arrow

ओलीका बोलीको घाउचोटहरु: प्रधानमन्त्री बोलिरहने  मन्त्रालय खण्डन गरिरहने !

गलत मनसायले चलाइएका अस्त्र कि आफै चुक्छन कि चलाउने माथिनै बज्रिन्छन भन्ने मान्यताको  पुष्टी (ओली वचनवाण संग्रह –भाग १)

logo
केदार सुवेदी,
प्रकाशित २०७७ साउन १ बिहिबार
oli-boli2.jpg

सोमबार (२९असार) प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो निवासमा आयोजित एउटा कार्यक्रममा एउटा कुरा बोले । मंगलबार (३० असार) उनको  भनाइलाई सच्याउदै परराष्ट्र मन्त्रालयको स्पष्टीकरण आयो ।

यो आफैँमा एउटा अचम्मकै कुरा थियो शासकीय अवस्थामाथि नै शंका हुने खालको । यसलाई  सामान्य रुपमा बुझिँदा पनि देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको भनाईलाई उनकै एउटा मन्त्रालयले ग्रहण गर्न सकेन मात्र होइन त्यसको खण्डन नगरी नहुने अवस्था ठान्यो ।

त्यस दिन प्रधानमन्त्रीले ‘भगवान् श्रीरामको जन्मभूमि अयोध्या नेपालकै भए पनि भारतले विवादित अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको’ भनेका थिए । भगवान् रामलाई नेपाली बनाउन खोजिएको रामवाण निसानामा नपुग्दै फिर्ता लिनुपर्ने भयो ।

देशको प्रधानमन्त्रीले बोलेका कुरामा समग्र नागरिकहरुको साथ र समर्थन हुनुपर्ने हो । त्यो सोमवारका सबै सञ्चार माध्यम, सामाजिक सञ्जालदेखिका जेजस्ता प्रकारबाट आम प्रतिकृया व्यक्त हुनु पर्ने हो त्यो भयो  तर उल्टोबाट । जब प्रधानमन्त्रीले यो ‘वाण’ हाने त्यसको लगत्तै आम नागरिकले खिन्नता प्रकट गर्दै भने–प्रधानमन्त्रीले यस्तो नभनेका भए हुन्थ्यो । आफनो देशका कार्यकारी प्रमुख प्रधानमन्त्रीका बोलीको भार क्षमता हावा जस्तो हलुका भएको अवस्था कुनै नागरिकलाइ पाच्य हुँदैन नै । यस्ता प्रतिकृया सबैतिर संग्रहित भएका हुनुपर्छ  ।

स्थिति कतिसम्म भने त्यो दलका उच्च तहका नेताले समेत  प्रधानमन्त्रीले तुरन्तै यो भनाइ फिर्ता लिएर सरोकारहरुसंग माफीनै माग्न सुझाए । यस्तो सुझाव दिनेमा प्रधानमन्त्रीको दलका उपाध्यक्ष समेत थिए ।

त्यसको एउटा उदाहरण हुनुपर्छ परराष्ट्र मन्त्रालयको यो खण्डन । त्यसमा भनियो  ‘प्रधानमन्त्रीको यो भनाई राजनीतिक विषयसँग सम्बन्धित छैन ।’ प्रधानमन्त्रीले रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा रहेको दाबी गरेका थिए । यसको त समर्थन हुनुपर्ने थियो होला तर भएन । परराष्ट्रले विज्ञप्ति नै निकाल्दै ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको’ बतायो । मन्त्रालयको भनाइमा श्रीरामको जन्मभूमिलाई लिएर विभिन्न किंवदन्ती र सन्दर्भहरू रहेको पाइन्छ । प्रधानमन्त्रीले यो क्षेत्रको गहन सांस्कृतिक भूगोलको अध्ययन–अनुसन्धानले श्रीराम, रामायण र यहाँ जोडिएको धनी सभ्यताका बारेमा तथ्यहरू पहिल्याउन सकिनेबारे बताउनुभएको थियो, प्रधानमन्त्रीको अभिव्यक्ति अयोध्याको विशेषता र सांस्कृतिक महत्वलाई अवमूल्यन गर्नका लागि होइन । दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई नेपालले उच्च महत्वका साथ लिने गरेको छ ।’

परराष्ट्रले प्रधानमन्त्रीको भनाईलाई ढाकछोप गर्न खोजेका अवस्था उसका यी शब्दलेनै बताउँछन । प्रधानमन्त्रीले भारतको नामै तोकेर र त्यहाको अयोध्यालाई ‘नक्कली’ भनेका थिए । प्रधानमन्त्रीले भनेका शव्द एकपटक फेरी पढौं – ‘भगवान् श्रीरामको जन्मभूमि अयोध्या नेपालकै भए पनि भारतले विवादित अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको छ ।’

