arrow

कांग्रेसलाई लोकप्रिय बनाउन 'बेसुरे गफ' होइन 'कर्म शील' बनाऔं

logo
महेश भट्ट,
प्रकाशित २०७७ साउन ४ आइतबार
mahesh2.jpg

जननायक वि.पी.कोइरालाको सक्रियतामा वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको गठन भई वि.सं. २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच सम्पन्न एकीकरण पश्चात् नेपाली कांग्रेसको नामबाट संगठित  पार्टीले जहानीयाँ राणा शासनको अन्त्य गरी वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना गरेको थियो । यहि गौरबपूर्ण इतिहासको जगमा राष्ट्रियता, लोकतन्त्र समाजबादको आदर्श एवं सिद्धान्त अनुरुप बहुलबादमा आधारित बहुदलीय प्रतिष्पर्धात्मक  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट  प्रत्येक नागरिकका राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक एवं धार्मिक अधिकार र वैयक्तिक स्वतन्त्रताको प्रत्याभुति गर्दै नागरिकको सुरक्षा, संरक्षण र समान अवसर उपलब्ध गराउन विश्व शान्ति एवं भा्रतृत्व कायम गर्न नेपालको राजनीतिक इतिहासमा पटक–पटक सबैभन्दा ठूलो त्याग, तपस्या, बलिदानी गरेर लोकतन्त्र स्थापना भएको नेपाली इतिहासमा कैद भएको छ र जनजनमा जाहेर छ ।  लोकतन्त्र स्थापनाका लागि अग्रज नेताहरुले विगतमा देखाएको संघर्ष, इमान्दारिता, अनुशासन तथा सङ्गठन परिचालनमा   महत्वपूर्ण तथा अतुलनीय भूमिका रहेको छ । आफु हारेर पनि देशलाई जिताएका अग्रज पुस्ताले गरेको त्याग, तपस्या, संघर्ष र समर्पण नेपाली समाजमा सधैं स्मरणीय छ । 

जसरी पार्टीको इतिहास संघर्षशील, गौरवमय र इमान्दारितापूर्ण ढंगबाट स्थापित भएकोछ त्यसैगरी वर्तमान र  भविश्यको पुस्ताका लागि भरोसायोग्य बनाउनुपर्ने चुनौती आजको कांग्रेस नेतृत्वको काँधमा रहेकोछ । भविष्यको पिँढीलाई एउटा सक्षम, पार्टी हस्तान्तरण गर्दै पार्टीको निर्दिष्ट लक्ष्य लोकतान्त्रिक समाजवाद स्थापना र त्यसको संस्थागत सुधारका लागि  कांग्रेसले केही अग्रगामी पहलकदमी लिनुपर्ने आवश्यकता छ । यसका लागि सबैभन्दा पहिला पार्टी विधि, पद्दति र संस्कारयुक्त हुन जरुरी छ । आम नेता–कार्यकर्तालाई पार्टीको विधि विधानअनुसार चल्ने वातावरणको सिर्जना गर्नुपर्छ । पार्टीको आदर्श, सिद्धान्त र विचारबाट नै कार्यकर्ताको पंक्ति खडा गर्नुपर्दछ । सङ्गठनको व्यापक सुदृढीकरण र कार्यकर्ताको देशव्यापी परिचालन आजको पार्टीको मुख्य जिम्मेवारी देखिन्छ ।  तसर्थ वर्तमानको पुस्ता र भविष्यको पुस्तासम्मका लागि भरौसायोग्य, स्मरणयोग्य र जनताका माझा लोकप्रिय बनाउनका लागि निम्न केही बुँदामाथि दृष्टिकोण साझा गर्ने प्रयास गरेको छु । 

