arrow

प्रविधीमार्फत विश्वभर प्रभाव विस्तार गर्ने चिनियाँ प्रयासमा पश्चिमा वाधक, बेलायतमा हुवावेमाथि प्रतिबन्ध

logo
एजेन्सी,
प्रकाशित २०७७ असार ३१ बुधबार
huawei-5g-uk.jpg

काठमाडौं। चीनले प्रविधिका माध्यमबाट आफ्नो व्यापार विश्वभर फैलाउनका लागि बेलायतलाई केन्द्रबिन्दु बनाउन खोजेको थियो। टिकटक र हुवावेले विश्वभरका प्रयोगकर्ताहरुको व्यक्तिगत सुचना अनधिकृत रुपमा लिन सक्ने सार्मथ्य राख्छ । प्रविधिका माध्यमबाट चीनले अपनाइरहेका यी कदमहरु भयानक थिए।

बेलायतले आफ्ना ५जी दुरसञ्चार सेवाप्रदायकहरुलाई डिसेम्बरबाट हुवावेका कुनै पनि सामग्री किन्नबाट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । चिनियाँ ठूलो टेक्नोलोजी कम्पनी हुवावेका मोबाइलसम्बन्धीका सबै सामग्री डिसेम्बर १ बाट प्रतिबन्ध गर्ने भएको हो 

त्यस्तै सन् २०२७ सम्ममा बेलायतले पूर्णरुपमा हुवावेका ५जीसम्बन्धी सेवा र उपकरणहरुलाई त्यहाँबाट निष्कासन अथवा विस्थापन गर्ने निर्णय गरेको छ। बेलायतका डिजिटल मामिला मन्त्री ओलिभर डोउदेनले तल्लो सदनमा यो निर्णय सुनाउने क्रममा यसो गरिनुको मुख्य कारण सुरक्षा खतरा रहेको जनाए।

यद्यपि हुवावेले यो कुरा अस्विकार गरेको छ। उसले अमेरिकाको व्यापारिक रणनीतिका कारण बेलायतले यस्तो निर्णय गरेको आरोप लगाएको छ। अमेरिकाले यसअघि नै हुवावेका सबै सामानहरुमाथि नियन्त्रित प्रतिबन्ध लगाउँदै आएको छ। ओलिभरले यो निर्णय लिएसँगै बेलायतमा ५ जी सञ्चालनका लागि १ वर्ष थप लाग्ने बताएका छन्।

‘यो सहज निर्णय हैन्, तर बेलायतको राष्ट्रिय सुरक्षाका लागि यो निकै महत्वपूर्ण निर्णय हो’उनले भनेका छन् । तर, यस विषयमा हुवावेले भनेको छ, ‘बेलायतका मोबाइल प्रयोगकर्ताका लागि यो दुखद समाचार हो, बेलायतले बिल बढाउँदै प्रविधिको विकासलाई सुस्त पारिदियो।’

५जी र ब्रोडब्यान्ड सम्बन्धी कुनै पनि उपकरण खरिदमा समेत बेलायतले प्रतिबन्ध लगाएको छ । त्यस्तै बेलायत सरकारले फाइबर नेटवर्कसम्बन्धीका सामाग्रीहरु पनि हुवावेको प्रयोग नगर्न मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।

बेलायतमा अहिले कम्युनिकेसन क्षेत्रमा थुप्रै उपकरणहरु हुवावेको रहेको छ । लामोसमयसम्म हुवावेले टेलिकम सम्बन्धी उपकरणहरु आपुर्ति गर्दै आइरहेका कारण पूर्णरुपमा हुवावेमाथि प्रतिबन्ध लाग्न अझैं २ वर्ष लाग्न सक्ने डोउदेनले बताएका छन् । ब्रोडब्यान्ड सम्बन्धी पनि अब नोकियामा नै निर्भर हुने बेलायत सरकारले निर्णय गरेको छ ।

गत जनवरीमा नै बेलायतले हुवावेलाई टेलिकमसम्बन्धी पूर्वाधारहरु जडान गर्न दिने नियन्त्रित निर्णय गरेको थियो । तर पछि मे महिनामा अमेरिकाले हुवावेमाथि आफ्नै चीप उत्पादन गर्न नसक्ने गरि प्रतिबन्ध लगाइदिएको थियो ।

यसोहुँदा हुवावेले अर्को कम्पनीबाट चीप किनेर प्रयोग गर्नुपर्ने स्थिती सिजर्ना हुने देखिएको थियो । हुवावेले थर्ड पार्टी चीप प्रयोगर्दा त्यसका उपकरणहरुमाथिको सुरक्षा स्थिती कमजोर हुने देखिएपछि बेलायतले नयाँ कदम चालेको हो ।

तर, यी बाहेक बेलायत अमेरिकाबीचको बढ्दो व्यापारिक समबन्ध र कोरोना माहामारीमा चिनियाँ छल र हङकङमाथि चिनियाँ हस्तक्षेपका घटनाले बेलायतलाई यसो गर्न बाध्य पारेको विश्लेषकहरुको टिप्पणी छ। हुवावेले भने बेलायतमा १ हजार ६ सय कर्मचारीहरु रहेका र आफु बेलायतमा चीनकातर्फबाट लगानी गर्ने ठूलो लगानीकर्ता भएको भन्दै त्यहाँका अधिकारीहरुलाई मनाउने कोशिसमा लागेको जनाएको छ।

यसैबीच हुवावेका बेलायती अध्यक्षले राजीनामा दिएका छन् । आफ्नो कार्यकाल सकिनै लागेका बेला उनले राजीनामा दिनलागेको स्काइन्युजले जनाएको छ ।

बेलायतमा हुवावेको पहुँच 
हुवावेले बेलायतका थुप्रै कलेजहरुमा अनुसन्धानका लागि आफ्नो पहुँच एवं लगानी गरेको छ । इम्पेरियल कलेज, लण्डन र साउथहेम्पटन एवं सुर्रेमा पनि हुवावेले लगानी गरेको बताइएको छ। यसबाहेक हुवावेले आफ्नै अनुसन्धान केन्द्र खोलेर बेलायतमा ४ सय जनालाई रोजगारी दिएको छ । हालै बेलायतमै १ अर्ब डलर बराबरको अुनसन्धान केन्द्र खोल्नका लागि समेत बेलायतले अनुमती पाएको छ ।

यद्यपि नयाँ प्रतिबन्धसँगै यो योजना भने खारेज गर्न सक्ने एक अधिकारीले बताएका छन् । हुवावेले बेलायतमा अनुसन्धानकेन्द्र खोलेर भविष्यमा त्यहाँबाट विश्वभर आफ्नो व्यापारको सञ्जाल विछ्याउने योजना बनाएको थियो ।

कसरी भयो सुरक्षा खतरा ?
मोबाइल नेटवर्क दुई भागमा विभाजन हुन्छ । पहिलो मुख्य भित्रि भाग (कोर) र अर्काे बाहिरी भाग (रेडियो एक्सेस नेटवकर्ट अथवा–रेन) कोरले मुख्य भुमिका निर्वाह गर्ने गर्छ । यसलाई मोबाइल नेटवर्कको दिमाग समेत भनिन्छ । यसले प्रयोगकर्ताको पहिचान प्रमाणीकरण गर्ने र एक व्यक्तिबाट अर्कोमा फोनसम्पर्क गराउने जस्ता महत्वपूर्ण काम कोरबाटै हुनेगर्छ ।

रेनले कोरसँग र एक मोबाइलबाट अर्को मोबाइलसम्म संकेत पुर्याउने काम मात्रै गर्छ । रेनलाई कामविहिन भागसमेत भन्ने गरिन्छ। बेलायतका दुई ठूला दुरसञ्चारसेवा प्रदायक बीटी र ईईले हुवावेकै उपकरणहरु कोरका(मुख्यभाग) लागि प्रयोग गरेका छन् । यद्यपी उनीहरुले २०२२ सम्ममा स्विडेनकै कम्पनी एरिक्सनका उपकरणहरु प्रयोग गर्ने बताएका छन् ।

यसो भयो भने बेलायतमा हुवावेले रेन अर्थात दुरसञ्चारको बाहिरि अंगमा मात्रै आफ्ना उपकरणहरु प्रयोग गरेको हुनेछ। मुख्यभागमै हुवावेका उपकरणहरु जडान भएमा बेलायतका प्रयोगकर्ताको सुचना चीनले अनधिकृत रुपमा लिन सक्ने कुरा उठेका थिए । अमेरिकाले पनि यस्तै किसिमको सुरक्षा खतराका कारण हुवावे प्रयोग नगर्ने भन्दै प्रतिबन्ध गरेको हो।

चीनबाट प्रविधिका क्षेत्रमा यसबाहेकका सुरक्षा खतरा ?
चीनले टिकटकबाट समेत विश्वभरका प्रयोगकर्ताको व्यक्तिगत जानकारी अनधिकृत रुपमा लिन सक्ने बताइएको छ । यसबाहेक हङकङका अधिकारीहरुले फेसबुक, गुगल, ट्विटरलगायत सबैजसो सामाजिक सञ्जालहरुबाट प्रयोगकर्ताको व्यक्तिगत सुचना माग्थे र सामाजिक सञ्जालहरुले दिँदै पनि आएका थिए ।

यसैबेला चीनले हङकङमाथि नयाँ सुरक्षा कानुन लागु गरेको छ । यो कानुनले हङकङमा रहेका कम्पनीहरुबाट विभिन्न किसिमका जानकारीहरु चीनले लिनसक्ने क्षमता राख्छ ।

चीनले यस्तो कदम चालेसँगै एप्पल र माइक्रोसफ्ट बाहेक सबै सामाजिक सञ्जालहरुले अब हङकङका अधिकारीहरुलाई कुनै पनि प्रयोगकर्ताको जानकारी नदिने निर्णय गरेका छन् ।

एप्पपल र माइक्रोसफ्ट चीनसँगको सम्बन्धमा पहिलेदेखि नै विवादास्पद रहिआएका छन् । केहि दिन अघि भारतले टिकटकलगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाइदिएको छ । भारतबाट चिनियाँ एपले करोडौं प्रयोगकर्ताका डाटा अनधिकृत रुपमा लिएको आरोप समेत लागेको थियो। अमेरिकाले पनि टिकटकमाथि समेत प्रतिबन्ध लगाउने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