प्रधानमन्त्री भनाइका अरु अंश: 

‘हामी अहिले पनि ठानिरहेका छौं, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्या रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ हो ।

अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ त्यहाँ । (दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो । अयोध्या भारतले दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे ? त्यसबेला न टेलिफोन न मोबाइल रहेको । कताबाट थाहा होस्, थाहा हुन सम्भव थिएन । नजिकै खोजिन्थ्यो र बिहे भइहाल्थ्यो ।

रामले सीतालाई (अहिले भनिँदै आएको) अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मिकी आश्रममा छोडेको होइन । जंगलमा यसो परतिर लगेर छोडिदिनु भनेको ठाउँमा लक्ष्मण भाउजु लिएर महिनौं हराएका होइनन् । खुर्रर वाल्मिकी आश्रम पुर्‍याइदिए, फर्किए ।’

उपाध्यक्षले नै मागे माफी

नेकपाका उपाध्यक्ष बामदेव गौतमको संञ्जालमा आएको प्रतिकृयामा प्रधानमन्त्रीले धार्मिक युद्ध छेडेको आरोप । माफि नमागे स्थिति भयावह हुने संकेत  गौतम भनाइको एउटा अश:

‘भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौ ।

संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पुर्‍याउने क्रियाकलाप गर्न कसैले हुदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौ ।

राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु ।‘ (३० असार)

कूटनीतिमा ठूलो क्षति  

एक: पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य: पछिल्ला महिनामा भारतसँग देखिएको विवादजन्य मामिलामा भारतीय पक्षबाट सहसचिव तहका कर्मचारीले पनि प्रतिक्रिया दिन आनाकानी गरिरहेका बेला नेपालका प्रधानमन्त्रीले लगातार जवाफ फर्काइरहनु त्यति सहज भएन । भारतमा कुनै मुख्यमन्त्रीले बोलेको कुरामा हाम्रा प्रधानमन्त्रीले संसदमा गएर जवाफ दिनु त्यति सुहाउँदो देखिएन, अहिले पनि सीमावर्ती अरू मामिला र मुद्दा थाती रहेकै बेला विवाद निम्त्याउने अर्को अप्रमाणित विषयमा प्रधानमन्त्रीले बोल्नुको अर्थ थिएन । आपसी वार्ता र संवादको वातावरण बनाउनेभन्दा बिगार्ने काम भइरहेको देखिन्छ ।’

दुई: भारतका लागि पूर्वराजदूत लोकराज बराल- ‘अहिलेका प्राथमिकता र मुद्दा पन्छाएर त्रेतायुगकालीन बहसमा छिर्न चाहेका प्रधानमन्त्री ओलीको यो सरोकार अनौठो देखियो । प्रधानमन्त्रीले अयोध्या भूमिबारे बोलेर कूटनीतिक दृष्टिमा अपरिपक्व, अप्रमाणित र देशको अहित गर्ने धारणा राख्नुभएको थियो, यसमा परराष्ट्रले स्पष्टीकरण दिएर स्थिति साम्य गर्न खोजेको देखिन्छ, तर प्रधानमन्त्रीले बोलेको कुराले एउटा प्रभाव पारिसकेपछि यसको कुनै अर्थै देखिन्नँ ।’ 

रामवाणले आफैलाई थलायो ! 

सोमबार प्रधानमन्त्रीले बोलेपछि त्यसको प्रभाव सबैभन्दा बढी उनैमा परेको देखियो ।  प्रधानमन्त्रीको अपेक्षा वा अनुमान थिया होला ‘भगवान् श्रीरामको जन्मभूमि अयोध्या नेपालकै भए पनि भारतले विवादित अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको’ भनिदिएपछि देशमा उनको अर्को जयजयकार हुने छ । तर त्यस्तो भएन मात्र होइन बरु उनलाई उडाउने किसिमका प्रतिकृया आएपछि उनी थलै परेछन् । विभिन्न माध्यममा  समाचार पनि त्यसरीनै आउन थाले । त्यसको एउटा विवरण –

’३० असार, काठमाडौं । प्रधानमन्त्रीलाई थकित देखेपछि प्रचण्ड खुमलटार फिर्ता । आफ्नै बोलीका कारण घेराबन्दीमा परे ओली ।

