arrow

राजनैतिक अभ्यासको प्रयोगशाला मात्र बन्यो देश  

logo
पुष्पराज रोकाया,
प्रकाशित २०७७ असार ३१ बुधबार
pusparaj-rokaya.jpg

हाम्रो बाबुबाजेले बुनेका निङ्गालाका मोट्टा, कुरु, खार्या र सुप्पा अझै सुरक्षीत छन् गाउँबस्तीका घरहरुमा । विस १९९० को दशकमा जन्मेर घ्यू, मह र गाई भैंसीको गोरसमा जीउ धानेका बाजे बज्यै पनि जीवितै छन् अचेल पनि । तिनले तानाशाही राणा शासनकाल धाने, निर्दलीय पंचायत धाने अनि निरंकुश राजतन्त्र र बहुदलीय व्यवस्था पनि धाने । आज संघीय लोकतान्त्रिक गणतन्त्रको नाङ्गो नाच हेरेर घरको पिढी र कौसीमा जीवन धान्दैछन ती वृद्ध बा आमाहरु ।

राज्य संचालनका शासन व्यवस्था र शासकीय स्वरुप त दशकपिच्छे बदलिए तर बदलिएनन् ती वृद्ध बा आमाका भोटो र जामाहरु । दिनदहाडै लुटपाट, ठगी नभएको चोक रहेन, भ्रष्टाचार र कमिसन नजोडिएर घर भित्रिने कुनै थोक भएन । यिनै हुन् त्यो पुस्ताले ग्रहण गरेका उपलब्धीहरु, अनि हाम्रा शासकहरुले नागरिकलाइ गरेका उपहारहरु ।

२००७ साल यताका शासन व्यवस्था र उपलब्धीलाई हेर्दा मुलुक त केवल राजनैतिक व्यवस्था अभ्यासको प्रयोगशाला मात्र बन्यो । हलो जोत्ने खेतमा हिंसाको खेती भयो, कोदो उमार्ने करेसामा क्रोधको उत्पादन गराइयो ।  के नेपाली धर्ती यत्तीका लागि मात्र हो त ? 

फेरि आज सेवा सुविधा र शक्तिको विकेन्द्रीकरणका नाउँमा संघीयताको अभ्यासमा बामे सर्दैछौ आज हामी । स्थानिय स्रोत र साधनको उच्चतम प्रयोग र स्थानिय रुपमै दक्ष जनशक्तिको उत्पादन र परिचालनको नारा गुन्जीत छ कानका वरिपरि ।

संघीयता कार्यान्वयनको तीन वर्ष पुगिसक्दा पनि उपलब्धि भने शुन्यप्राय नै छ अझ । सत्तरी वर्ष लामो संघर्षको इतिहासले स्थापित गरेका केही मुलभुत मान्यता र सिद्धान्तलाई  वर्तमान शासकवर्गको अहंकारले वर्षासंगै आएको बाढीमा मिसाउने प्रयत्न भैरहेको छ । शासकवर्गको कार्यशैली र अभिव्यक्तिको टिप्पणी गर्दा लोकतान्त्रिक गणतन्त्र र व्यवस्था बिरोधी भइन्छ यहाँ । रत्तिभर आलोचना खेप्न नसकी तत्काल प्रतिक्रियामा उत्रिने प्रधानमन्त्री ओलीको आचरणले नागरिक तप्काका वाक्क दिक्क छाएको छ भने संविधानमा उल्लेख हक,अधिकारको मजाक पनि उडाएको छ । आफू अनुकुल हुदा सबै ठिकठाक हुने र आफू प्रतिकुल हुदा सबै बेठिक हुने भन्ने मान्यताले ग्रस्त छन्  हाम्रा प्रधानमन्त्री समेत ।  मुलुकको कार्यकारी प्रमुखमा आसिन ब्यक्तिको अहंकार र राष्ट्र प्रमुख महामहिम विद्यादेवीको कार्यशैलिका कारण लोकतान्त्रिक गणतन्त्र माथि सूर्यग्रहण छाएको छ आज । त्यो सुर्यग्रहणले राशिफल जस्तै गरि नजिकका आफन्तजन, नातागोता र आफ्नै वरिपरिकालाई फाइदाजनक नै छ भने आम नागरिक र मुलुकको भबिष्यका निम्ति घातक सावित भैसकेको छ ।

बिधिले ब्यक्तिलाइ बाध्नु पर्ने ठाउमा ब्यक्तिले बिधिलाई बन्धक बनाइरहदा हामीले अभ्यास गरिरहेको व्यवस्थाको पनि औचित्य समाप्त हुन सक्छ । हिजो आठ र नौ महिने र एक डेढ सालको मात्र निश्चित आयु लिएर आएका सरकारहरुको विकल्पमा आज दुई तिहाइ नेकपाको सरकार पाँच वर्षका लागि सत्तामा छ । करिव छब्बीस महिने कार्यकाल सम्पन्न गरिसक्दासम्म मुलुकका निम्ति उपलब्धी त परै जाओस् उल्टै झन सत्तारूढ दल नेकपा आफै भित्रको किचलो र कुर्सीको लुछाचुडिमा ध्यानमग्न छ । पद्धति र आचरण असल छैन भने दुई तीहाइले पनि चिउरा भिज्दैन भन्ने कुरा हाम्रा अगाडि प्रष्ट भैसकेको छ ।

