arrow

युएई, चीन र अमेरिका यसै महिना मंगल ग्रहमा यान पठाउँदै

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ४ आइतबार
uae-mars-mission.jpg

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)ले केहि दिनमा मंगल ग्रहको मौसम र त्यहाँको जलुवायुको अध्ययनका लागि होप नामको स्याटेलाइट (भुउपग्रह)प्रक्षेपण गर्ने भएको छ। १.३ टन तौलको यो स्याटेलाइट जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिनेछ। ५० करोड किलोमिटरको दुरी पार गरेपछि सन् २०२१ को फेब्रुअरीमा होप स्याटेलाइट गन्तव्यमा पुग्नेछ। आउँदो वर्ष युएईको स्थापना भएको ५० वर्षसमेत पूरा हुँदै गर्दा पनि यो योजनालाई युएईले आफ्नो गौरवको बिषय बनाएको छ। तानेगाशिमाको मौसम अनुकुल हुनेबित्तिकै स्याटेलाइट प्रक्षेपणको मिति तय गरिने बताइएको छ।

युएईसँगै अमेरिका र चीनले पनि मंगल ग्रहमा आफ्नो स्याटेलाइट पठाइरहेका छन्। उनीहरुको तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ। पहिलो पटक ३ वटा स्याटेलाइट मंगल ग्रहका लागि सँगै पठाइन लागिएको हो।

किन महत्वपूर्ण छ अरबको यो मिसन ?
युएईसँग यसअघि अन्तरिक्षसम्बन्धी सामान्य अनुभव मात्रै रहिआएको छ। पहिलो पटक उस्ले अमेरिका, रुस, चीन र भारत मात्रै सफल भएको मंगल मिसनको तयारी गरेको हो। यो स्याटेलाइटको निमार्णका लागि अरबका इन्जिनियररहरुले ६ वर्षभन्दा लामो कठोर संघर्ष र मेहनत गरेका छन्। यो स्याटेलाइट मंगल ग्रहमा पुगेपछि यसले त्यहाँको वातावरणको ताजा जानकारीहरु पृथ्वीमा पठाउने बताइएको छ। होप मिशन नाम दिइएको यो योजनाले पूरै युएईलाई ठूलो प्रेरणा दिने ठानिएको छ। होप मिशनले मंगल ग्रहमा के कारणले हावा र पानी सकियो भनेर पत्ता लगाउने समेत बताइएको छ।

युएईको यो मिशनले त्यहाँका बालबालिका एवं युवाहरुलाई विज्ञान एवं शिक्षाका क्षेत्रमा ठूलो परिवर्तन समेत ल्याउन सक्ने ठानिएको छ। यति मात्रै हैन् तेल र ग्यासमा निर्भर अरबको अर्थव्यवस्थालाई अब ज्ञान विज्ञानका क्षेत्रमा विस्तार गर्न समेत युएई सरकारले यो मिशनमा लगानी गरेको हो। होप मिशनका योजना निर्देशक ओमरान शराफले यो योजनाको खतरालाई मध्यनजर गर्दै कोशिसलाई निरन्तरता दिएको बताएका छन्। उनले बीबीसीलाई भनेकाछन्,‘यो मिशन असफल पनि हुनसक्छ, तर मिशनको उद्देश्यले जुन किसिमको ज्ञान र खोज दिनेछ त्यसले अरब जगतमा आउने ज्ञान महत्वपूर्ण हुनेछ ।’

कसरी पुग्यो युएई यहाँसम्म ?
संयुक्त अरब इमिरेट्सले यो योजनाको टोलीलाई स्याटेलाइट अन्य देशबाट किन्न नमिल्ने र आफैले बनाउनु पर्ने निर्देशन दिएको थियो। त्यसपछि अमेरिकी विश्वविद्यालयका र अरबका इन्जिनियरहरुले मिलेर स्पेस क्राफ्टको डिजाइन तयार पारेका थिए। यसै टिमले स्पेस क्राफ्टमा जोडिने ३ उपकरणहरु पनि बनायो। जुन उपकरणहरुले त्यहाँको वातावरणीय अवस्थाको अध्ययन गर्नेछ। युनिभर्सीटी कलेज अफ कोलोराडोको ल्याबोरेट्री अफ एटमस्फियरिक एण्ड स्पेस फिजिक्समा यो स्याटेलाइटको बाहिरी ढाँचाको डिजाइन भएको थियो । यसबाहेकका महत्वपूर्ण काम दुबईको मोहम्मद बिन राशिद स्पेस सेन्टरमा तयार पारिएको थियो। कोलोराडोको युनिभर्सीटीले अर्को मिसनको तयारी युएई आफैले गर्न सक्ने भएको बताएको छ।