भगवान रामचन्द्रको जन्मभूमि नेपाल नै हो भनेर सोमबार भानुजयन्तीका दिन दावी गरेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निकै थकित एवं गलेको अवस्थामा देखिए । प्रधानमन्त्रीको थकानकै कारण नेकपाका दूई अध्यक्षवीच हुने भनिएको आन्तरिक छलफल विषयमा प्रवेश गर्न नसकी बुधबारका लागि सर्‍यो ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण भारतमा सोमबारदेखि नै निकै ठूलो तरंग आइसकेको थियो । नेपालले नक्सा जारी गर्दासमेत विज्ञप्ति जारी नगरेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले विज्ञप्ति नै जारी गरेर ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो ।

स्वदेशमा पनि नेकपा उपाध्यक्ष वामदेव गौतमदेखि लिएर विभिन्न नेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरे । जनस्तरमा पनि प्रधानमन्त्रीको आलोचनाका स्वरहरु सुनिए । देश-विदेशमा भएको चर्को विरोधसँगै प्रधानमन्त्री ओली आफ्नै बोलीका कारण घेराबन्दीमा परे ।

प्रधानमन्त्री ओली आफ्नै कारणले चौतर्फी दवाब र घेराबन्दीमा परेकै बेला कार्यकारी अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो पार्टीको आन्तरिक विषयमा छलफल गर्न भन्दै बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई थकित अवस्थामा देखेपछि प्रचण्ड पार्टीको आन्तरिक विषयमा कुरा नगरी खुमलटार फर्किए । ‘तपाई थाक्नुभएको रहेछ, आज आराम गर्नुहोस्, भोलि कुरा गरौंला’ भन्दै प्रचण्ड बालुवाटारबाट निस्किए ।’

समाजै आन्दोलित

भगवान राम नेपाली नै भए राम्रो तर त्यस्तो पुष्टी हुनु अघिनै प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति देशका लागि झनै खतरा बन्ने संकेत प्रकट हुन थालेका छन् । भारतको अयोध्याका सन्त महन्तहरुले त प्रधानमनत्रीलाई यो पदमा बस्नै नहुने भनी एक प्रकारले फर्माननै जारी गरेका छन् । नेपालका प्रधानमन्त्री हटाउन अव उतातिरको यस्तो वर्गपनि लाग्यो भने नेपालमै रहेका सन्तमहन्तहरुले आन्दोलननै थाले ।

यो अभिव्यक्ति आएको तेस्रो दिन (असार ३१) बाट भगवान रामको ससुराली मानिएको जनकपुरधाम यतिबेला साधुसन्तसहित प्रदर्शनी स्थल भएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रधानमन्त्री ओलीका बिरुद्ध विभिन्न नारा लगाउँदै साधुसन्तसहित सर्वसाधारणले प्रदर्शन गरे । भगवान रामको ससुराली जनकपुरधाममा हिन्दू परिषद् नेपालले प्रधानमन्त्रीले बोलेको शब्द फिर्ता लिनुपर्ने भन्दै चर्को विरोध गरेको हो । विरोध प्रदर्शनमा हिन्दू परिषद नेपाल जनकपुर नगर कमिटी आदिले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता थप आन्दोलन चर्काउने घोषणा गरे । यस्तै रामनन्दीय वैष्णव संघले समेत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ती जनायो । संघले विज्ञप्ति जारी गर्दै भगवान रामको जन्मस्थल भारतको उत्तर प्रदेशस्थित अयोध्या सर्यु नदीको किनारामा रहेको र सीताको जन्म मिथिलाको तत्कालीन राजधानी हालको जनकपुरधाममा भएको उल्लेख गरेको छ । जानकी मन्दिर यतिबेला छलफलको अखडा  हुन लागेको छ । मन्दिरका महन्थ रामतपेस्वर दास वैष्णवले जनकपुरधामका नागरिक समाज, साधु समाज, स्थानीय युवा क्लव, पत्रकार लगायतले यस्तो आन्दोलनलाई चर्काउने ठहर गरेको अवस्था प्रकट भयो ।

यसको अर्थ हो हिजोसम्म शान्त रहेको समाज धर्मका नाममा प्रधानमन्त्रीको वाण चलेपछि यो रुपमा छटपटिन थाल्यो । यो स्थिति प्रधानमन्त्री ओलीका बोलीको कारण उव्जिएको भन्ने उल्लेख भैरहनु नपर्ला ।

