विश्वव्यापीहरुमा स्वास्थ्यकर्मीहरूलाई चुप लगाउने, जोखिममा पार्ने र आक्रमण गरियोः एम्नेष्टी  

हाम्राकुरा संवाददाता, प्रकाशित मिति : २०७७ असार ३१ बुधबार

काठमाडौं। संसारभरीका स्वास्थ्यकर्मीहरूको अनुभवलाई दस्तावेजीकरण गर्दै एक नयाँ प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले कोभिड-१९ बाट संरक्षण प्रदान गर्न नसकी भएको स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मीहरूको मृत्युमा सरकारहरूलाई जवाफदेही बनाइनुपर्ने बताएको छ। एम्नेस्टीद्वारा गरिएको उपलब्ध तथ्याङ्कहरूको विश्लेषणले संसारभरी ३ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरूले कोभिड-१९ बाट ज्यान गुमाउनुपरेको खुलेको छ । यो तथ्याङ्क वास्तविकताभन्दा अझ निकै कम पनि हुन सक्दछ ।

अझ डरलाग्दो त के छ भने कोभिड-१९ प्रतिकार्यको सन्दर्भमा सुरक्षा जोखिमताका कुराहरू उठाउने स्वास्थ्यकर्मीहरूले गिरफ्तारी र हिरासतदेखि लिएर धम्की र निष्कासनसम्मका प्रतिशोधहरू सामना गर्नुपरेको एम्नेस्टी इन्टरेनसनलले आफ्नो प्रतिवदेनमा दस्तावेजीकरण गरेको छ ।   

“कोभिड-१९ महामारी विश्वभरी अझै थप फैलिरहेको अवस्थामा हामी सरकारहरूलाई स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको जीवनलाई गम्भीरताका साथ लिन आह्वान गर्दछौँ । कोभिड-१९ महामारीको खराब उत्कर्ष अझै नबेहोरेका देशहरूले अन्य देशहरूको गल्ती दोहोर्याउन हुँदैन जसले स्वास्थ्यकर्मीहरूको अधिकार संरक्षण गर्न नसेको कारण विनाशकारी परिणामहरू भोग्नुपर्यो,” एम्नेस्टी इन्टरनेसनलको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी अनुसन्धानकर्ता र सल्लाहकार सनिता अम्बास्टले भने। 

“आफ्नो जीवनलाई नै जोखिममा पार्न सक्ने अवस्थाहरूका बारेमा आवाज उठाउने स्वास्थ्यकर्मीहरूलाई केही सरकारले त सजायँनै गरेको देखिनु एकदमै चिन्ताजनक छ । अग्रपंक्तिमा रहेका स्वास्थयकर्मीहरूले नै कुनै सरकारी नीतिले काम गरेको छ वा छैन भनी सबैभन्दा पहिला थाह पाउँदछन् र उनीहरूलाई चुप लगाउने अधिरकारीहरूले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् भनेर गम्भीरताका साथ दाबी गर्न सक्दैनन् ।”

हजारौँले आफ्नो जीवन गुमाएका छन्

कोभिड-१९ को सङ्क्रमणका कारण कति स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको मृत्यु भएको छ भन्ने कुराको अहिले कुनै व्यवस्थित विश्वव्यावी लेखाजोखा छैन ।

यद्यपि, एम्नेस्टी इन्टरनेसनलले सङ्कलन गरी विश्लेषण गरेको उपलब्ध फराकिलो तथ्याङ्कले के देखाउँछ भने विश्वका ७९ देशहरूमा ३००० भन्दा धेरै स्वास्थ्यकर्मीहरूले कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

एम्नेस्टी इन्टरनेसनलको अनुगमनअनुसार स्वास्थ्यकर्मीहरूको अहिलेसम्म सबैभन्दा उच्च मृत्यु हुने देशहरूमा सयुक्त राज्य अमेरिका (५०७), रसिया (५४५), बेलायत (२६२ सामाजिक सेवाकर्मीहरू सहित ५४०), ब्राजिल (३५१), मेक्सिको (२४८), इटली (१८८), इजिप्ट (१११), इरान (९१), इक्वेडर (८२) र स्पेन (६३) रहेका छन् ।

कम रिपोर्टिङ्ग भएका कारण यो सङ्ख्या वास्तविक तथ्याङ्कभन्दा एकदमै न्यून हुन पनि सक्दछ । त्यस्तै फरक फरक गिन्तिका कारण विभिन्न देशहरूबीचको वास्तविक तुलना गर्न पनि कठिन छ । उदाहरणका लागि फ्रान्सले केही अस्पताल र स्वास्थ्य केन्द्रहरूबाट मात्र तथ्याङ्क लिएको छ भने इजिप्ट र रसियाका स्वास्थ्य सङ्गठनहरूले दिएको मृत स्वास्थ्यकर्मीहरूसम्बन्धी तथ्याङ्कलाई त्यहाँका सरकारहरूले सही नभएको भनी अस्वीकार गरेका छन् ।   