के के गर्नेछ मंगलमा होपले ?
युएईले नासामा गएर आफुले त्यस्तो कुन विषयमा नयाँ अध्ययन गर्न सक्छु भन्दै सल्लाह लिएको थियो । मंगल मिशनका लागि नासामा एक सल्लाहकार समिति ‘मार्स एक्सपोलोरेसन प्रोग्राम एनलाइसिस ग्रुप’ रहेको छ । त्यसै ग्रुपको सल्लाहमा होप मिशनले मंगल ग्रहमा गएर त्यहाँको वर्षभरीको मौसमको अध्ययन गर्नेछ। त्यस्तै तापक्रमको दैनिक अवस्था अर्थात दिनमा कति तापक्रम हुन्छ भन्नेकुराको पनि अध्ययन गर्नेछ । यसबाहेक मंगल ग्रहमा रहेको धुलोको पनि अध्ययन गर्नेछ। त्यस्तै मंगलको वातावरणमा रहेको हाइड्रोजन र अक्सिजनको पनि यो स्याटेलाइटले अध्ययन गर्नेछ।

मंगल ग्रह रातो देखिनुको कारण त्यसको सतहमा रहेको आइरन अक्साइडको समेत अध्ययन हुनेछ । सूर्यबाट आउने किरणका कारण अक्सिजन र हाइड्रोजनको सक्रियतामा आइरनअक्साइड त्यहाँ उत्पन्न हुने आशंका गरिएको छ। होप मिशनले त्यो कुराको पनि अध्ययन गर्नेछ । मंगल ग्रहमा युगौं पहिले पानी खोला,नाला एवं समुद्रसमेत रहेको मानिन्छ । अहिले उक्त पानी के कारणले नष्ट भयो भन्ने कुराको अध्ययन पनि होप मिशनले गर्नेछ । होप स्याटेलाइट मंगल ग्रहको सतहबाट २२ देखि ४४ हजार किलोमिटर टाढा भुमध्यिरुपमा रहने छ।

श्रेय सारा अल अमिरीलाई
यो मिशनको श्रेय धेरै कुराबाट युएईकी राज्य एडभान्स साइन्स मामिलाकी मन्त्री सारा अल अमिरी माथि छ । उनी यो टिमको लिडर समेत हुन् । अर्को राम्रो कुरा के छ भने यो मिशनमा काम गर्नेमध्ये आधा पुरुष छन् भने आधा महिला पनि रहेका छन् ।

एकै पटक तीन देश मंगल ग्रहमा
अमेरिका, चीन र युएई तीनवटै देशले एकैपटक मंगल ग्रहमा यान पठाउन लागेका हुन्। मंगल ग्रह प्रत्येक २६ महिनामा पृथ्वीको नजिक आउँछ । यहि समयमा पठाउन सके यान पठाउन लाग्ने इन्धन र समय कम खर्च हुन्छ । यही मौका छोपेर तीनवटै देशले सँगै यान पठाउन लागेका हुन् । जुलाई महिनामै चीनले तियानवेन १ अर्थात स्वर्गलाई प्रश्न नामको यान मंगलमा ग्रहमा पठाइ रहेको छ । त्यस्तै अमेरिकाले पर्सभेरेन्स अर्थात दृढता नामको यान मंगल ग्रहमा पठाउन लागेको हो । चीनले जुलाई २३ मा र अमेरिकाले जुलाई ३० मा प्रक्षेपण गर्ने बताइएको छ । युएईले २० करोड डलरको खर्चमा होप अर्थात आसा यान पठाउन लागेको हो । त्यस्तै अमेरिकाले ३ अर्ब डलर खर्च गरेको बताएको छ।

मंगल ग्रहमा धेरै पहिले नदी, नाला, समुन्द्र थिए तर पछि कसरी सकियो भन्ने कुराको अध्ययन गर्ने तीनवटैको योजना छ । नासाका दुई ल्याण्डर अझैं मंगल ग्रहमा छन् भने ६ वटा यानले परिक्रमा गरिरहेका छन्  । तीमध्ये ३ अमेरिकी २ युरोपेली र एक भारतीय हो। अब चीन र अरब पनि मंगल मिशनमा सक्रिय हुनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