भारतीय ब्रह्मास्त्र पनि आफैतिर फर्कियो

गत असार १४ गते मदन जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमै आयोजित गैह्र सरकारी कार्यक्रममा नै  ओलीले भारतले आफूलाई सत्ताच्युत गर्न लागेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको बताएपछिको अवस्था कस्तो भयो भने त्यो उनकै लागि एक प्रकारले काल झै भयो । १० गते सुरु भएको स्थायी समिति बैठक १२ गतेसम्म ओलीले पद छाडनु पर्ने कुरासम्म उठेको थिएन । सो दिनसम्म कुनै वाधावेगर नै बेठक चलेर १६ गतेका लागि पर सरेको थियो ।

तर जव उनले आफुलाई हटाउन भारत लागेको र त्यसमा नेपाली नेताले पनि साथ दिएको भन्ने उडन्ते  (उनले दिएको सूचनाको स्रोत नै त्यस्तो) कुरालाई यथार्थ जस्तै देखिने गरी प्रस्तुत गरे त्यसपछि स्थिति कस्तो आयो भने आफैले डाकेको र आफनै निवासमा चलिरहेको पार्टीको उच्च र निर्णायक बैठकमा समेत उनी आफैँ उपस्थित भएर आफनो बोलीलाई स्थापित गर्न र उठेका कुराको सामना गर्न सकेनन् । बरु स्थिति चर्कदै जाँदा आफना मन्त्रीहरुलाई समेत छलेर वा लुकेर मन्त्रिपरिषदको बैठक बस्नुपर्ने अवस्था आयो । ससदको छैठौं अधिवेशन अन्त्य गर्दाको प्रसंग हो यो । उनकै त्यो बोलीको गोलीले प्रधमानमन्त्रीलाई रन्थनाएर त्यसको प्रतिकृयामा संसदलाई बन्द गरेको आरोप लागेको छ  ।

उनले एउटा सार्वभौमसत्तासपन्न देशको प्रधनमन्त्रीलाई कुनै अर्को  देशबाट १०–१५ दिनमै हटाइदैछ भनी दिएको जानकारी कति हावा रहेछ भन्ने एकहप्तामै देखियो । भारतीय मिडियाहरु विना आधार यस्ता विवरण दिन्छन भन्ने त स्थापित नै भयो तर त्यसका आधारमा प्रधानमन्त्रीले बोलेका कुराले सत्तारुढ दलमा त्यसदिनदेखि लागेको आगो झनझन दन्किरहेको छ । उनको त्यो दिनको भनाइको अंश  –

‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता-पन्ध्र दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ भनिँदैछ, भारतका मिडिया सुन्नु भएको होला, भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ।

नेपालले १ सय ४६ वर्ष उपभोग गरेको तर ५८ वर्षदेखि खोसिएको जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको छ यहाँहरुलाई सम्झना होस्, चीनतिर पनि ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढल्याथ्यो, किनभने हामीसँग बहुमत थिएन, अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो । बाहिर–बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ, दिल्लीका सञ्चार माध्यमहरु सुन्नोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ केके भैराख्या छ । यहाँका होटलहरुमा भइराखेका गतिविधिहरु, त्यसले पनि बताइराखेको छ । एम्बेसीको सक्रियता, नेपाली नेतापनि लागेका छन ।

त्यसले पनि बताइराखेको छ । म तपाईहरुलाई यत्ति भन्दिन्छु–नक्सा छापे वापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन । यो नसोचे पनि हुन्छ । कोसिस गर्नेलाई त गर्न दिनू, तर हिजोको जस्तो होइन । कसैले हतारो नगरे पनि हुन्छ । र, कसैले विभिन्न आग्रहहरु नपाले पनि हुन्छ ।

आफूलाई प्रधानमन्त्रीको पदमा बसिरहन मन छैन । तर यतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन किनकि भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि ।’

प्रधानमन्त्रीको यो आफु वा आफनो प्रधानमन्त्रित्व ‘आजका लागि होइन, भोलिका लागि ’ भन्ने नारा यतिखेर सडकमा घन्किरहेको छ सरकारले लगाएको लकडाउनको नै उल्लंघन गर्दै । यसले पनि बताउँछ उनी यो कुरालाइ सत्तासँग साट्न चाहन्थे तर स्थिति उल्टो भयो आफनै बोलिका कारण  ।