जीवन बचाउने सुरक्षात्मक सामग्रीको अभाव

एम्नेस्टी इन्टरनेसनलले सर्भे गरेको ६३ देश र भुभागमध्ये प्राय सबै ठाउँका स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षात्मक सामग्रीहरूको गम्भीर अभाव भएको जनाएका छन् ।

यिनमा महामारीको अझै भयानक रूप देखा पर्न सक्ने देशहरू जस्तै भारत र ब्राजिल लगायत अफ्रिकाका थुप्रै देशहरू पर्दछन् । मेक्सिको शहरमा काम गर्ने एकजना डाक्टरले एम्नेस्टी इन्टरनेसललाई के भने भने त्यहाँ डाक्टरहरूले आफ्नो मासिक पारिश्रमिकको १२ प्रतिशत जति रकम सुरक्षात्मक सामग्री खरिद गर्नमै खर्च गर्ने गरेका छन् ।

यी सामग्रीहरूको आपूर्तिमा भएको विश्वव्यापि अभावका साथै व्यापारमा लगाइएके प्रतिबन्धका कारण पनि यो समस्या विकराल भएको हुन सक्दछ । सन् २०२० को जुनमा ५६ वटा देश र दुईवटा व्यापारिक गुटहरूले (युरोपियन युनियन र युरेशियन आर्थिक सङ्घ) ले केही वा सबै स्वरूपका सुरक्षात्मक सामग्रीहरू वा तिनको अवयवहरूको निर्यातलाई प्रतिबन्ध वा निषेध गर्ने उपायहरू लागू गरेका थिए ।

“राज्यहरूले आ-आफ्नो भूभागका स्वास्थ्यकर्मीहरूले पर्याप्त सुरक्षात्मक सामग्रीहरू प्राप्त गरेको सुनिश्चित गर्नुपर्ने हुन्छ र यस्तो खाले व्यापार प्रतिबन्धले सुरक्षात्मक सामग्रीहरूको आयातमा निर्भर देशहरूमा यस्ता सामग्रीहरूको अभवालाई झन खराब बनाउने जोखिम हुन्छ,” सनिता अम्बास्टले भनिन् ।

“कोभिड-१९ महामारी विश्वव्यापी समस्या हो र यसलाई सामना गर्न विश्वव्यापी सहयोगको आवश्यकता पर्दछ ।”

प्रतिशोध

सर्भे गरिएका कम्तिमा ३१ वटा मुलुकहरूमा काम गर्ने असुरक्षित अवस्थाका कारण स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूले हड्ताल गरेको, हड्ताल गर्ने चेतावनी दिएको वा विरोध प्रदर्शन गरेको विवरणहरूको एम्नेस्टी इन्टरनेसनलका अनुसन्धानकर्ताहरूले अभिलेख गरेका छन् । धेरै देशहरूमा त यस्ता गतिविधिहरू गर्नेहरूसँग अधिकारीहरूले प्रतिशोध पनि साँटेका छन् ।

उदाहरणका लागि इजिप्टमा नौजना स्वास्थ्यकर्मीहरूलाई मार्च र जुन महिनामा "गलत समाचार फैलाएको" र "आतङ्कवाद" जस्तो अस्पष्ट र एकदमै विस्तृत खालको अभियोगहरू लगाई स्वेच्छाचारी रूपमा हिरासतमा लिइएको एम्नेस्टीले अभिलेख गरेको छ । यसरी हिरासतमा लिइएका सबैजसोले सुरक्षासम्बन्धी चासो दर्शाउनुका साथै सरकारले महामारी नियन्त्रणमा गरेको कमजोरीलाई आलोचना गरेका थिए ।

सरकारका कमजोरीहरूमा बोल्ने डाक्टरहरूलाई धम्क्याउने, राष्ट्रिय सुरक्षा निकायबाट केरकार गर्ने, प्रशासनिक प्रश्नवाजी गर्ने र सजायसमेत गर्ने गरिएको इजिप्टका अर्का एकजना डाक्टरले एम्नेस्टी इन्टरनेसनललाई बताए । उनले थप भने : “धेरै डाक्टरहरूले यस्तो आहत र थकित पार्ने खालको यताउति गर्नुभन्दा बरू आफ्नो लागि सुरक्षात्मक सामग्री आफै खरिद गर्न रूचाउन थालेका छन् । अधिकारीहरूले डाक्टरहरूलाई मृत्यु र जेलमध्ये एक रोज्न बाध्य पारिरहेका छन् ।”

कतिपय अवस्थामा विरोध र हड्तालका कदमहरूलाई सरकारले निरङ्कुश शैलीमा व्यवहार गरेको छ ।

