arrow

सेनिटाइजर दर्ता अवधि खारेजीको माग गर्दै औषधि उत्पादक संघ धर्नामा, सरकारको लापरवाही

नागरिकको स्वस्थ्य रहने अधिकारमा सरकारको खेलबाड

logo
प्रकाशित २०७७ असार २९ सोमबार
MIDICINE.jpg

काठमाडौं । नेपाल औषधि उत्पादक संघले बिना दर्ता उत्पादित ह्याण्ड सेनिटाइजरको दर्ता अनुमतिको खारेजीको माग गरेको छ । संघले सेनिटाइजर दर्ता अनुमतिका लागि तीन महिना थप गरिएकोमा विरोध जनाएको हो । 

संघले औषधि व्यवस्था विभागको बिजुलीबजारमा रहेको कार्यालयमा धर्ना दिएको हो । संघका महासचिव विप्लव अधिकारीले प्रधानमन्त्रीको कार्यालय, स्वास्थ्य मन्त्री तथा औषधि ब्यबस्था विभागका महानिर्देशकलाई ३ दिन भित्रमा उक्त निर्णय फिर्ता लिन आग्रह सहित पत्राचार गरे पनि आफूहरुका मागमा बेवास्ता गरेपछि वाध्य भएर धर्ना कार्यक्रम गर्नुपरेको बताए । 

उनले सोमबार पहिलो दिन बिहान ९ः३० देखि १२ बजेसम्म धर्नामा रहेको बताए । उनले सरकारले अझै पनि आफूहरुका माग नसुने मंगलबारदेखि चरणवद्ध थप सशक्त आन्दोलन गर्दै जाने बताए । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार २२ गते स्वास्थ्यमन्त्री निर्णय अनुसार ह्याण्ड सेनिटाइजरको दर्ता अनुमतिको लागि ३ महिना समय थप गरेका थिए । 

औषधि व्यवस्था विभागमा दर्ता भइ स्वदेशमा नै उत्पादन हुने इथानोलको प्रयोग गरी हाल करिब ४० वटा उद्योगले सेनिटाइजर उत्पादन गरिरहेका छन्। बजारमा गुणस्तरको प्रत्याभूति नभएका र बिना दर्ता नै उत्पादन गरिरहेका विभिन्न उत्पादनलाई २०७६ साल चैत्र ९ गते औषधि ब्यबस्था विभागले सूचना निकाली ३ महिना भित्र दर्ता प्रक्रियामा आउन सार्बजनिक सुचना गरेको थियो। 

यसै बमोजिम करिब ४० वटा उद्योगले १२० वटा सेनिटाइजर ब्राण्ड दर्ता पनि भएका छन् । कोभिड १९ को संक्रमणका कारण सेनिटाइजरको अत्यधिक प्रयोग भएको समयमा बिना मापदण्ड, बिना गुणस्तर परिक्षण र बिना दर्ता सेनिटाइजरको बिक्री बितरण हुँदा स्वास्थ्यप्रति सचेत सम्पूर्ण जनता ठगिने अधिकारीले बताए। 

बाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरि अबैध रुपमा बनिरहेका सेनिटाइजरहरु बनाउने र बिना दर्ता बिक्री गर्ने धेरै उद्योग र पसलहरुलाई कारबाही गरिरहेको र नेपाली बजारमा मिथानोल मिसिएको सेनिटाइजर पनि बिक्रि भइरहेको परिस्थितिमा अझ ३ महिना दर्ता प्रक्रियाको लागि समयावधि थप गरिनुले सरकार नेपाली जनताको स्वास्थ्यप्रति संवेदनशील नभएको पुष्टि गरेको अधिकारीले बताए।

सरकारले जनताले प्रयोग गर्ने स्वास्थ्य सामग्रीको विशेष रुपमा गुणस्तरको सुनिश्चितता गरेर बिक्री बितरण गर्नु पर्नेमा दर्ता बिना नै अझ ३ महिना सेनिटाइजर बिक्री गर्न दिने निर्णय सबै नेपालीको स्वास्थ्य माथिको खेलबाड भएको संघको ठहर छ।

महामारीको समयमा भारतले समेत निर्यातमा प्रतिबन्ध लगाएको समयमा नेपाली उद्योगहरुले सेनिटाइजर उत्पादन गरी माग अनुसार संघले आपूर्ती गरेको थियो। नेपाल सरकारले पनि चिनी उद्योगमा उत्पादन गर्ने इथानोल औषधि उद्योगले खरिद गर्दा अन्तशुल्क छुट दिएको छ। 

नेपालमै पर्याप्त इथानोलको प्रयोग गरि स्वदेशी उद्यागलेनै बनाउने यो उत्पादन बिदेशबाट आयात नगर्दा पनि हुने अबस्थामा रहेको संघले जनाएको छ। 

सरकारले नीतिमा देशलाई आत्मनिर्भर बनाउने भनिरहे पनि पर्याप्त रुपमा उपलब्ध कच्चापदार्थ र उत्पादन गर्ने उद्योग भएको यस उत्पादनलाई बिना गुणस्तर परिक्षण नै उत्पादन र आयात गर्न दिने ब्यबस्थाले उधोग र देशलाइ आत्मनिर्भरतर्फ लाने सरकारको नीति कागजमै सिमित हुने संघले भनेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