फरक प्रसंगका अरु दुई बोली

बोली एक: नेपालमा नयाँ नक्सा पासभको भन्दा भारतमा बढी विरोध भएको विषय ओलीको बोलीनै थियो । खासगरी चिनबाट उत्पन्न भएको कोरोना भाइरसलाई भारतीय उत्पादन भनेको र   भारतकै राष्ट्रिय चिन्हलाई हिंशाको प्रतिक भनी संसदमा नै सम्वोधन गरेपछि नेपालका  प्रधानमन्त्री ओली प्रति भारतीय जनता बढी  आक्रोसित भएका थिए । संसदमा ओलीको यस्तो सम्वोधन आएको दिन वा क्षण पछिका भारतीय माध्यम हेरे हुन्छ ।

गत जेठ ६ गते संसद्को रोस्ट्रम बाटै प्रधानमन्त्री ओलीले भारतीय नीति ‘सत्यमेव जयते हो कि सिंहमेव जयते हो ?’ भनेर प्रश्न गरेका थिए । ‘सत्यमेव जयते’ भनिएको ठाउमा नेपालका प्रधानमन्त्रीले ‘सिंहमेव जयते’ भनी भारत देशको राष्ट्रिय प्रतिक चिन्हको अपमान गरेका भन्ने त्यसबेला हरेक भारतीयको बुझाइ रह्यो । त्यो देशको एउटा नागरिकको रुपमा हेर्दा यो स्वाभाविक पनि थियो ।

कुनै पनि देशको प्रधानमन्त्री एउटा औपचारिक पद नै हो । यो पदबाट संसदमा सम्वोधन भएको विषयले त्यतिकै  मात्र होइन त्यो भन्दा झनै बढी औपचारिक रुप लिन्छ । कुनैपनि यस्ता देशका यस्तापदाधिकरीले कुनैपनि देशका राष्ट्रिय चिन्हमाथि कुनैपनि प्रकारको हसिमजाक स्वीकार्य हुँदैन ।  तर नोपलको ससदमा त्यस्तो भएको भन्ने आरोप लाग्यो । प्रधानमन्त्र िओलीले भारतीय झण्डाका बारे यस्तो प्रतिकृया दिँदा सत्रारुढदलका सांसदहरुले तालि वजाएर स्वागत गरेका थिए ।

 सत्यमेव जयतेलाई सिंहमेव जयते बनाइँदा कुरा आनका तान फरक पर्छ । त्यसले हिंशाको पनि संकेत गर्छ ।

बोली दु: प्रधानमन्त्री ओलीले त्यसैदिन संसदलाई सम्वोधन गर्दा चीनबाट उत्पन्न भएको कोरोना भाइरसको चरित्रलाइ  भारत तर्फ मोडदै भारतले नेपाललाई अन्यत्रको भन्दा कडा खालको भाइरस पठाइ दिएको भन्ने बुझाउन खोजे । उनका अनुसार भारतबाट आएको कोरोना भाइरस अरु देशबाट आएको भन्दा कडा देखियो ।

यो भनाइ पनि एक प्रकारले हसिमजाक जस्तै लाग्छ तर उनले औपचारिक रुपमानै प्रस्तुत गरेका हुन् । त्यसदिन संसदमा  नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालमा जति पनि संक्रमण फैलिएको छ त्यो विदेशबाट आएका व्यक्तिहरुबाट फैलिएको देखिएको र अरु देशको भन्दा भारतबाट कडा खालको कोरोना भाइरस आएको जानकारी गराए ।

भारतीय भाइरसा बारे उनका शव्द- ‘भारतबाट आएको भाइरस कडा खालको छ । दुबई, इटाली, चीनको वुहानबाट आएका भाइरस कमजोर खालका थिए । चिनबाट विद्यार्थी ल्याऔं, तिनलाइ केही भएन, भारतबाट जति आए  ती मध्येका धेरैमा यो भाइरस देखियो ।’

भाइरस कस्तो होला तर प्रधानमन्त्रीको यो भनाइले भारतमा अर्को प्रकारको भाइरस उत्पादन भएर त्यसलाई भर्दै नेपाल पठाइदिँदै गरेको भन्न खोजेको हो कि भन्ने अर्थलाग्ने जस्तो भयो जुन कुरापनि भारतीय नागरिकहरुले प्रतिकृयामा व्यक्त गरेका थिए । यसले नेपाललाई त केही फाइदा भएन नै स्वयम् नेपाली प्रधानमन्त्रीको ओज छिमेकी देशमा झनै हलुका भएको देखियो । पौराणिक कथामा गलत मनसायले चलाइएका हितयार कि निस्फल हुन्छन कि आफैतिर फर्कन्छन भन्ने उदाहरण पनि कायम भयो ।



नयाँ