उदाहरणका लागि मलेशियमा एउटा अस्पताल सफा गर्ने कम्पनीविरूद्ध भएको शान्तिपूर्ण धर्नालाई प्रहरीले बल प्रयोग गरी तितरबितर पारेको छ । कम्पनीले आफ्ना सदस्यहरूलाई गरेको अन्यायपूर्ण व्यवहार र अस्पताल सफा गर्ने सफाइकर्मीहरूलाई पर्याप्त संरक्षणको अवाभ आदिका बारेमा धर्नाकारीहरूले आफ्नो गुनासो राखेका थिए । प्रहरीले "अनधिकृत भेला गरेको" आरोपमा पाँचजनालाई गिरफ्तार गरी हिरासतमा राख्यो र उनीहरूको सङ्गठन र भेला गर्न पाउने अधिकारको उल्लङ्घन गर्यो ।

“स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूमा अन्यायपूर्ण व्यवहारविरुद्ध आवाज उठाउने अधिकार रहेको हुन्छ,” सनिता अम्बास्टले भनिन् ।

“स्वास्थ्यकर्मीहरूले सरकारलाई महामारीविरुद्धको प्रतिकार्यलाई सुधार गर्नमा सहयोग गर्न सक्दछन् । साथै उनीहरूले सबैलाई सुरक्षित राख्न पनि सहयोग गर्दछन् । तर यदि उनीहरू जेलमा पुगेभने उनीहरूले यस्तो गर्न सक्नेछैनन् । यदि उनीहरूले बोल्न सकेनन् भने पनि यस्तो गर्न सक्नेछैनन् ।”

आफ्नो चासोहरूका बारेमा बोलेका कारण धेरै देशहरूमा स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मीहरूले अनुशासनात्मक कारबाही खेप्नुपरेको वा उनीहरूलाई कामबाट बर्खास्त गरिएको प्रतिवेदनहरू पनि रहेका छन् । 

उदाहरणका लागि संयुक्त राज्य अमेरिकामा नर्सिङ्ग सहायक टैनिका सोमर्भिललाई उनले फेसबुकमा राखेका भिडियोका कारण कामबाट बर्खास्त गरिएको थियो । उक्त भिडियोमा उनले अतिरिक्त सुरक्षात्मक सामग्रीको माग गरेको थिइन् । टैनिका भन्छिन् उनी काम गर्ने इलिन्वाएको नर्सिङ्गहोमका कर्मचारीहरूलाई कोभिड-१९का बिरामीहरूसँग उनीहरूले काम गरिरहेका छन् भन्ने कुरा बताइएको थिएन र यो कुरा उनले सञ्चारमाध्यमबाट थाह पाएकी थिइन् । उक्त नर्सिङ्ग होममा ३४ जनाको सङ्क्रमण भएको थियो र मे २९ सम्ममा १५ जनाका कोभिड-१९ का कारण मृत्यु भएको थियो ।

रसियामा एम्नेस्टी इन्टरनेसनलले युलिया भोल्कोभा र टाटिआना रेभा दुई डाक्टरको मुद्दलाई प्रकाशमा ल्याएको छ । सुरक्षात्मक सामग्रीको अभवाका बारेमा गुनासो गरेका कारण उनीहरूले प्रतिशोधको सामना गरिरहेका छन् । युलियालाई रसियाको मिथ्या समाचार कानुनअन्तर्गत अभियोग लगाइएको छ र उनले एक लाख रुबल (अमेरिकी डलर १,४४३) जरिवाना सामना गरिरहेकी छन् भने टाटिआना रेभाले अनशासनात्मक कारबाही भोगिरहेकी छन् जसले उनको बर्खास्त समेत गर्न सक्दछ ।

असुरक्षित कार्यस्थलका अलावा केही स्वास्थ्य र अत्यावश्यक सेवा कर्मीहरूलाई कसरी अन्यायपूर्ण पारिश्रमिक भुक्तान गरिन्छ र केही अवस्थामा पारिश्रमिक नै दिईदैन भन्नेबारे एम्नेस्टी इन्टरनेसनलले दस्तावेजीकरण गरेको छ ।

उदाहरणका लागि दक्षिण सुडानमा सरकारी तलबमा कार्यरत चिकित्सकहरूले फेब्रुअरीदेखि तलब पाएका छैनन् र उनीहरूले अन्य कल्याणकारी वा मेडिकल सुविधाहरू पनि पाएका छैनन् । ग्वाटेमालामा कम्तिमा पनि ४६ जना कर्मचारीहरूलाई साँढे दुई महिनादेखि कोभिडसम्बन्धी एउटा अस्पतालमा काम गरेकोमा पारिश्रमिक भुक्तान गरिएको छैन ।