पार्टीलाई विधि, विधान र पद्दतिमा चलाउन जरुरी :
हरेक संस्था, संगठनलाई अनुशासीत, मर्यादित, प्रगतिशिल बनाउन त्यस संस्थाको विधि, विधानले बाधेको हुन्छ र संस्था,  संगठन, पार्टीको प्रगति,  पार्टीलाई  चिरायु, दिर्घायु बनाउन विधि र विधानको प्रयोगमा नै भरपर्छ । हरेक पार्टी संगठनलाई केन्द्रदेखि स्थानीय तहसम्म पार्टीको विधि, विधान र पद्दतीले बाधेको हुन्छ । पार्टीको विधान, नियमावली, विधि  बनाइयो  तर त्यो बनाइएको विधि, विधान, नियमावलीको कौशलापूर्वक प्रयोग भएन भने पार्टीको हरेक गतिविधि अनुशासन विहिनि हुन्छन् । लाखौं लाख कार्यकर्ताहरूलाई सिस्टममा बाँध्नका लागि पार्टीको पद्धती चाहिन्छ ।  नेता–कार्यकर्ताले पार्टीको विधान, नियम, कानुन मानेन भने पार्टी छाडा हुन्छ र व्यवस्थापकीय पक्ष फितलो बन्दै जाने डर हुन्छ । तसर्थ, केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई राम्रो बनाउनका लागि कांग्रेस पार्टीलाई विधि, विधान र पद्दतिमा चल्न र चलाउन सवैको उत्तिकै भुमिका हुन्छ । एउटा व्यक्तिलाई  प्रधान सम्झेर पार्टीलाई दाउ लगाउने काम कहीकतैबाट हुनु हँुदैन । पार्टीलाई चिरायु, दिर्घायु बनाउन निहित स्वार्थलाई छोडेर नेतृत्व पंत्तिले विधि, विधान र पद्दतीको उच्चत्म प्रयोग गर्नुपर्दछ । 

पार्टीको निरन्तर बैठक: 
पार्टीका बैठकहरू विधानमा लेखिए बमोजिम निरन्तर बस्नुपर्छ । पार्टीका बैठक बस्नु भनेको समग्रमा दैनिक राजनीतिक घटनाक्रमहरूलाई विश्लेषण गरेर पार्टीका नीति कार्यक्रमहरू बनाउन सजिलो हुन्छ । त्यतिमात्र होइन, पार्टीको सम्पूर्ण नेता–कार्यकर्ताहरूको कुनै पनि निर्णयहरूमा अपनत्व हुन्छ । जसरी शरीरका सम्पूर्ण अङ्गहरू स्वचालित हुन्छन् । त्यसैगरी पार्टीका बैठकहरू बसे भने पार्टी पनि गाउँ तहसम्म सञ्चालन भइरहेको हुन्छ ।

भातृ संस्था अधिवेशन तथा सम्मेलनका आयोजना :
पार्टीका मेरुदण्ड भनेका पार्टीका भातृ सङ्गठनहरू नै हुन् । आज भातृ संस्थाहरुको केन्द्र देखि गाउँस्तरसम्म राम्रो अवस्था छैन  । भातृसंस्थाहरुको संगठनात्मक स्वरुप पूर्ण नहुँदा सम्म माउपार्टी कांग्रेसका धारणाहरु गाँउगाँउसम्म पु¥याउन कठिन हुन्छ र पार्टीका गतिविधि, पार्टी नेतृत्वले गर्ने कर्मका बारेमा साक्षात्कार अपूर्ण हुन्छ र जनता मतदातासम्म पार्टीको गहिरो प्रभाव हुन सक्दैन । तसर्थ भातृसंस्थाहरुको समयमै अधिवेशन र कार्यविभाजन चुस्तदुरुस्त गर्न तर्फ सचेतता अपनाउन जरुरी हुन्छ ।  नत्र भने खुट्टा नभएको अपाङ्ग मानिस जस्तै पार्टी पनि अपाङ्ग सरह नै हुन्छ । पार्टीका गतिविधिहरु र पार्टीको कार्यदिशा, राजनीतिक नीति तथा कार्यक्रमको प्रस्टता र प्रचार न्यून हुँदै जाने डर छ । आम जनमानस सम्म पार्टीको गहिरो सम्बन्ध स्थापना गर्न भातृ संस्थाहरुलाई परिचालन गर्न अहिलेको आवस्यकता हो र पार्टीको दिर्घ जीवन पनि यसैमा सुनिश्चत छ ।

