arrow

हजुरबाका पालाका गाडी नाति चढ्दै

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
काठमाडौँ, १ जेठ । राजधानीको बबरमहलस्थित नेपाल कला परिषद् भवन परिसरमा पुराना गाडीको प्रदर्शनी आजदेखि सुरु भएको छ । राजा, राणा र व्यापारिक घरानियाले प्रयोग गर्दै आएका झन्डै एक शताब्दी पुराना गाडी प्रदर्शनीमा राखिएका छन् । नासा, अटो नेपाल, सोलिड्यारिटी फन्ड लगायत संस्थाको सहयोगमा सञ्चालित प्रदर्शनीमा विभिन्न कम्पनीका २० भन्दा बढी गाडीको अवलोकन गर्न सकिने आयोजक संस्थाका प्रतिनिधि गोविन्द भट्टराईले जानकारी दिए । 
 
सन् १९५६ मा त्रिभुवन राजपथ निर्माण हुनु अगावै भरियाले बोकेर राजधानीमा गाडी भित्र्याएपछि यहाँ सर्वसाधारणले गाडीको उपयोग गरेको देखिन्छ । सार्वजनिक यातायातका संस्थापकद्वय करुणरत्न तुलाधर र लुपौरत्न तुलाधर हुन् । तत्कालीन सरकारले संस्थापकद्वयका नाममा हुलाक टिकटसमेत निष्काशन गरेको थियो । 
 
विद्यालयतर्फ पहिलो पटक सन् १९७० मा आनन्दकुटी विद्यापीठ स्कुलले काठमाडौँमा विद्यार्थी ल्याउन लैजान ७४ नं को डोडर्जी लरी गाडी प्रयोगमा ल्याएको थियो । नेपालमा अझै पनि पुराना गाडीको प्रयोगकर्ता छन् । 
 
सन् १९६८ मा हजुरबाले चढेको मर्सिडिज बेन्च कार अहिलेसम्म चढेको नाति वीरेन्द्र प्रधान बताए । पुराना गाडीको पार्टस् मुस्किलले फेला पर्छन् । कार हतपती नबिग्रने र मर्मत तथा सम्भारका लागि अटोमेकानिक्स खोजी रहनुनपर्ने उनको भनाइ छ । सौखिन र दाम भएकाको लागि पुराना गाडीको लोकप्रियता अझै हराएको छैन । प्रदर्शनी सोमबारसम्म चल्ने छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