कोभिड-१९ महामारीका सन्दर्भमा केही देशहरूमा स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको लागि कुनै थप सुविधाहरू उपलब्ध छैनन् र अन्य देशहरूमा केही समूहका कर्मचारीहरूलाई सुविधामा समावेश गरिएको छैन ।

एम्नेस्टी इन्टरनेसनल राज्यहरूलाई कोभिड-१९ लाई एक पेशासँग सम्बन्धित बिमारीपन मान्न आहवान गरिरहेको छ।

यसअनुसार स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीलाई सङ्क्रमण सरेको खण्डमा क्षतिपूर्ति र अन्य सहयोगहरू उपलब्ध भएको उनीहरूले सुनिश्चित गर्नुपर्दछ । उनीहरूलाई पनि कोभिड-१९ परीक्षणको लागि प्राथमिकताको समूहमा समावेश गर्नुपर्दछ।

बदनामी र हिंसा

एम्नेस्टी इन्टरनेसनलले धेरैवटा घटनाहरूको दस्तावेजीकरण गरेको छ जहाँ स्वास्थ्य र अत्यावश्यक कर्मचारीहरूले आफ्नो पेशाको कारण बदनामी र हिंसाको सामना गर्नुपरेको थियो। उदाहरणका लागि मेक्सिकोमा एक नर्सलाई सडकमा हिंड्दा भिज्ने गरी क्लोरिन छ्यापिएको थियो र फिलिपिन्समा आक्रमणकारीहरूले अस्पतालका कर्मचारीका अनुहारमा ब्लीच खनाईदिएका थिए ।

यी घटनाहरूले गलत सूचना र स्वास्थ्यकर्मीहरूले भोगीरहेको बदनामीको वातावरणलाई इङ्गित गर्दछन् र कोभिड-१९ संक्रमणका सवालमा सरकारहरूले सही र सुलभ जानकारी प्रदान गर्नुपर्ने विषयको महत्त्वलाई जोड दिन्छ ।

एम्नेस्टी इन्टरनेसनलले गत अप्रिलदेखि पाकिस्तानमा स्वास्थ्यकर्मीहरूविरुद्ध भएको हिंसाका धेरै घटनाहरूको अभिलेख गरेको छ । अस्पतालहरू तोडफोड गरिएको छ, चिकित्सकहरूलाई आक्रमण गरिएको छ र एक जनालाई प्रतिआतङ्कवाद बलका सदस्यले गोली समेत हानेका थिए ।

पाकिस्तानका मन्त्रीहरूले अस्पतालमा आवश्यक साधनहरू भएको बताएपनि प्राप्त प्रतिवेदनहरूका अनुसार बिरामी राख्ने बिस्तारा, भेन्टिलेटर र जीवन बचाउने अन्य उपकरणको अभावका कारण अस्पतालहरू सिकिस्त भएका बिरामीहरूलाई पनि फर्काउन बाध्य भएका थिए । यसले गर्दा स्वास्थ्यकर्मीहरू जोखिममा परेका छन् किनभने उनीहरूले थप बिरामीहरू भर्ना गर्ने ठाउँ छैन भन्दा मानिसहरू विश्वास गर्दैनन् ।

सिफारिसहरू

"हामी कोभिड-१९  बाट प्रभावित सबै देशहरूलाई आफूले महामारीको लागि गरेको तयारी र महामारीविरुद्ध भए गरेका प्रतिकार्यहरूको बारेमा स्वतन्त्र र सार्वजनिक समीक्षा गर्न आग्रह गर्दछौं ताकी भविष्यमा हुनसक्ने अन्य रोगको व्यापक प्रकोपहरूमा मानवअधिकार र जीवनको उचित तरिकाले संरक्षण गर्न सकियोस्" सनिता अम्बास्टले भनिन्।

यसमा स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको उचित र अनुकूल वातावरणको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलगायतका अधिकारहरूको पर्याप्त सुरक्षा गरिएको थियो कि थिएन भन्ने विषयको पनि समीक्षा गरिनुपर्दछ ।

राज्यहरूले आफ्नो कामसँग सम्बन्धित गतिविधिहरूका कारण कोभिड -१९ संक्रमण भएका सबै स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूलाई पर्याप्त क्षतिपूर्ति सुनिश्चित गर्नुपर्दछ । स्वास्थयकर्मीहरूले स्वास्थ्य र सुरक्षासम्बन्धी चिन्ता उठाएका कारण प्रतिशोध सामना गर्नुपरेको घटनाहरूको छानबिन गर्नुपर्दछ र अन्यायपूर्ण व्यवहार खप्नुपरेकाहरूलाई प्रभावकारी उपचार प्रदान गर्नुका साथै बोलेकै कारण आफ्नो रोजगारी गुमाएकाहरूलाई पुनर्स्थापित गर्नुपर्दछ।

सम्बन्धित समाचार

नयाँ