पार्टी संङ्गठनमा अनुशासन :
 पार्टी सङ्गठनलाई चलायमान बनाउन, विधि पद्दतिमा चलाउन पनि अनुशासन चाहिन्छ ।   अनुशासन समितिलाई  सम्पूर्ण अधिकारसहितको शक्तिशाली समिति  बनाउन पनि जरुरी छ । पार्टीका नेता कार्यकर्तामा अनुशासन भएन भने पार्टी राम्रोसँग चल्न सक्दैन । एउटा कम्पनी चलाउन त निकै अनुशासनको आवश्यकता पर्दछ भने पार्टीले त सिङ्गो देश चलाउछ । त्यसकारण पार्टीभित्र अनुशासनको पालना गर्ने संस्कार बसाल्नु जरुरी छ ।  पार्टीलाई बलियो जनप्रिय बनाउन पार्टीभित्र दण्ड र पुरुस्कारको कार्यान्वयन अनिवार्य हुनुपर्दछ ।  जसले महत्वपूर्ण समयमा पार्टीलाई क्षति गर्ने गलत कर्म गर्दछन, पार्टीलाई अन्तरघात गर्दछन्, ३६४ दिन कांग्रेस बन्ने र अन्तिम निर्णायक दिन कांग्रेसलाई घात गर्ने जो कोहीलाई पनि पार्टीको आन्तरिक कार्वाही कार्यान्वयन गर्न जरुरी   देखिन्छ । त्यसै गरी पार्टीमा निरन्तररुपमा क्रियासिल रही पार्टीको प्रगतिको लागि हरदम प्रयासरत महत्वपूर्ण व्यक्तित्व जसले सामाजिक रुपान्तरणमा अहम भुमिका खेलेको हुन्छ ती महान् व्यक्तिहरुलाई पुरुस्कारको व्यवस्था गर्दै पार्टीलाई गतिशिल, मर्यादित अनुशासित बनाउन अहिलेको मुख्य आवस्यकता हो । दण्डले सुधारको बाटो अवलम्बन गर्छ भने पु्रुस्कारले थप हौसल्ला प्रदान गर्ने गर्दछ यसको कार्यान्वयन अहिलेको अपरिहार्यता  हो ।

एक ब्यक्ति एक पद र एक जिम्मेवारी :
हजारौं नेता–कार्यकर्ता भएको पार्टीमा सबैलाई जिम्मेवारी दिनुपर्ने आजको आवश्यकता हो । हाल कसैलाई भ्याई नभ्याई तिन, चार पद एकै जनालाई, कसैलाई कुनै पनि जिम्मेवारी नदिई लामो समयसम्म गरेको त्यागको अपमान गरी पार्टीमा जिम्मेवारीविहीन बनाएको अवस्था छ । यी कारणले पनि पार्टीभित्र समस्या आएको हो । कुनै व्यक्ति स्थानीय तहको सरकारमा  जिम्मेवारीमा पनि छन्, पार्टीको मुख्य जिम्मेवारीमा पनि उनै छन् । तसर्थ न पार्टीका काममा ध्यान दिन सक्छन्, न सरकारको काममा ध्यान दिन सक्छन । त्यसैले सरकार पनि राम्रो चलाउन सक्दैन । पार्टी पनि राम्रो चलाउन सक्दैनन् । धेरै पद ओगटेर पार्टीका नेताहरूले कार्यकर्ताका बीचमा गएर हामीले पदका लागि, स्वार्थका लागि, राजनीति गरेका हैनौं भनेर प्रशिक्षण दिने, तर आफ्नो वास्तविक जीवनमा प्रयोग गर्न नसक्ने देखिएको छ । त्यसैले नेताहरुले एक व्यक्ति एक पद एक जिम्मेवारी मात्र लिँदा के हुन्छ र ?

पार्टी कार्यकर्ता पंक्तिमा प्रशिक्षण 
 पार्टीका कार्यकर्ताहरू जुझारु हुन्छन्, अध्ययनशील हुन्छन्, बैचारिक क्षमतामा विश्वास गर्दछन् र फलामे अनुशासनमा रहन्छन् भन्ने आम जनसमुदायमा विश्वास थियो । तर, हाल आएर यी सबै विषयवस्तुमाथि प्रश्नचिन्ह खडा भएको छ । आम कार्यकर्तालाई पार्टीका सिद्धान्त, विचार, आदर्शमा  प्रशिक्षण गर्न जरुरी छ ।   

नयाँ राजनीतिक कार्यक्रमको घोषणा :
पार्टी ठूलो छ, कार्यकर्ताहरू पार्टीर्को कुनै नीति तथा कार्यक्रम सञ्चालनमा नहुँदा पार्टीर्कै विभिन्न समूहका नेता र उनीहरूका भनाइको उछितो काढेर दिन कटाइरहेका छन् यतिबेला मुलुकमा कम्युनिष्ट पार्टीको बोलबोलावा छ, भ्रष्टाचारको श्रृङखला बढेकोबढेइ छ ।  यत्रो ठूलो पार्टीका सम्पूर्ण नेता र कार्यकर्ता बेरोजगार जस्ता देखिएका छन् ।  कार्यकर्ताहरू पार्टीका कुनै नीति तथा कार्यक्रम सञ्चालनमा नहुँदा पार्टीकै विभिन्न समूहका नेता र उनीहरूका भनाइको उछितो काढेर दिन कटाइरहेका छन् । जनताको बीचमा पार्टी कार्यक्रम विहीन जस्तो देखिएको छ । जनता र आम कार्यकर्तासामु विशाल जनमत भए पनि हामीले गर्नुपर्ने कर्तव्यबाट विमुख हुँदा   कांग्रेसलाई माया गर्ने मतदाताहरुमा नैराश्यता आएको देखिन्छ । तसर्थ, आम कार्यकर्तालाई परिचालन गर्न, सक्रिय बनाइराख्न जनता र पार्टीबीच सम्बन्ध  बलियो रुपमा स्थापित गर्न जनताको बीचमा ठोस कार्यक्रमका साथ उपस्थित भइरहन आवश्यक छ । 

