arrow

मानसिक स्वास्थ्य र समाजको धारणा

logo
समृद्धी लामिछाने,
प्रकाशित २०७७ असार ३१ बुधबार
samridhi-lamichhane.jpg

"Don't judge someone by their clothes" भने जस्तै कसैलाई पनि हेरेर उसको मानसिक स्वास्थ्यको बारेमा हामीले केही अनुमान लगाउन सक्दैनौं । विश्व अहिले कोरोना महामारी (कोभिड–१९) को चपेटामा छ । यसको औषधी अहिलेको लागि घर भित्रै बस्ने र निस्किनु नै पर्दा सामाजिक दुरी कायम गरेर मास्क र पन्जा अनिवार्य रुपमा लगाएर निस्किनु पर्ने भएको छ । 

अहिले माहामारीको कारणले हाम्रो शारिरीक, मानसिक, तथा सामाजिक स्वास्थ्यमा एकदम प्रतिकुल परिस्थिती सृजना भैरहेको छ । मानसिक स्वास्थ्य समस्यालाई हामीले बेवास्ता गरेमा हाम्रो स्वास्थ्यमा मात्र नभएर हाम्रो पारिवारिक तथा सामाजिक समस्याहरुलाई पनि उत्पन्न गराउँछ । मानसिक स्वास्थ्यमा आएको विभिन्न समस्याका कारण आत्महत्यामा वृद्धि हुनुका साथै परिवारमा मेलमिलाप नहुने, निद्रा नलाग्ने, शरिर फुर्तिलो नहुने, केही पनी गर्न वा खान मन नलाग्ने, कसैलाई देख्न नसक्ने, स–सानो कुरामा रुने तथा आपराधिक गतिविधिमा मन लाग्ने जस्ता कार्यहरु पनि तीव्र गतिले बढि रहेको हुन्छ । यी सबै समस्याहरु मानसिक स्वास्थ्य समस्याले गर्दा हुने गर्दछ।

नेपालमा आज पनि मानसिक स्वास्थ्यको बारेमा मानिसहरु आफ्नै परिवार भित्र पनि खुलेर यस विषयमा कुरा गर्न सकेका हुँदैनन् । मेरो आफ्नै परिवारमा पनि आफूलाई भएको OCD (Obsessive Compulsive Disorder )  को बारेमा सुनाउँदा हासोको पात्र बन्न पुगेकी थिए। तर त्यती बेला मैले एउटा महत्वपूर्ण कुरा महशुस गरे । हामीले जसरी महिनाबारीको कुरा विद्यालयको पाठमा, समाजमा, घरभित्र, जनचेतनामुलक कार्यक्रमा जति खुलेर कुरा गरेका छौं सायद त्यसरी नै हामीले मानसिक स्वास्थ्य र त्यसका समस्याहरुको बारेमा यी सबै क्षेत्रमा खुलेर कुरा गर्न सकेको भए कसैले पनि आफूले भोगेको मानसिक स्वास्थ्य समस्याको बारेमा सुनाउन डराउँदैन थिए होला । कसैले पनि मानसिक स्वास्थ्य समस्या भएको मानिसलाई “पागल–पागल” भन्दै गिज्याउदैनन् थिए होला । मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिले आफ्नो भाव व्यक्त गर्न धेरै हिम्मत जुटाएर, जसलाई सुनाउन खोजेको उसलाई धेरै नै विश्वास गरेको हुन्छ। तर उहाँहरुको त्यो भाव, हिम्मतलाई हामी हाम्रो समाजले प्रेरणाहिन गर्ने र उसको समस्या सुनेपछी उसलाई बुझ्ने भन्दा पनि धेरै उसलाई र उसको भावलाई मजाक बनाउनका साथै उसको आत्मविश्वासको पनि हत्या गर्ने गर्दछन् ।

हाम्रो बोली वा व्यवहारले गर्दा पनि मानसिक स्वास्थ्य समस्या भएको मानिसलाई निको पार्न वा चोट दिन पनि सक्छ । यो समस्या तेरो मेरा भन्ने हुँदैन, यसले कुनबेला कसलाई पिरोल्छ भन्ने हामी कसैलाई पनि थाहा हुँदैन । त्यसैले हामीले एकदिनलाई, एकछिनलाई मात्र आफूलाई माया लाग्ने, माया गर्नेहरुसंग बोल्ने भन्दा पनि, हामीले दैनिकी कुरा गर्न सके हाम्रो मानसिक स्वास्थ्यको लागि एकदमै लाभदायक हुनेछ ।

अहिलेको परिस्थितिलाई मध्यनजर गरेर राज्यले मानसिक स्वास्थ्य समस्याको लागि अनलाइन जनचेतना मुलक कार्यक्रम, चौविसै घण्टा हटलाइन तथा काउन्सेलिङ जस्ता सेवाहरु सुचारु गरी सातै प्रदेश तथा सम्पूर्ण स्थानिय निकाय सम्म सेवा प्रदान गर्न सके आत्महत्या, डिप्रेशन जस्ता समस्याहरु रोकथाम हुन सक्छन्। तर राज्यले भन्दा पनि धेरै हामी आफै सचेत हुन आवश्यक छ । हामीले आफ्नो तर्फबाट सकारात्मक भूमिका वहन गर्न सके मानसिक स्वास्थ्य समस्याबाट धेरैलाई बचाउन सकिन्छ । यो समस्या बालक, किशोर–किशोरी, युवा देखि वृद्ध जसलाई पनि हुन सक्छ। त्यसैले हामीले यसको बारेमा आफै सचेत हुन आवश्यक छ ।

हाम्रो मानसिक स्वास्थ्य समस्या कोरोना माहामारी पछि पनि राम्रै रहोस भन्नका लागि हामीले अहिलेको परिस्थितिमा सबै मिलेर यस समस्यालाई मध्यनजर राखेर र हिम्मतले कसैको पनि मानसिक स्वास्थ्य समस्याको खिल्ली नउडाई, डटेर सामना गर्ने मनोविज्ञानको विकास गर्न आवश्यक छ । जसले गर्दा मानसिक स्वास्थ्य राम्रो भई सम्पूर्ण जनता र सिङ्गो देशकै समृद्धि हुने कुरामा दुईमत छैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