arrow

कोरोनाले रोकिएपछिको पहिलो टेष्ट क्रिकेटमा वेष्ट इन्डिज विजयी, घरमै हार्यो इंग्ल्यान्ड

logo
प्रकाशित २०७७ असार २९ सोमबार
wi-eng.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण रोकिएको क्रिकेट सम्भव भएको छ । पहिलो टेष्ट क्रिकेटमा वेष्ट इन्डिज विजयी भएको छ । 

वेष्ट इन्डिजले इंग्ल्यान्डलाई पराजित गरेको हो । साउथह्याम्पटनको एजेस बाउलमा आइतबार वेष्ट इन्डिजले घरेलु टोली इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको हो ।

पाँचौँ दिन दोस्रो इनिङ्समा घरेलु टोली ३ सय १३ रनमा अलआउट भएपछि वेष्ट इन्डिजले २ सय रनको लक्ष्य पाएकामा ६ विकेट गुमाएर पुरा गर्यो ।

जेर्मानी ब्लाकवुडले ९५, रोस्टन चेसले ३७ तथा शेन डरिचले २० रन बनाए । कप्तान जासन होल्डर १४ रनमा नटआउट रहे ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ तथा कप्तान बेन स्टोक्सले २ विकेट लिए  । यसअघि दोस्रो इनिङ्समा इंग्ल्यान्डको लागि ज्याक क्रलीले ७६ तथा डोम सिब्लीले ५० रन बनाए । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोड्दा रोरी ब्रुन्सले ४२ रन जोडे । 

वेष्ट इन्डिजका शानोन गार्ब्रियलले ५ विकेट लिए । अल्जारी जोसेफ र रोस्टन चेसले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ४ रन जोडेको थियो ।

यस्तै वेष्ट इन्डिजले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय १८ रन बनाएको थियो । जितसँगै तीन खेलको सिरिजमा वेष्ट इन्डिजले १-० को अग्रता बनाएको छ ।

तीन खेलको सिरिजको दोस्रो टेष्ट बिहीबारबाट म्यानचेस्टरमा सुरु हुनेछ । इंग्ल्यान्डले पछिल्ला पाँच सिरिजका पहिलो खेल हार्दै आएको छ । 

यसअघि सन् २०१९ मा सेन्चुरियनमा दक्षिण अफ्रिकासंग, माउन्ट माउनगाउनइमा न्यूजिल्यान्डसंग, बर्मिङघममा अष्ट्रेलियासंग र ब्रिजटाउनमा वेष्ट इन्डिजसंग पराजित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