कोरोना महामारीका बीचमा समेत विज्ञान तथा प्रविधिलाई आत्मसात गर्दै विभिन्न राजनीतिक कन्फ्रेन्स, जनचेतना जगाउने किसिमका प्रशिक्षणमुलक कार्यक्रम भए अझैं यसलाई जारी    राख्नुपर्छ । सबैभन्दा ठूलो विषय कोरोना महामारी विरुद्धका भिडियो कन्फ्रेन्स, सामग्री प्रसारण, वरिष्ठ नेताहरूका राजनीतिक तथा वैचारिक वक्तव्य, भिडियो भाषण लगायत काम निरन्तर जारी राख्नुपर्छ । साथै भूमिहिनका मुद्धाहरु, विभेदका मुद्धाहरु,सुकुम्बासीका मुद्धाहरु, सहकारीताका एजेण्डाहरु, कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग सम्बन्धी एजेण्डाहरु, डोजर आतंकले निम्त्याएको भूक्षय जोखिमबाट बच्न हरितगृह सडकका एजेण्डा, बातारणीय प्रभाव, जल, जंगल र जमिनको बहुउपयोग रणनीतिका बारेमा नयाँ–नयाँ कार्यक्रमहरु सहित गाँउगाँउमा प्राविधिक शिक्षालयहरु, एकघर एक रोजगार जस्ता कार्यक्रम सहित अब नेपाली कांग्रेस समय सापेक्ष, समयको रापलाई मध्यनजर गर्दै आफ्ना सिद्धान्त र आर्दशको जगमा लोकतान्त्रिक समाजबादको बाटोबाट समृद्धको कार्यक्रम घोषणा गर्दैै मन, बचन र कर्मले अगामी गन्तब्य तय गर्नुपर्दछ । तव जनतामा आशा र भरौसा जाग्ने छ र कांग्रेस लोकप्रिय बन्दै जानेछ ।

जनताको बीचमा सरकारको गतिविधि प्रस्तुत : 
सरकारले गरेका अन्याय, अत्याचार, विभेद, भ्रस्टाचारका श्रृङ्खलाहरुलाई गाउँ तहसम्म  विभिन्न माध्यम सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन, टिवटरका मार्फत कम्युनिष्ट सरकारले गरेका गलत कर्मको पर्दाफास गर्न पार्टीका सवै तहका कार्यकर्ताहरुले ब्यापक ढंगबाट लाग्नुपर्छ । सदनमा लगाम लाउनु पर्छ र सडकमा गलत कार्यका विरुद्ध विरोध गर्नुपर्दछ । सही काममा सारथीको भूमिकामा रहेर जनतासंग रहिरहनुपर्छ ।
  
पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिको भूमिका : 
नेपाली कांग्रेस पार्टीका तर्फबाट टिकट प्राप्त गरी निर्वाचित भएका स्थानीय तह, प्रदेश र संघका सवै जनप्रतिनिधिहरुले गरेका व्यवहार र कर्मले अगामी निर्वाचनमा जय र पराजयको  महत्वपूर्ण हिस्सा ओगटेको छ । नेपाली कांग्रेस पार्टी यो परिस्थितिमा प्रदेश सरकार र संघीय सरकारमा प्रतिपक्षको भूमिकामा छ र केही स्थानीय तहमा सरकार चलाईरहेको छ । जनताको सवैभन्दा नजिकको सरकार स्थानीय तहको सरकार नै हो । जनताले सवैभन्दा नजिकबाट चिन्ने र स्थानीय सरकारले गरेको कामको मूल्यांकन पनि नजिकबाटै नियाल्न सक्ने भएकाले नेपाली कांग्रेस पार्टीबाट जितेका जनप्रतिनिधिहरुले नेपाली कांग्रेसको अगामी भविष्य कस्तो बनाउने, कांग्रेसप्रति जनताको भावना कस्तो बनाउने यी तमाम कुराहरु सरकारले गरेका कर्मबाट जनतामा गहिरो छाप पर्ने हुन्छ । जनता नै अन्तिम मूल्यांकनकर्ता हुन, जय र पराजय गराउने हिशाव जनतासंग नै सुरक्षित हुन्छ । 