युवावस्थामा भरपुर जोश, जागर र उमंग रहँदा अहिलेका सत्तारुढ, प्रतिपक्षी दल लगायत अन्य दलका नेतृत्व र नेताहरुले मुलुकका निम्ति ठूलो बलिदान र संघर्ष गरेको ईतिहास किमार्थ भुल्न सकिँदैन र भुल्नु पनि हुन्न । तर पचास र साठी वर्षको उमेरसम्म आइपुग्दा उर्जामा शिथिलता र स्वास्थ्यमा अस्वस्थता हुँदा समेत मुलुकको भविस्य उहाँहरुकै जिम्मा छोडिएको छ आज ।

भएभरको जोश, जागर, दक्षता र क्षमता विभिन्न किसिमका आन्दोलन र संघर्षमा खर्चिसकेका उहाहरुसँग अब बाँकी रहेको भनेको ब्यक्तिगत लोभ र लालच, ईर्ष्या र कुण्ठा मात्र देखिन्छ । र अब उहाँहरुको हातबाट देश उभो लाग्न सक्दैन भन्ने कुरा प्रष्ट भैसक्दा पनि युवापुस्ता चुपचाप बस्नै हुन्न । बरु हरेक राजनैतिक दलमा आवद्ध र आस्था राख्ने युवाहरुले एक पटक उनीहरुलाइ प्रश्न गरेर भन्नैपर्छ कि ' साठी कटेका नेताहरु सुध्रिनुहुन्छ कि हामी बिग्रिउँ ?' भनेर ।                         

फ्रान्सको प्रधानमन्त्री पदबाट राजीनामा दिएर एडवार्ड फिलिप नगर प्रमुख बने अनि अस्ति मात्रै २६ वर्षका युवक हार्दिक पटेल भारतिय कांग्रेस पार्टीबाट गुजरात प्रदेशको कार्यकारी अध्यक्षमा निर्वाचित भए। करिव ६ करोड जनसंख्या भएको गुजरात प्रदेशबाट २६ वर्षको कलिलो युवकले कांग्रेस आइबाट नेतृत्व गर्नुले आम युवाहरुमा नवीन जोश र उत्साहको माहोल सिर्जना गरिदियो । तर हाम्रोमा भने यहाँ हरेक राजनैतिक दलका वडा, नगर जिल्लादेखि लिएर केन्द्रिय कमिटी समेत वृद्ध संघ, संगठन जस्तै मात्र छन् । आफ्ना स्वार्थका निम्ति ओठेभक्ती र युवा सहभागिताका कोरा नारा दिनेहरुले आजको युवा पुस्तालाइ सत्ता र पद प्राप्तिको सिढीका रुपमा साधनजस्तै प्रयोगमात्र गरिरहेका छन्। अनि ह्वीलचेयरमा बसेर सरकारले दिएको वृद्धभत्ताबाट चियाको चुस्की लगाउदै सुस्केरा हाल्ने बेला मुलुक र पार्टीको नेतृत्वमा अडिग भए। क्षमता र विचारलाई पाखा लगाएर मर्यादाक्रम र वरियताको नाउँमा युवाहरुलाइ निर्णय प्रकृया र नेतृत्वमा आउन बन्देज जस्तै बनाइएको छ हरेक राजनैतिक दल र संघ संगठनहरुमा । हाम्रा पछिल्ला राजनैतिक घटनाक्रम र आन्दोलनका परिवर्तनले राजनीतिलाइ अर्थोपार्जानको एक बलियो आधारका रुपमा स्थापित गरिदिदा पद र कुर्सीका निम्ति मरिहत्ते गर्ने प्रवृत्ति नै राजनितिको पहिलो परिचय र परिभाषा बन्यो ।

कहि असंख्य विकृतिको कारखाना छ भने त्यो नेपाली राजनीति क्षेत्र नै हो । त्यस्तै सबैभन्दा छोटो समयमा आर्थिक रुपमा मजबुत र सम्पन्न हुने कुनै सहज बाटो र व्यवसाय छ भने त्यो पनि राजनीति नै हो । नीति मध्येको सर्वोत्कृष्ट नीति, विशुद्ध अनि निस्वार्थ सामाजिक सेवाभाव हुनुपर्ने राजनीति आज यति घिनलाग्दो र फोहोर बनाइयो, कि कुरा गरिसाध्य छैन । यही घिनलाग्दो राजनैतिक अभ्यासका कारण आज नेपाली युवाहरु ठ्याक्कै दुई भागमा बिभाजित देखिन्छन् । युवा पुस्ताको एउटा यस्तो जमात छ जो सिमित नेताहरुको भरिया बाहेक अरु केही बन्न सकेका छैनन् । अनि अर्को जमात तिनै राजनितिकर्मी नेता र पार्टीलाई गाली गर्नु सिवाय केही छैन । यी दुवै प्रवृत्ति सरासर गलत र मुलुकको हित विपरित छन् । कुनै राजनैतिक दलको झोले कार्यकर्ता बनेर भरिया हुनु र राजनितिलाइ गाली गरिरहनुले समाजलाइ कहिँ कतै पर्याउदैन । बरु आम रुपमा युवाहरु संगठित भएर पार्टी र मुलुकको नेतृत्व अनि निर्णय प्रक्रियामा हस्तक्षेप गर्नु नै जरुरी देखिन्छ ।

