- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सन २०१९ को डिसेम्बर अन्तिमदेखि चिनको वुहान सहरबाट फैलिएको कोरोना भाईरस (कोभिड –१९) महामारीका कारण यतिबेला विश्व आक्रान्त छ। महमारीले सिर्जना गरेको बिपद् र संकटका कारण विश्वभरका मानिस प्रत्यक्ष प्रभावित भएका छन्। कोरोना महामारीका कारण विश्वभर आजसम्म कम्तिमा साढे पाँच लाखभन्दा बढीले ज्यान नुपरेको छ। सवा करोडभन्दा बढी संक्रमित भएका छन भने कराडौंको रोजीरोटी गुमेको छ। कोरोनाकै कारण विश्वको अर्थतन्त्र धरासयी बन्दै गएको छ। कोरोनाले सिर्जना गरेको संकटका कारण स्वदेश तथा विदेशमा रहेका नेपाली समेत प्रत्यक्ष प्रभावित भएका छन्।
कोरोना कहरले सिर्जना गरेको त्रास र संकटका कारण नेपाली समाज आर्थिक, सामाजिक, सांस्कृतिक र मानसिक रुपमै बिक्षिप्त बनेको छ । जसका कारण हत्या, हिंसा, आत्महत्या र अपराधजन्य गतिविधिहरु दिनकै बढ्दै गइरहेका छन्।
पछिल्लो समय त आत्महत्याको श्रृखंला निकै डरलाग्दो देखिएको छ। पछिल्लो समय नेपालमा किन आत्महत्या बढिरहेका छ त? किन मानिसहरु आत्महत्या गरिरहेका छन्, यसको कारण के हुनसक्छ ? यसले समाजमा के कस्तो प्रभाव पारिरहेको छ ? यसको नियन्त्रण र न्यूनीकरण कसरी गर्न सकिन्छ ? यसको उपचार के कस्तो हुन सक्छ ? भन्ने प्रश्न र जिज्ञासालगायत बिषयमा केन्द्रीत रहेर केहि दिन अघि मात्र हामीले नेपालका वरिष्ठ मनोरोग बिशेषज्ञहरुसंग भर्चुअल संवाद गरेका थियौं।
संवाद र परामर्शका लागि नेपालका वरिष्ठ मनोरोग विशेषज्ञ डाक्टरहरु प्रसिद्ध नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रभाकर पोख्रेल, डा. निशिता पाठक र डा. रितेश थापा, मानसिक रोग मनोविद्द्वय डा. अनुप राज भण्डारी र डा. तृष्णा क्षेत्रीको सहभागिता थियो।
एनआरएनए आइसी सचिव आरके शर्मा, मध्यपूर्व यूवा संयोजक राज रेग्मी, मध्यपूर्वका एनसीसी अध्यक्षहरु कतारबाट मोहम्मद मुक्तादा मुसलमान, साउदीबाट तेज बहादुर थापा र मलेसियाबाट हरि भट्टराईको सहभागिता रहेको थियो। सम्वादमा कोरोनालाई पराजित गर्न सफल नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मियाको अनुभव, अनुभूतिले कार्यक्रम थप अर्थपूर्ण बनेको थियो।
कतारमा कार्यरत नेपाली डा. नितेश अर्यालको संयोजकत्वमा डाक्टर संजीब सापकोटा र दीपजंग शाहको सहजीकरणमा कार्यक्रम भयो।
सम्वाद कार्यक्रममा नेपाली समाजमा कोरोना कहरका बीच संक्रमित भएर वा अन्य विविध समस्याका कारणले विकराल रूप लिईरहेको आत्महत्या जस्तो समस्यालाई नियन्त्रण र निर्मुल पार्न सचेतना फैलाउनु कार्यक्रमको उद्देश्य थियो।
कोरोनाको कहरले विश्वलाई नै आक्रान्त पारेर आर्थिक, सामाजिक राजनीतिक तथा बिभिन्न क्षेत्रलाई शिथिल बनाइरहेको अवस्थामा यसको प्रकोप हाम्रो घरपरिवार र सिंगो समाजमा परिरहेको छ। यसले सामाजिक र मानसिक रुपमै नकारात्मक असर पुर्याइरहेको छ। जसको दुष्परिणाम हत्या, आत्महत्या तथा अपराधजन्य घटना बढिरहेका छन्।
नेपालको सन्दर्भमा पछिल्लो समय भइरहेका हत्या, आत्महत्या र अपराधजन्य घटना नियाल्दा यसमा धेरै कारण जोडिन आउँछन। आर्थिक कारोबार अन्तर्गत व्यापार, व्यवसाय ठप्प हुँदा मानिसहरु तनावपूर्ण जीवन ज्यून बाध्य छन्। कोरोना संक्रमितलाई घर परिवार तथा समाजले हेर्ने दृष्टिकोण, संक्रमितलाई गरिने दुब्र्यवहार तथा संवेदनाहीन ब्यवहार। प्रेमीप्रेमिका बीच हुने तनाव, श्रीमान श्रीमती बीच आपसी तालमेल नमिल्नु।