त्यसैले यहाँ मुख्य रुपमा उठान गर्न खोजिएको विषय बस्तु के हो भने कांग्रेसबाट निर्वाचित वडा सदस्य देखि संघीय सासंदसम्म निस्र्वाथ रुपमा जनताका पक्षमा काम गर्नुपर्छ, सुखदु:ख जनतालाई सम्बोधन गर्नुपर्छ असल ज्यामी मौरी झैं जनताका पक्षमा काम गर्न सकियो भने अगामी निर्वाचनमा नेपाली कांग्रेस पार्टीको पक्षमा जनता उर्लेर आउनेछ । नेपाली कांग्रेस पार्टीले जनप्रतिनिधिहरुलाई नियमित सम्पर्क र समन्वय र प्रशिक्षण गराई जनप्रतिनिधिलाई सुशासन र जनताप्रति उत्तरदायि, जवाफदेही बनाउन हरदम प्रयास गर्नुपर्ने देखिन्छ । जनप्रतिनिधिमा भएको अहंकार र दम्भले पार्टीलाई क्षती पुगिरहेको छ ।  निषेध, विभेद र आसेपासे चाकरी चाप्लुसेको संगतले सुसानका प्रस्थान विन्दु निश्पक्षता र योग्यता माथि नै प्रहार भएको देखिन्छ । यी र यस्ता गतिविधिले पार्टीको आगामी भविष्यमा क्षति हुने भएकाले जनप्रतिनिधिहरुलाई जनताका माझ कांग्रेसलाई लोकप्रिय विशेष गरीकन स्थानीय तहका जनप्रतिनिधिहरुलाई समय–समयमा खवरदारी गरेर आगामी कांग्रेस र जनताको सुनौले भविष्यका लागि एकपटक पार्टी नेतृत्वलाई सोचनीय विषय बनेको छ ।  

हामी बाचेको यो समय इतिहासकै अत्यधिक दु:खको समय हो ।  भुकम्पको पीडा नभुल्दै देशमा विभिन्न किसिमका विपत्तिहरु आइपरेको छ । हाल कोरोनाको दु:ख छ, बाढिपहिरोको दु:ख जहिले नि झेलिरहनुपरेको छ । त्यसैमा अन्नविनाशक सलहले पनि कृषकहरुलाई पिरोलेको छ । त्यसैमाथि सरकारको सिंहासनमा खडक प्रसाद ओलि गजधम्म विराजमान छन् । प्राकृतिक विपित्ति त छदै थियो झन ओलिको टर्पर्टुईयाले देशमा भ्रष्टाचारले सिमा नाघ्यो, न्याय निशाफ मरेर गयो । सुसानका प्रस्थान विन्दु माथि नै आक्रमण भयो । यो ऐतिहासिक दु:खको समयमापनि नेपाली कांग्रेस पार्टी जसरी सामाजिक सेवामा खटिनु पर्दथ्यो त्यो प्रर्याप्त हुन सकेको छैन  ।

 यतिबेला कांग्रेसले ओलि सिहासनको अंहकारलाई जनता सामु प्रस्तुत गर्दै आफ्ना राजनीतिक कार्यक्रमहरु, संगठन विस्तार, सामाजिक सेवा लगायतमा कर्म शील हुनुपर्छ । अझैं पनि बेसुरे गफ गररे व्यक्तिगत गुटधारीहरु अर्काको उछितो काढेर समय बर्बाद गरिरहेका छन् । यसरी कांग्रेस लोकप्रिय बन्न सक्दैन । बेसुरे गफ छोडेर जनताको सुख दुखमा साथ दिदै कर्म शील कांग्रेस बनाउन जननायक विशेश्वर प्रसाद कोइरालाको  स्मृति सप्ताहले सबै कांग्रेसजनमा प्रेरणा जगाओस् ।  कांग्रेसलाई लोकप्रिय बनाउन  'बेसुरे गफ' होइन 'कर्म शील' बनाऔं यहि समयको माग हो । 

(लेखक भट्ट नेपाली कांग्रेसका युवा नेता हुन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