पन्ध्र वर्षको उमेरमा विद्यालय पढ्दै गर्दा पकेट खर्चका लागि पत्रीका बेच्ने सन्ना मरिन ३४ वर्षको उमेरमै संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्रीको रुपमा फिनल्यान्डको प्रधानमन्त्री बन्न सक्छिन भने दशकौंदेखि नेपालका राजनैतिक परिवर्तन र आन्दोलनको नेतृत्वगर्ने हाम्रा युवा नेताहरु मुलुक हाक्न सक्दैनन होला त ? सरासर सक्छन । मात्र इच्छाशक्ति र इमान्दारीता हुनु पर्यो, देखाउनुपर्यो।

सधैंभरी अयोग्य र असक्षम सावित भैसकेका बाजे नेताहरुलाइ काध थाप्नु भन्दा युवाहरु आफैले नेतृत्व उछिन्नै पर्छ । च्याउ जस्तै उम्रेका नेपालका दर्जनौं राजनैतिक दलहरुले गर्दा आज २०५ मत प्राप्त गर्नेले ८० प्रतिशत जनमतको खिल्ली गर्दै शासन चलाइरहेका छन् । त्यसैले यो खालको निर्वाचन प्रणालीले पनि लोकतन्त्रलाई कमजोर बनाइदिएको छ । यस्ता थुप्रै प्रणालीगत त्रुटीहरुलाइ सुधार र परिमार्जन गर्ने हो भने पनि युवाहरुको एकीकृत आवाज र अभियानले मुलुकलाइ विकासको गतिमा अनिवार्य तान्न सकिन्छ ।

बेलैमा विदेश छिरेर अलिकती आर्थिकरुपमा मजबुत र सम्पन्न भएका युवायुवती नेपाल फर्कौ अभियानमा छन भने मुलुक भित्र अझै पनि कहिँ कतै आफ्नो सुन्दर भविस्य नभेट्टाएका युवाहरु वैदेशिक रोजगारलाइ नै निर्विकल्प लक्ष्यका रुपमा लिएर मेन पावर कम्पनिको दैलो अगाडि मेला जस्तै भेला छन । तर सरकार मौन छ अनि नेताहरु ब्यक्तिगत लाभहानीको प्रतिस्पर्धामा तल्लिन । यसरी नै कति दिन चल्छ ? कहिलेसम्म चल्छ ? यी प्रश्न तत्कालका लागि अनुत्तरित छन र समाधानका निम्ति सार्थक प्रयास पनि छैन । मुलुकको वार्षिक बजेटको करिव ३०-३५ प्रतिशत अर्थतन्त्र रेमिट्यान्सले धानेको छ १ खरबौको आयात छ, लाखौंको निर्यात छ । केही छिमेकीको बक्रदृष्टिका कारण र सन्तुलित परराष्ट्र नीति विपरित हुनेगरि हाम्रा राजनैतिक नेतृत्वले गरेका विदेशिहरुसँगको अनावश्यक चुम्बन चाकडीले गर्दा वैदेशिक सम्बन्ध बिग्रदो छ । यी र यस्तै यस्तै समस्यामा मुलुक कुहिरोको काग जस्तै भएको छ। समस्याका पहाडहरु खडा गर्ने ल्याकत सरकार, प्रतिपक्ष र सबै राजनैतिक दलहरुसंग प्रशस्त छ । तर निकासका बाधहरु खोल्ने कला कसैमा देखिदैन । अनावश्यक ढीपी गरेर आत्मरतीमा रमाउदै हाम्रा राजनैतिक नेतृत्वले मुलुकलाइ अनिर्णयको बन्दी बनाएको छ । तर मुलुकका निम्ति ओभरटाइम काम गर्नुपर्ने युवापुस्ता मौन छ । म मौन छु, तपाईं मौन हुनुहुन्छ । यो मौनताको भाव बुझ्ने न सरकार छ, न प्रतिपक्ष छ । सुखी नेपाली सम्वृद्ध नेपालको यात्रा अगाडि बढीरहेका बेला यी भोका पेटहरुले राष्ट्रियता धान्नुको पीडा कित सिमानामा जङ्गेपिल्लर बनेर बसेका नागरिकलाइ थाहा छ, कित यमलोकका हाम्रा वीर पुर्खा र महान सहिदहरुलाइ थाहा छ।                          



नयाँ