घरेलू हिंसा, अनैतिक सम्बन्ध, वैदेशिक रोजगारीले सिर्जना गरेको समस्या। रोजगारी गुमाउनु परेको पीडा, परिवार बीच मनमुटाव हुनु। शारीरिक दुर्बलता, आफन्तको मृत्यु या बियोग सहनु।
महामारीको उकुसमुकुसमा सँधै नकारात्मक सोच आइरहनु। सामाजिक संजालमा निरन्तर आइरहेका दुःखद घटनाका समाचारहरु। सामान्य कुरामा अनावश्यक चिंता लिने बानी। समाजमा ब्याप्त जातीय विभेद। आफूले रोजेको जीवन साथीको साथ नपाऊनु। पढाईमा चाहेजस्तो परिणाम नआउनु दीर्घरोगले गर्दा जीवनप्रति निराशा छाउनु।
यस्ता विविध कारणले हत्या, आत्महत्या र अपराधजन्य घटनालाई प्रश्रय दिइरहेको छ। जुन श्रृंखला पछिल्लो समय कोरोना कहरसंग जोडिएका छन्। यसको प्रत्यक्ष असर ब्यक्तिको मानसिकतामा पर्ने हुँदा त्यस्ता व्यक्ति नकारात्मक बढी सोच्ने अवस्थामा निराशाको चरम उत्कर्षमा पुगरेर आत्महत्या गरेर अनाहकमा अमुल्य जीवन गुमाइरहेको देखिन्छ। जुन प्रकारका घटनाहरु अहिले दैनिकजसो समाचार बनेर आइरहेका छन । जसले गर्दा आत्महत्या गर्ने व्यक्तिहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।
यस्ता खालका घटनाहरुको नियन्त्रणमा सरकार, सरकोरवाला निकायले समेत खासै चासो दिएको देखिँदैन। यसर्थ हत्या, आत्महत्या र अपराधजन्य घटनाहरुको नियन्णत्रका लागि ब्यक्ति, परिवार, समाज र सिंगो राष्ट्र नै गम्भीर हुन जरुरी छ।
जब कुनै परिवारका सदस्य वा समाजमा रहेका अन्य निकटका व्यक्तिहरुमा देखापर्ने असामान्य दैनिकी, असहज बोलीब्यवहार, उसले देखाउने हाउभाउ र ब्यबहार, आफूलाई लागेको रोगको बारेमा भन्न नसक्नु, अनिद्राको समस्या देखा पर्नु, बिना औषधि सुत्न नसक्नु, एक्लै बस्न रुचाऊनु, रमाइलो समयमा पनी खुशी हुननसक्नु, तनाबमा देखिनु जस्ता आचरण देखा परेमा त्यस्ता ब्यक्तिमा कहिँकतै कुनै न कुनै समस्या हुनसक्छ।
जून समस्या उसले खुलेर भन्न या व्यक्त गर्न सकेको छैन भन्ने विषयमा घरपरिवारले बुझ्नु वा मनन गर्नू अति आवश्यक छ । यदि परिवारका कुनै व्यक्तिमा यसप्रकारको समस्या देखिएमा परिवारका अन्य सदस्यले उक्त ब्यक्तिलाई आत्मीय माया, मिठो बोलीव्यवहारका साथ सम्झाऊनु, बुझ्नु र बुझाउनु नितान्त आवश्यक छ।
मानसिक रूपमा बिक्षिप्त रहेका ब्यक्तिलाई पारिवारिको साथ र सहानुभूति दिन जरुरी छ। उनीहरुका समस्या त केहि पनि होईन आफूले पाएको अमूल्य जीवन सुखमय रूपले जिउनुपर्छ भन्ने जीवनका अन्य सुनौलो दिनहरुको आभास गराउदैं त्यस्ता व्यक्तिको समस्यालाई पहिचान गरि उसको आत्मबिश्वासलाई बढाउन सहयोग गर्ने, हेरविचार गर्ने, विशिष्ट सहयोग स्वरुप दैनिकीमा परिवर्तन गराउन योग, धार्मिक, आध्यात्मिक तथा शारीरिक व्यायाम मार्फत तनावमुक्त मष्तिष्क, सकारात्मक सोचको विकास अन्तर्गत प्राथमिकता दिएर घरबाटै राम्रो पारीवारिक वातावरणको शुरूवात गर्नुपर्छ।
समस्याको स्वरुपमा परिवर्तन देखा परेन भने त्यस्ता ब्यक्तिहरुले डिप्रेशनमा गई कुनै गलत कदम चाल्नु अगाावै ढिलासुस्ती नगरी दक्ष मनोरोग बिशेषज्ञ, मनोबिदसँग उपचार र परामर्श लिनुपर्छ । चिकीत्सकको परामर्श अनुरूप रोगको पहिचान गरी उपचार पद्धति तत्काल सुरु गर्नुपर्दछ।
अन्तमा, आत्महत्याको घटना नियन्त्रण गर्न र निर्मुल पार्न ब्यक्ति, परिवार, समाज र सिंगो राष्ट्रकै समान कर्तव्य र दायित्व हो। तसर्थ सबैले आ–आफ्नो तह र तप्काबाट यसको नियन्त्रणमा लाग्न जरुरी छ। सबै पक्ष सचेत र सतर्क बनौं, सम्भावित घटना र भवितब्यबाट बचौं र बचाउँ भन्ने भाव राख्न आवश्यक छ।
(लेखक एनआरएनए,आइसीसी साउदी अरबमको मेडिकल हेल्थ टिम सदस्य हुन)