने डरमा रहेका नेताहरु त्यसपछि ढुक्क भएर काममा फर्केका छन्। प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रदेशको काम छोडेर काठमाडौंमा आएर बसेका थिए। पार्टीमा अब समस्या टर्‍यो भन्ने बुझाई पछि उनी काममा फर्किएका छन्। ओली पक्षधरहरु अब राजिनामा दिनुनपर्ने भयो भनेर फर्किदा राजिनामाको कुरा उठाइसकेकाहरु कसरी फेस सेभिङ गर्ने भन्नेमा उपाय खोज्न लागिपरेका छन्।

यसो त प्रचण्डलाई भेट्न पुगेकी चिनियाँ राजदुत यान्छीले प्रधानमन्त्री ओलीबाट के के मागहरु तपाईहरुको पुरा गराइदिनुपर्छ भनेर लिष्ट नै मागेको प्रचण्डलाई उदृत गर्दै स्रोतको दावी छ। प्रचण्डले आफ्ना लिष्ट यान्छीलाई दिएका थिए। यस्तै अन्य नेताहरुसँग पनि यान्छीले सीको सन्देश सुनाउँदै गर्दा प्रधानमन्त्री ओलीबाट के के गराउनु पर्छ भन्दै लिष्ट मागेकी थिइन। सबै नेताहरुबाट प्राप्त लिष्ट अनुसार यान्छीले जुन क्याप्सुलको सिफारिस गरेकी थिइन त्यसैले नेकपाको विवादमा मिलेको देखिएको छ।

पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले नेकपाका अन्य नेताहरुलाई गन्नै छाडेका थिए। पार्टी फुटाएर जान खोजेपनि वा आफूलाई पार्टी फुटाउन वाध्य पारेपनि तयार रहेको सन्देश दिएका उनले दुबै पदबाट राजिनामा दिन भने इन्कार गरेका थिए। संविधानविद भिमार्जुन आचार्यकै शब्दमा आफूले भुसुनो झै पनि नगनेका नेताहरुले घेरावन्दी गरेर राजिनामा माग्दा उनी न राजिनामा दिन तयार भए बरु आफू बिरुद्ध लागेका सबैलाई परिचालित भन्न भ्याए। आफ्नै समकालिन र पार्टीका बरिष्ठ नेताहरुलाई भारतसँग मिलेर आफूलाई हटाउन खोजेको गम्भिर आरोप नै लगाइदिए। आफूलाई पार्टी फुटाएर जान वाध्य गर्न सक्ने वा आफू इतरकाले पार्टी फुटाएर जान सक्ने हैसियत नदेखेपछि ओलीले आफू इतरकालाई सामान्य भाउ समेत दिएनन्। छलफलमा आएका प्रचण्डलाई ओलीले प्रधानमन्त्री बन्ने भए अर्को निर्वाचन पछि र अध्यक्ष बन्ने भए एकता महाधिवेशन भन्ने जवाफ दिदा समेत चुपचाप सुन्न वाध्य भए। 

चीन नेपालमा राजनीतिक स्थीरता चाहन्छ। स्थीर एवं वलियो सरकारसँग सहकार्य गर्नु उसको प्राथमिकता विगतदेखि नै रहिआएको छ। नेपालमा आफू अनुकुल पार्टीको सरकार भएर त्यो स्थीर भए सुनमा सुगन्ध हुने उसको वुझाइ विगतदेखि नै रहँदै आएको छ। त्यसैको परिणामस्वरुप २०७४ सालको निर्वाचन अघी एमाले र माओवादी मिले। उनीहरुको एकिकरणमा चीनको भूमिका अब लुकेको छैन। आफ्नो भूमिकाले समेत एकिकृत स्वरुपमा आएको नेकपा जुँगाको लडाइमा पटकपटक अप्ठ्यारोमा पर्न थालेपछि यसपटक सीले आफूले कुरा नगरि राजदुत मार्फत कडा सन्देश पठाए। सीको सोहि सन्देश नै अहिले नेकपा जोडिने आधार भएको छ। यान्छीको डाइग्नोस पछि सीको प्रेस्क्रिप्सन अनुसारको क्याप्सुलले अहिले नेकपाको विमारी ठीक हुने अवस्थामा पुगेको छ।

नेकपाको विमारी निको हुँदै गएको चितवनमा पुगेर प्रचण्डले दिएको अभिव्यक्तिले पनि देखाउँछ। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने कार्य गर्न नहुनेमा आफू पुगेको उनको अभिव्यक्ति चीनको हस्तक्षेप पछिको यूटर्नको रुपमा बुझ्न गाह्रो छैन। चिनियाँ सक्रियताले अन्य नेताहरुको गतिविधीलाई पनि निस्तेज पारेको छ। नेकपाभित्रको विवाद छताछुल्ल भइरहेको अवस्थामा यान्छीले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारी, २१ गते नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, २३ गते झलनाथ खनाल र २५ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटेकी थिइन। यी भेटमा यान्छीले चिनियाँ राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टीको नेपालमा कम्युनिस्ट पार्टी एकजुट भएको हेर्ने सन्देश स्पष्ट रुपमा राखेकी थिइन। जुन सन्देशलाई आजको दिनमा नेकपामा ग्रहण गर्न आनाकानी गर्ने हैसियत कसैको पनि छैन।

सीको यो स्पष्ट सन्देशपछि अब बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष ओली पुरानो शैलीलाई सुधार्दै प्रस्तुत हुने अनुमान गरिएको छ। पार्टी एक बनाउन ओलीले केहि गर्नुनपर्ने आफूहरुले मात्र त्याग गर्नुपर्ने ओली इतरपक्षको गुनासोलाई पनि सम्वोधन गर्न आधा आधा कार्यकाल प्रधानमन्त्री हुने प्रस्तावलाई नयाँ स्वरुपमा व्याख्या गर्ने सम्भावना स्थायी समितिमा छ। सबै पक्षको फेस सेभ हुनेगरि प्रस्ताव ल्याउन समय लाग्ने भएपछि तथा तातेका स्थायी समितिका सदस्यहरुलाई चिस्याउन पनि समय लाग्ने भएपछि स्थायी समिति वैठक पटक पटक सार्दै पछि लगिएको छ।

सबै कुरा ठीक ठाउँमा आएको आभाष भएको दिन हुने बैठकमा नेकपाले फेरि आफ्नो चट्टानी एकता प्रस्तुत गर्ने छ नयाँ व्याख्या सहित। यो व्याख्यामा जे सुकै कुरा आए पनि नेकपाको राजनीतिमा फेरि एक्लै पारिइसकेका ओलीले आफूलाई फेरि बलियो बनाएर अग्लो शिर्षस्थान कायमै गरेका छन्। डग्मगाउन नसकेको नेकपाको शिर्षस्थानबाट अन्य नेताहरुको कद  झन लिलिपुट देखिने पक्का छ। कमजोर लिलिपुटहरुलाई ओलीले आउने दिन कस्तो व्यवहार गर्छन त्यो विगतको अनुभवबाट ठम्याउन अब गाह्रो छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